साहसिक खेल विस्तारमा कुश्माको ‘द क्लिफ’, संचालनमा ल्यायो विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ



२०७८ पुष १३ गते ०८:५६ | Dec 28, 2021


साहसिक खेल विस्तारमा कुश्माको ‘द क्लिफ’, संचालनमा ल्यायो विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ


काठमाडौं। साहसिक पर्यटकीय गतिविधि विस्तार गर्ने क्रममा कुश्मास्थित द क्लिफ रिसोर्टले विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ सेवा सुरु गरेको छ। कम्पनीले आफ्नै रिसोर्ट परिसरमा साहसिक पर्यटक लक्षित यो आकर्षक खेल सुरु गरेको हो।

Tata
Global Ime

कालीगण्डकी माथिको भीरमा (बागलुङको बलेवातर्फ) स्काइ साइक्लिङ निर्माण सम्पन्न गरी सेवा सुरु गरिएको हो। कम्पनीका अनुसार यो स्काइ साइक्लिङ दुईतर्फी लम्बाई कुल ६ सय मिटर छ।

प्रति व्यक्ति तीन हजार पाँच सय रुपैयाँ निर्धारण गरिए पनि शुभारम्भ छुट अन्तर्गत दुई हजार पाँच सय रुपैयाँमै यो सेवा लिन सकिने अध्यक्ष राजु कार्कीले बताए। यस अघि सुरु गरिएको बन्जी र स्विङ खेलका लागि पनि अतिरिक्त २० प्रतिशत छुट दिइने उनले जानकारी दिए।

गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी लगायत साहसिक खेल सञ्चालनमा ल्याइसकेको 'द क्लिफ'ले नयाँ प्रोडक्टका रुपमा स्काइ साइक्लिङ सुरु गरेको कार्कीले बताए ।

विश्वमा २ सय २८ मिटर उचाइमा र छ सय मिटरको कुनै पनि व्यवसायिक स्काइ साइक्लिङ नरहेकाले यो नै विश्वको लामो र अग्लो व्यवसायिक साइक्लिङ भएको कार्कीले दाबी गरे।

कुश्मा क्षेत्रलाई एड्भेन्चर हबका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले निकट भविष्यमा थप साहसिक गतिविधि अन्तर्गतका खेल विस्तार गर्दै लैजाने योजना रहेको कार्कीले जानकारी दिए।