
काठमाडौं। सिभिल बैंकले गत आर्थिक वर्ष आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता गरेर कुल एक करोड १४ लाख रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ।
अहिले प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल छन्। तर यो पैसा उनले बुझेको भने होइन। गत आर्थिक वर्षको वैशाखसम्म गोविन्द गुरुङ प्रमुख कार्यकारी अधिकृत थिए। पोखरेल गत असार १८ गतेबाट प्रमुख कार्यकारी भएका हुन्। उनले वैशाख १८ देखि कामु प्रमुख कार्यकारीको जिम्मेवारी भने सम्हालेका थिए।
सिभिल बैंकले पुस ३० गते साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदन अनुसार, प्रमुख कार्यकारीलाई तलब बापत ५४ लाख १९ हजार, भत्ता ३० लाख ८७ हजार, दसैं खर्च ७ लाख ६७ हजार, सञ्चय कोष सुविधा ५ लाख ४१ हजार र नाफाबाट बोनस १६ लाख ७४ हजार रुपैयाँ भुक्तानी गरिएको छ।
बैंकले उच्च तहका कर्मचारी तथा प्रबन्धकलाई एक वर्षमा कुल १२ करोड ४८ लाख ३९ हजार ९८० रुपैयाँ भुक्तानी गरेको छ। उनीहरुलाई तलब बापत मात्र ५ करोड ८८ लाख, भत्ता ४ करोड ४७ लाख, दसैं खर्च ६७ लाख, सञ्चय कोष सुविधा ५ लाख ८८ हजार र नाफाबाट बोनस एक करोड ३९ लाख रुपैयाँ भुक्तानी गरिएको छ।
बैंकले कुल व्यवस्थापन खर्च एक अर्ब ७३ करोडबाट बढाएर एक अर्ब ७९ करोड पुर्याएको छ। कर्मचारीतर्फको खर्च एक अर्ब ४ करोडबाट बढेर एक अर्ब ९ करोड पुगेको छ। कार्यालय सञ्चालन खर्च जम्मा १८ लाख रुपैयाँले बढेर ६९ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
सभामा बैंकले ५ प्रतिशत बोनस सेययर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ। यसबाहेक बैंकले मर्जर तथा प्राप्तिको एजेण्डा पनि राखेको छ।