दरबारमार्गको ओरियन्ट क्याफेः रोयल साइनो र ओपियमको त्यो लिगेसी, जो पस्कँदैछ नौलो स्वाद



२०७८ पुष २३ गते १२:५७ | Jan 7, 2022


दरबारमार्गको ओरियन्ट क्याफेः रोयल साइनो र ओपियमको त्यो लिगेसी, जो पस्कँदैछ नौलो स्वाद


काठमाडौं। बैंकिङ क्षेत्रका अलिकति उच्च ओहदामा पुगेका कर्मचारी जागिर हत्तपत्त छाड्दैनन्। छाडिहाले अर्को कुनै वित्तीय संस्थामै त्यस्तै अर्को ठूलो पद ताकेको खुल्छ। लक्ष्य हुन्छ ढिलोछिटो सीइओ बन्ने। तर करिअर र रुचिले डोर्‍याएको क्षेत्रका विषयमा उमिद श्रेष्ठको सन्दर्भ अलि फरक छ। 

Tata
Global Ime

करिब १६ वर्ष बिताएपछि उनले बैंकिङ क्षेत्र चटक्क छाडे। सन् २००४ मा उनले बैंक अफ काठमाण्डूबाट बैंकिङ करिअर थालेका थिए। छाड्नुका दुई कारण प्रमुख थिए- पहिलो खानेकुराका परिकारमा विशेष लगाव भएकाले त्यही क्षेत्रमा केही गर्ने चाहना, दोस्रो बैंकिङ क्षेत्रका कर्मचारीले चाहने उच्च पदमा आफू कहिले पुग्छु भन्ने टुंगो नहुनु।

दरबारमार्गमा ओरियन्ट क्याफे खुलेको छ। सञ्चालकमध्येका एकजना मुख्य व्यक्तित्व हुन् उमिद। काम गरिरहेको वित्तीय क्षेत्रभन्दा बेग्लै रुचिको बिजनेस गर्ने चाहनाले उनलाई दरबारमार्गमा व्यवसायी बनायो।

उमिदले विभिन्न देशका कुजिन चाख्न कन्जुस्याइँ कहिल्यै गरेनन्। ज्यान बैंकिङ पेसामा खटिए पनि मन र मस्तिष्क भने सधैं खानेकुराका परिकारको विविधतामा रहन्थ्यो।

'बैंकिङ राम्रै जागिर थियो, धेरै सिक्न पाएँ। नेटवर्किङ राम्रो बन्यो। तर, मेरो पारिवारिक पृष्ठभूमि भने व्यापार नै थियो। दिमागमा सधैं मैले बिजनेस गर्नुपर्छ भन्ने थियो। मैले जति काम गरे पनि सीइओ त बन्ने होइन, म त्यसमा पक्का थिएँ। आफ्नो क्षमता मलाई थाहा थियो। अझ सेवाबाट रिटायर भएपछि के त?,' उमिदले भने। 

इच्छा विभिन्न कुजिनमा भए पनि जागिर चट्टै छोडेर केही शुरु गरिहाल्ने अवस्थामा उनी थिएनन्। उनी भरपर्दो साथी, सारथिदेखि सोच मिल्नेको खोजीमा निस्किए। 

'फुडी' भन्न रुचाउने उमिदको संगत विस्तारै सम्राट पाण्डेसँग हुन थाल्यो। उमिद बैंकर, सम्राट भने होटल म्यानेजमेन्ट पृष्ठभूमिसहित करिअर सुरु गर्ने मुडमा। सम्राटका बुबा किशोरराज पाण्डेले दरबारमार्गमा फ्याफेरिना रेष्टुरेन्ट चलाइरहेका थिए। 

उमिद र सम्राट दुवै 'अब के गर्ने जीवनमा ?' भन्ने विमर्शमा घण्टौं बिताउने गर्थे।  

'अब कसरी अघि बढ्ने। करिअरमा के गर्दा बेटर भनेर हामी सोच्थ्यौं। म बैंकर भएपनि मलाई त्यो ठिक लागिरहेको थिएन। फुडमै मलाई विशेष रुचि थियो। त्यसमाथि सम्राटको ब्याकग्राउन्ड होटल म्यानेजमेन्ट। त्यसमाथि उसको बुवाले रेष्टुरेन्ट चलाइरहेको अनुभव। अनि टिम बनाएर किन खानामै केही नगर्ने भन्ने निचोडमा पुग्यौं,' उमिदले हँसिलो हुँदै सुनाए। 

यही निचोडको बलमा उमिद र सम्राटले काठमाडौंको दरबारमार्गमा २०१८ तिर ओपियम खोलेका थिए। ओपियम खोल्नु केही अघि मात्रै उमिदले डेढ दशक लामो बैंकिङ यात्रामा बिराम लगाएका थिए। क्याफेरिनानै ओपियममा परिणत भयो भने रोयल साइनो ओरियन्ट क्याफेमा बद्लियो। 

ओपियममा लगानी गरेका उमिदसँगै सम्राट पाण्डे, पशुपति पाण्डे, हेड सेफको रूपमा ठाकुर पौडेल र होटल क्षेत्रमा तीन दशकभन्दा बढी बिताइसकेका उद्धव ढकाल छन्। ओरियन्टमा ओपियमको टिमसँगै रोयल साइनोका तर्फबाट काजी लामा लगानीकर्ता छन्।

यसरी जन्मियो ओरियन्ट क्याफे

अहिले ओरियन्ट क्याफे भएकै ठाउँमा रोयल साइनो थियो। दरबारमार्गको रोयल साइनो रेष्टुरेन्ट बारे थाहा नहुने कमै छन्। विभिन्न भेराइटीका ममको लागि निकै प्रख्यात थियो रोयल साइनो।

रोयल साइनो र क्याफेरिना दुवैको इतिहास छ। ‌ओरियन्टमा यी दुवै समूहको लिगेसी छ। सम्राटको बुवा अन्नपूर्ण होटलको सुरुआती जनरल म्यानेजर हुन्। रोयल साइनोमा क्याफेरिनाको टिम पनि सँगै थियो। रोयल साइनोमा काजी लामाको लगानी थियो। 

'जोकोही समय परिस्थितिअनुसार अघि बढ्नु पर्छ। नयाँ जेनरेसनअनुसार नयाँ थिममा जानुपर्छ। क्याफेरिना ओपियममा परिणत भयो। रोयल साइनो ओरियन्ट क्याफे बन्यो। ओरियन्टमा रोयल साइनो र ओपियम समूहको लगानी छ। दुवै समूहसँग समान सोच र लक्ष्य थियो,' उमिदले भने। 

ओरियन्ट क्याफेको निर्माण पूर्ण रुपमा भने सकिएको छैन। केही फिनिसिङ टचको काम बाँकी छ। पूर्ण रुपमा ओरिन्ट क्याफे तयार हुँदा करिब चार करोड रुपैयाँ छुने उमिदले जानकारी दिए। 

 

२‌५० भन्दा बढी व्यक्ति अट्ने ओरियन्ट क्याफेमा रोयल साइनो र ओपियमको समान ५०/५० प्रतिशत सेयर स्वामित्व छ। 

‌ओरियन्ट क्याफे परिसरमा छिर्ने वित्तिकै फूलैफूल देखिन्छ। भित्तामा झुन्ड्याइएका फ्रेमहरुमा पनि विभिन्न फूलहरुकै फोटो छ। ओरियन्ट क्याफेले आफ्नो लोगोमै पनि फूल प्रयोग गरेको छ। 

फूलले सौन्दर्य, खुसी, माया, मित्रता लगायतको अर्थ बोक्ने भएकाले ओरियन्ट आउने ग्राहकहरुले त्यही महसुस गरुन् भन्ने अपेक्षा गरिएको छ। 

यस्तै, ओरियन्ट क्याफेलाई रोयल साइनो र ओपियमभन्दा एक पाइला अघि लैजान खोजेको भन्दै उमिदले अरुसँग प्रतिस्पर्धा गर्नुभन्दा आफैंलाई अपग्रेड गर्दै लगेको जिकिर गरे।

‌ओरियन्ट क्याफेमा अहिले पनि रोयल साइनोको झुमर (स्यान्डलियर) राखिएको छ। जसलाई देखेर पुराना ग्राहकहरु पनि दंग पर्ने उनले बताए। झुमर देखेर पुराना ग्राहकहरुले 'ओहो ! यो त अहिले पनि यहाँ रहेछ !' भनेर अचम्मित हुने उनले बताए। 

'इट टेक्स् देम ब्याक टु रोयल साइनो,' उमिदले ग्राहकहरुको अनुभूति सम्झिँदै भने। 

ओरियन्टले रोयल साइनोको संरचनाको भित्री भाग रेनोभेसन मात्रै गरेको छ। घरको माथिल्लो भाग भत्काएर खुल्ला बनाइएको उमिदले भने। रोयल साइनोको सबैभन्दा माथिल्लो भागमा रहेको हल भत्काएर अहिले खुल्ला बनाइएको उनले बताए। रोयल साइनो ओपन रेष्टुरेन्ट भए पनि ओरियन्टमा भने माथिबाट छानाको ठूलो स्ट्रक्चर राखिएको छ। 

त्यसैगरी, ३४ वर्ष अस्तित्वमा रहेको रोयल साइनोलाई नयाँ स्वरुप दिन विभिन्न कारण आइपरेको काजी लामाले जानकारी दिए। 

'मेलै आफैंले एक्लै हेर्न पनि नभ्याउने, म जलविद्युत निर्माणमा सक्रिय छु। नयाँ टिम बनाएर ओरियन्ट क्याफेमा रुपान्तरण गरेका हौं। म एक्लैले भन्दा बलियो टिम बनाएर व्यवसाय अझै राम्रो हुन्छ भने किन नगर्ने ?,' लामाले भने। 

रोयल साइनो भएको भवन सबै भत्काएर नयाँ बनाउने योजना पनि रहेको लामाले बताए। जग्गाधनीसँग ५०/५० प्रतिशत लगानीमा अन्डरग्राउन्ड पार्किङसहित व्यवसायिक भवनको टपमा रेष्टुरेन्ट बनाउने गरी डिजाइन नै तयार भए पनि त्यसबाट पछि हटेको लामाले सुनाए।

'रोयल साइनो नयाँ रुपमा फेरिएको छ। हामी खुशी छौं। टिम राम्रो छ,' लामाले भने। 

ओरियन्ट अर्थात् ओरियन्टल फुड

ओरियन्ट नामको अर्थनै ओरियन्टल फुड भएको उमिद बताउँछन्। 

'‌ओरियन्ट क्याफेले मुख्यगरी दक्षिण पूर्वी एसियन फुड सर्भ गर्छ। जापान, थाइल्याण्ड, चीन, मंगोलिया, भियतनाम लगायतका देशहरुको कुजिन हाम्रोमा छ। हाम्रो मुख्य प्राथमिकता र ध्यान नै ओरियन्टल फुड हो। साथै, अरु मल्टी कुजिन फुडहरुमा इटालियन, भारतीयसहित पनि सर्भ गर्छौं,' उमिदले भने। 

विदेश सयर गरिरहनेहरुले विभिन्न देशको स्वाद चाख्न पाइरहन्छन्। नेपालमा हुनेहरुले लामो समयसम्म यहाँ खुलेका रेष्टुरेन्टहरुमा मम, चाउमिन, पिज्जा, बर्गरलगायतका खानेकुरा खान पाए। मेन्यूबाट यी खानेकुराहरु छुटाउन नसक्ने बताउँदै उमिदले विदेश जाने अवसर नपाउनेहरुले त्यहाँको कुजिन किन चाख्न नपाउने? यो पक्षलाई ध्यानमा राख्दै आफूहरु विदेशी कुजिनमा बढी केन्द्रित भएको बताए। 

फुड सर्भ गर्ने मात्रैभन्दा पनि उपभोक्ताहरुले धेरै देशहरुमा विभिन्न फुड कल्चर अनुभव गर्नुपर्नेमा विश्वास राख्ने उनले जिकिर गरे। सामाजिक सञ्जाल एवम् इन्टरनेटको सहज पहुँचले विभिन्न देशका कुजिन नेपालमा पनि पाइयोस् भने अपेक्षा राख्ने नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै त्यस प्रकारको सेवा दिन खोजेको उनले बताए। 

ओरियन्ट क्याफेका हेड सेफ ठाकुर पौडेलसँग रेष्टुरेन्टदेखि पाँच तारे होटल सोल्टीमा काम गरेको अनुभव छ। ओपियममै हुँदा राम्रो सेफको खोजीमा उमिदको टिम थियो। ठूलो भान्छा व्यवस्थापन गर्न निकै अनुभवी र योग्य सेफ आवश्यक पर्छ। हेड सेफ ठाकुरसँग पनि ओरियन्टको सेयर हिस्सा छ। उनी ओपियमको साझेदारको रूपमा ओरियन्ट भित्रिएका हुन्। 

ओरियन्टको किचनमा करिब २० जना स्टाफ रहेको उमिदले जानकारी दिए। ठूलो किचन टिमलाई व्यवस्थापन गर्नैको निम्ति ठाकुरलाई भित्र्याइएको उमिदले जानकारी दिए। 

'ठाकुरजीसँग रेष्टुरेन्टसँगै पाँचतारे होटलमा काम गरेको अनुभव छ। सबै होटललाई रेष्टुरेन्टमा के गर्नुपर्छ भन्ने थाहा नहुन सक्छ। सबै रेष्टुरेन्टलाई होटलमा कसरी काम गर्ने थाहा हुँदैन। उहाँसँगै दुवैको कल्चर छ, टचअप छ,' उमिदले भने। 

होटल सोल्टीसँगै ओपियममा पार्ट टाइममा भित्रिएका ठाकुरलाई उमिदको टिमले केही हिस्सा सेयर बिक्री गरेरै पूर्णकालीन साझेदारको रूपमा ल्याएको थियो। 

उमिदसहितको टिमको लगानी डिजिटल प्रिन्टिङ प्रेसदेखि चिनियाँ ब्राण्ड डीएफएसके मोटर्स र युरोपेली टू ह्विलर ब्राण्ड याडिया इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याउनमा छ। ओरियन्टको मेन्यू निर्माणमा ठाकुरकै मेहेनत बढी झल्किन्छ। 

ओपियम र ओरियन्ट क्याफेको दूरी बढीमा दुई सय मिटर छ। एकै ठाउँमा दुईवटा रेष्टुरेन्ट खोल्दा के फरकपन भयो र भन्ने प्रश्न उमिद र उनको टिम माथि तेर्सियो। 

'ए दरबारमार्गमै तिमीहरुको दुईवटा रेष्टुरेन्ट खोलेको, एउटै ग्राहक तानातान हुन्छ यहाँ भनिन्यो। दुवै रेष्टुरेन्ट मल्टी कुजिन हुन्। ‌ओरियन्टमा स्पेसिफिक ओरियन्टल फुड छ। यो ओपियमको भन्दा फरक छ। पिज्जा, ममदेखि भारतीय फुड समान देखिन्छ। तर, ओरियन्टको मेन्यूमा सुसी, क्यान्टोनिज एण्ड सेचुवान फुडदेखि थाइ पाइन्छ। खानाको परिकार फरक छ,' उमिदले भने। 

ओरियन्टमा पाइने अधिकांश खाना उच्च प्रविधियुक्त मेसिनदेखि विदेशी इन्ग्रेडियन्ट प्रयोग गरिएको ओरियन्ट क्याफेका साझेदार एवम् हेड सेफ ठाकुर पौडेलले जानकारी दिए। 

ओरियन्टमा ओरियन्टल (प्यान एसियन) कन्सेप्टमा अघि बढेको पौडेलले बताए। 

'खानेकुरालाई स्वादिष्ट बनाउन त्यहीस्तरको उपकरण चाहिन्छ। डिमसन यहाँको स्पेसल डिस हो। यसका लागि हामीले छुट्टै मेसिन राखेका छौं। तीन मिनेटमै तयार हुन्छ। यो बनाउन चाहिने पिठो किलोकै १७ सय रुपैयाँ पर्छ। सामान्य रेष्टुरेन्टले यहाँ पाइने जस्तो फ्लेवर दिन सक्दैनन्,' पौडेलले भने। 

ओरियन्ट क्याफेले हटस्टोन पट (अर्डर गरेको आदि घण्टासम्म खुला ठाउँमा राखे पनि सेलाउँदैन), डिमसम,  इटालियन पिज्जा (नियापोलितान), विभिन्न भेराइटीका सुसी, भेजिटेबल क्रिस्टल रोल,इन्डियन कुजिनका लागि इन्डियन सेफ नै छुट्याइएको पौडेलले जानकारी दिए। 

ओरियन्टले क्रिसमसलाई लक्षित गर्दै रेष्टुरेन्टको सफ्ट ओपनिङ गरेको हो।