बिहेको सिजनमा ओमिक्रोनको ओभरटेक, पार्टी प्यालेसमा आएका अधिकांश बुकिङ रद्द



२०७८ माघ १२ गते १२:३६ | Jan 26, 2022


बिहेको सिजनमा ओमिक्रोनको ओभरटेक, पार्टी प्यालेसमा आएका अधिकांश बुकिङ रद्द


काठमाडौं। दुई महिना अघि मात्रै गति लिन सुरु गरेको पार्टी प्यालेसको व्यवसायमा पुनः ब्रेक लागेको छ। कोभिड दोस्रो लहर नियन्त्रणमा आएसँगै जनजीवन सामान्य हुन थाल्दा अधिकांश पार्टीप्यालेस व्यवसायीमा पुनः व्यापार लयमा फर्किने आशा बढेको थियो।

Tata
Global Ime

सामाजिक समारोहका लागि सयौं जनाभन्दा बढीको सहभागिता हुन थालिसकेको थियो। ओमिक्रोन भेरियन्टको संक्रमण बढेसँगै व्यवसायमा पुनः कालो बादल लागेको हो। पार्टी प्यालेस व्यवसायमा यतिखेर सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार २५-५० जनाको सहभागितामा सीमित गरिदिएको छ। यो निर्देशन जारी भएसँगै पार्टी प्यालेस उद्योगमा देखिएको रौनकमा ग्रहण लागेको छ।

माघ महिनाका लागि अग्रिम बुकिङ भएका अधिकांश भोज भत्तेरका कार्यक्रम स्थगित भएको छ। धेरैजसो सामाजिक समारोह रद्द नै भइसकेको व्यवसायीले जनाएका छन्। उपत्यकाको बढ्दो बस्ती, साँघुरा घर-आँगनका कारण सामाजिक सभा समारोहका लागि पहिलो रोजाइ पार्टी प्यालेस हुन्। त्यसैले लाखौंको लागतमा पार्टी प्यालेस खुलेका छन्। कोरोना संक्रमणको बारम्बारको लहरले यो व्यवसायमा रहेको लगानी र रोजगारीलाई प्रत्यक्ष मार परेको छ।

उच्च स्वास्थ्य सुरक्षा र सतर्कतासहित व्यवसाय सञ्चालन गर्न चाहन्छन्। तर नियमनको झन्झटले सवारीमा जोरबिजोरसँगै सभा समारोहमा २५ जनाभन्दा बढी भेला हुन नदिने नियम लगाएर स्थनीय प्रशासन ढुक्क बसेको छ। यो अवस्थामा सरकारको नियम व्यवसायमैत्री नभएको गुनासो इभेन्ट्स एण्ड भेनु एशोसिएसन नेपाल (इभान)का अध्यक्ष एवं अमृत भोगका सञ्चालक अनिल शर्माको छ। गति लिँदै गरेको इभेन्ट्स र बैंक्वेट उद्योग पुनः धरासायी अवस्थामा पुग्न लागेको उनले बताए।  

सिजनको बेला चल्दै आएको यो व्यवसाय दुई वर्ष यता कोभिडले प्रभावित हुँदै आएको छ। यसपटक अचानक भीडभाड रोक्न सरकारले जारी गरेको नयाँ नियमले व्यवसायमा गम्भीर असर परेको उनले बताए। संघसँग आबद्ध काठमाडौंमा मात्र करिब एक सय ७० वटा बैंक्वेट छन्। तिनमा हाल करिब एक सय ५० वटामात्र सञ्चालनमा थिए। मुलुकका प्रमुख सहरहरु सबैजसोमा तीन दर्जनभन्दा बढी पार्टी प्यालेस ठूलो लागतका छन्। यिनले धेरैलाई रोजगारी पनि दिएका छन्।

शर्माका अनुसार माघ महिनाका लागि अमृत भोगमा मात्रै यसपटक ५० वटा सभा समारोहको अग्रिम बुकिङ थियो।

'कतिपय बैंक्वेट हल बन्द भइसकेको छ, भएका पनि चल्न सक्ने अवस्था छैन। रेष्टुरेण्टलाई ३० प्रतिशत व्यवसाय गर्न स्वीकृति दिइएको छ। स्पेसका आधारमा बैंक्वेटमा त दुई सय ५० जना भनेको त न्युनतम संख्या हो,' अध्यक्ष शर्माले भने, 'अब व्यवसायमा ताला लगाएर चाबी सरकारलाई बुझाउने अवस्थामा आइपुगेका छौं। विकल्प देखिएन।'

सरकारको निर्देशिका अनुसार सामाजिक समारोह आयोजना गर्दै आएको नयाँ बानेश्वरस्थित आनन्द भूमि इभेन्ट्स एण्ड बुटिक क्याफेले जनाएको छ। 'सरकारले जारी गरेको निर्देशिका व्यवहारिक छ। यतिखेर अग्रिम बुकिङ गरिसकेका ग्राहकले आफ्नो परिवार र अति नजिकको आफन्तको सहभागितामा भोज भत्तेर आयोजना हुँदै आएको छ,' सञ्चालक सकुन्द अर्यालले भने।

यो महिनाका लागि आएका दुई दर्जनभन्दा बढी अग्रिम बुकिङ रद्द भइसकेको बबरमहलस्थित कार्की बैंक्वेटले जनाएको छ।

'समारोह भत्तेरका लागि गरिएका अग्रिम बुकिङ सबै रद्द भइसकेका छन्। अब वैशाखमा मात्र व्यवसायले केही गति लेला की भन्ने आशा छ,' बैंक्वेटका प्रबन्धक रामचन्द्र देवकोटाले भने,'२५-५० जनाको समूहमा कार्यक्रम आयोजना गर्नेको संख्या नै न्यून छ।'

पेप्सीकोला टाउन प्लानिङस्थित न्यू त्रिशक्ति पार्टी प्यालेसले माघका लागि गरिएको १० वटा ठूला कार्यक्रमको बुकिङ रद्द भएको जनाएको छ। ओमिक्रोनको प्रभाव सुरु भएसँगै सोचे जतिको बुकिङ आउन नसकेको संचालक शरण भण्डारीले बताए। 

'माघ महिना बिहेको भन्दा पनि ओमिक्रोन सिजन भइदिएको छ। यो अवस्थामा भिडभाड नै गर्न गराउन मिल्ने अवस्था छैन। व्यवसायले गति लिन सुरु गरेको थियो तर अब योजनाहरु चकनाचुर भएको छ। सरकारले जारी गरेको निर्देशिका अनुसार कार्यक्रम आयोजना गर्नेको सहभागिता न्यून छ,' सञ्चालक भण्डारीले भने।

जोरपाटीस्थित छिमेकी पार्टी प्यालेसले यो महिना गरिएका ६० प्रतिशत बुकिङ रद्द भइसकेको जनाएको छ। सामाजिक समारोह र भोजभत्तेरका लागि बुकिङ भएको कुल १६ वटा ठूला इभेन्ट रद्द भएको सञ्चालक जयराम घिमिरेले बताए।

'ओमिक्रोन संक्रमण सुरु हुन थालेसँगै यतिखेर अधिकांशले वैवाहिक समारोह घर घरमै, मन्दिर बाहिर गर्न थालेका छन्। यो बाध्यता पनि हो,' उनले भने, 'भोज भत्तेरको कार्यक्रम पनि न्यून छ।'