
पोखरा। यो राम ढुंगानाको गाउँको बाटो हो। सन् २०१० देखि ट्रेकिङ गाइड भएर काम थालेका ढुंगाना देशका चल्तीका सबै पदमार्ग पुगिसकेका छन्। कतै पर्यटक लिएर, कतै पदमार्गको सम्भाव्यता खोजीमा।
त्यसैले उनलाई थाहा थियो- 'पर्यटक शान्त रुट खोजिरहेका छन्। आफनै गाउँकै बाटो प्रवर्द्धन गर्न सके हुन्थ्यो।’गाउँकै अर्का ट्रेकिङ गाइड साथीसँग सल्लाह गरे।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलले यो रुट प्रवर्द्धनमा अग्रता देखायो। २०७३ मा टानको वार्षिक कार्यक्रमअन्तर्गत अन्नपूर्ण आरोहण दिवस कहाँ मनाउने भन्ने अलमल थियो। अलमललाई रामले अवसर बनाए। उनको आग्रहलाई टानले स्विकार्यो। ८० जनाभन्दा बढीको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमले रामको गाउँलाई वैकल्पिक पदमार्गको रूपमा स्थापित गर्न तयार भयो।
कार्यक्रम सम्पन्न भएको तीन महिनापछि टानका तत्कालीन अध्यक्ष विश्व अधिकारी पुनः थमडाँडा पुगे। 'टानको अग्रसरतामा यो रुट बनेको हो। ठाँउ राम्रो रहेछ भन्दै वैकल्पिक पदमार्गको रुपमा स्थापित गर्न लाग्नु भयो,' उनले भने, 'जीपीएसमा नभएको लोकेसनका लागि सर्वे गरेर टानले नक्सा पनि प्रकाशन गर्यो।'
कास्कीको पुनहिल ट्रेक पदमार्गहरुमध्येको एक उत्कृष्ट गन्तव्य हो। घान्द्रुक हुँदै पुनहिलको यात्रा आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा पर्ने गर्छ। विरेठाँटीबाट सुरु हुने पुनहिल यात्राका लागि तीन बाटो छन्। एक, चर्चित गुरुङ गाउँ घान्द्रुक हुँदै पुनहिल । अर्को उल्लेरी र हिलेको बाटो। पर्यटकले राउन्ड ट्रिप गर्छन्। रामको गाउँ पुग्न भने विरेठाँटीबाट दायाँबायाँ नलागी सिधै माथि उक्लिनुपर्छ।
विकासको नाममा पछिल्लो समय पदमार्गमा मोटरबाटो पुगेका छन्। रुट छोटिँदै छ। विरेठाँटीको दायाँबायाँका दुवै गाउँमा मोटरबाटो पुगे। तर रामको गाउँमा भने हालसम्म सडक सञ्जाल जोडिएको छैन। ग्रामीण सडक निश्चित स्थानसम्म पुगेको छ। उनले यसैको फाइदा उठाए।
फिरन्ते उनलाई पक्का थियो पर्यटकलाई यस्तै पदमार्ग चाहिएको छ। शान्त भएकाले आफ्नै गाउँको बाटो पर्यटकको रोजाइमा पर्छ भन्ने उनले थाहा थियो। 'महावीर पुनले प्रवर्द्धन गरेको मासखर्क, नागी गएको थिएँ। दृश्य राम्रो छ,' रामले भने,'हाम्रो गाउँको दृश्य राम्रो पनि छ। सोचेँ घोरेपानी, घान्द्रुकसम्म बाटो पुगिसक्यो यता पर्यटकले खोजेको शान्त पदमार्गका लागि गन्तव्य बन्न सक्छ लाग्यो।'
पछि टानको अग्रसरतामा दाङसिङ–मोहरिया ट्रेकिङ रुटमा घरबास सञ्चालनमा आए। गाउँभएका स्थान तमु, मोहरिया, दाङसिङमा पर्यटकका लागि घरबास सञ्चालन भए। रामले आफ्नो गाउँ तमुमा अन्नपूर्ण रेन्ज होटल बनाए। बस्तीबाट टाढा थमडाँडा भने रित्तो थियो। पदमार्गको बीचमा चिया पसल नभए घरबास नै सञ्चालन गर्नुपर्नेमा राम थिए। थमडाँडाबाट देखिन दृश्यमा पर्यटक रमाउँछन् भनेर उनले घरबास सञ्चालनमा ल्याए। आफूसँगै पाँच जनाको लगानीमा थमडाँडामा सामुदायिक घरबास सञ्चालनमा आयो।
थमडाँडामा सामुदायिक घरबासको अध्यक्षमा राम आफैं बसे। आफूसँगै ट्रेकिङ गाइड रहेका अतीत गुरुङ पनि मिसिए। दुवैलाई साथ दिन दिनेश गुरुङ, मिमबहादुर गुरुङ र वकिल गुरुङ अघि सरे।
'पाँच जनाको सहकार्यमा अघि बढ्यौं, हामीमध्ये कोही ट्रेकिङ गाइड, लामो समयसम्म रिसोर्टमा कुक र बार टेन्डर गरेको साथीहरु हुनुहुन्छ,' उनले भने, 'पर्यटकको क्षेत्रमा १२/१५ वर्ष काम गरेको भएर पनि अनुभव राम्रो भयो काम गर्न।'
कार्यक्रमकै लागि ०७४ सालमा प्रदेशका तत्कालीन मन्त्री विकास लम्साल पुगेका थिए। त्यहाँबाट पदमार्गको प्रवर् नमा टेवा पुग्यो। तत्कालीन पर्यटनमन्त्री लम्सालले बजेट दिने आश्वासन दिए। गण्डकी प्रदेश सरकारले घरबास प्रवर्द्धन गर्न बजेट छुट्याएको थियो। त्यही कार्यक्रमबाट आएको बजेटले थमडाँडामा सामुदायिक स्तरमा डाइनिङ र भान्सा बनाए। टान पश्चिमाञ्चल, अन्नपूर्ण गाउँपालिका र एक्यापको सात लाख आर्थिक सहयोगमा पदमार्ग बनाइएको थियो।
दुई वर्षसम्म टेन्टमा रहने व्यवस्था मिलाइरहेका उनले अघिल्लो वर्ष पनि अनुदान पाए। अहिले तीनवटा कोठा छ। घरबासको कृषि फर्म छ। त्यहाँ पुग्ने पाहुनाले अर्गानिक खाना पाउँछन्।
थमडाँडाबाट माथि यात्रुले आफ्नो इच्छाले बाटो उक्लिन मिल्छ। घान्द्रुक, टाढापानी, नागे ठाँटी हुँदै घोरेपानीको यात्रा पर्यटकले आफ्नो इच्छाले तय गर्छन्। रामका अनुसार थमडाँडाबाट घान्द्रुक पुग्न ४ घण्टा, टाढापानी र नागे ठाँटी पुग्न ५ देखि ६ घण्टा लाग्छ।
रामले सोच्नु अगावै गाउँलेलाई दाङसिङ-मोहरियालाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्नुपर्छ भन्ने नलागेको होइन। तर कसैले अग्रसरता देखाएका थिएनन्। अहिले रामको अग्रसरतामा सारा गाउँले खुशी छन्। गाउँबाहिर रहेका दाजुभाइ घर आउँदा थमडाँडा पुगेकै हुने उनले सुनाए।
सो रुटको तमु, दाङसिङ र मोहरियामा गरी ८ वटा घरवास (होमस्टे) छ। थमडाँडामा एउटा मात्र छ। पर्यटकको चाप बढेसँगै घरवासको संख्या बढ्ने उनको विश्वास छ।
अहिलेसम्म ६ सय नेपाली र डेढ सय जना विदेशी त्यो पदमार्गमा पुगेको राम बताउँछन्। उनी आफ्नो सम्पर्कमा आएका पर्यटकलाई पनि त्यही रुट लैजान्छन्। अरु गाइड साथीभाइलाई पनि त्यो रुटमा पर्यटकलाई अवलोकन गर्न आग्रह गर्छन्। शान्त र नयाँ भएकाले कतिपय पर्यटकको रोजाइमा सो रुट पर्दैछ।
छोटो समयमै रामले दाङसिङ–मोहरिया ट्रेक रुट चिनाउन सफल बनिरहेको छन्। उसो त यसमा स्थानीय र प्रदेश सरकारसँगै टानको पनि उत्तिकै हात छ। अन्नपूर्ण गाउँपालिका-८ मा पर्ने थमडाँडा पदमार्गलाई गाउँपालिकाले पनि प्रमुख प्राथमिकतामा राखेको छ। बर्सेनि पदमार्गले सहयोग पाएको हुन्छ।
यद्यपि केही समस्या बाँकी नै छन्। थमडाँडामा खानेपानी र बिजुलीको समस्या रहेको उनी सुनाउँछन्। 'थोरै संख्यालाई पुग्ने पानी जोहो गर्न सकेका छौं, त्यो पनि अस्थायीरूपमा हो। पानीको स्रोत टाढा छ,' उनले भने। यस्तै पदमार्गमा रहेका खोलामा पुल राख्न आवश्यक रहेको उनले बताए।
राम पदमार्ग प्रवर्द्धनमा लागिरहेका थिए। तर कोरोनाको चपेटाबाट थमडाँडामात्र कसरी बच्न सकोस्। कोरोना कारण पर्यटकको आवागमन कम भयो।
लयमा जाँदै गरेको प्रवर्द्धन रोकियो। 'पर्यटक आउँदै थिए, पछि कोरोनाले अप्ठ्यारो पार्यो, प्रवर्द्धन गर्न पनि गाह्रो भयो,' उनले सुनाए, 'अहिले फेरि नयाँ भेरियन्टले तर्साइरहेको छ।'
तैपनि राम आशावादी सुनिन्छन्। वैकल्पिक पदमार्गको रूपमा थमडाँडा पदमार्ग चिनिने विश्वास उनको छ। यस्तै प्रवर्द्धनमै लागेका राम पदमार्गमा अव्यवस्थित मोटरमाटो नपुर्याउने प्रयत्नमा छन्। मोटरमाटो विस्तारले पदमार्ग विस्थापित हुने आशंका उनको छ।
'मोटरमाटो नपुगेका पनि वैकल्पिक पदमार्गको रूपमा उदाहरण दिन पाएका छौं, सडकको ट्रेक नै जाने हो भने घान्द्रुकको बाटो छ,' उनले भने, 'माथि बस्ती नभएकाले सडक लैजानु पनि आवश्यक हुँदैन। सडक सञ्जाल नपुर्याएकै राम्रो।'
तस्बिर सौजन्यः राम ढुंगाना