काठमाडौं। गत साता नेपाल प्रहरीले 'भर्चुअल करेन्सी' मा लगानी गर्ने तीन जनालाई पक्राउ गरेपछि आइतबार नेपाल राष्ट्र बैंकले एउटा सूचना जारी गर्यो।
नेपालबाट विदेशमा कुनै पनि प्रकारको लगानी गर्न नपाइने ऐनको व्यवस्थालाई सम्झाउँदै राष्ट्र बैंकले नेपालमा रहेका विदेशीका साथै विदेशमा रहेका नेपालीले समेत विदेशमा लगानी गर्न नपाउने सूचना सार्वजनिक गरेको थियो।
पछिल्ला दिनहरुमा भर्चुअल करेन्सी/क्रिप्टो करेन्सीहरुमा लगानी गर्ने क्रम निकै बढेर गएको छ। विश्वका कतिपय मुलुकले यसलाई वैधानिकता दिइसकेका छन् भने कतिपयले यसको मूल्यमा हुने उच्च उतारचढावका कारण नियमन तथा सुपरिवेक्षण गर्न गाह्रो हुने औंल्याएर रोकिराखेका छन्।
नेपालमा भने यो प्रतिबन्धित छ। तर नेपालीहरुले यसमा भने प्रशस्तै लगानी गरिरहेका छन्। यसको पुष्टि रेमिटेन्सबाट हुन्छ। नेपाल राष्ट्र बैंंकले गरेको एउटा अनौपचारिक अध्ययनले समेत रेमिटेन्स घट्नुको मूख्य कारणमध्ये 'क्रिप्टो करेन्सी' मा बढ्दो लगानी भएको निष्कर्ष निकालेको छ।
क्लबहाउसमा खुलमखुला बहस
अत्यन्तै जोखिमपूर्ण लगानीको क्षेत्र 'भर्चुअल करेन्सी' मा आखिर नेपालीहरुले किन लगानी बढाइरहेका छन्? लामो समय यस क्षेत्रमा काम गरिरहेका एक लगानीकर्ताले आफ्नो विश्लेषण सुनाए- चाँडो प्रतिफल लिने होडबाजीका साथै नेपालको घट्दो सेयर बजार।
सामाजिक सञ्जाल 'क्लबहाउस' चहार्ने हो भने त्यहाँ विदेशीहरुको मात्र होइन नेपाली लगानीकर्ताको बहस सुन्न सकिन्छ। उनीहरु दैनिकजस्तो क्रिप्टोकरेन्सीको बजार आगामी दिनमा के हुन्छ? कतिसम्म जोखिम लिन सकिन्छ? अब बढेर कति पुग्छ वा घट्दा कतिसम्म घट्छ? भनेर बहस गरिरहेका हुन्छन्। नयाँ लगानीकर्ता कसरी प्रवेश गर्ने भनेर सिकाइरहेका हुन्छन्। क्लबहाउसको एउटा समूहमा १२/१५ सय जना आबद्ध भएर छलफल गरिरहेका हुन्छन्।
त्यहाँ भेटिनेहरु जापान, कोरिया, अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका देशमा भएका नेपालीहरु हुन्छन्। वक्ता त्यहाँ बस्ने नेपाली भए पनि स्रोता नेपालमै बसिरहेका धेरै हुन्छन्। क्रिप्टो करेन्सीमा लगानी गरिरहेका यी नेपालीहरुले नेपालको सेयर बजारमा पनि लगानी गर्ने गर्छन्।
सेयर बजारका कडाइ गर्दा क्रिप्टोमा लगानीकर्ता
'यो सबले अहिले आएर क्रिप्टोमा लगानी बढाउनुको कारण घट्दो नेपालको सेयर बजार पनि हो। यसले बढिरहेको क्रिप्टोमा लगानी गर्न प्रेरित गरिरहेको छ,' क्लबहाउसमा क्रिप्टोकरेन्सीमाथि छलफल गर्ने एक लगानीकर्ताले भने, 'हिजो वैदेशिक रोजगारीमा जानेको संख्या ७० प्रतिशतले घट्दा पनि रेमिटेन्स १०० अर्बमाथि भित्रिएको थियो। आज श्रम गन्तव्य खुला हुँदा पनि रेमिटेन्स घटिरहेको छ। यसको अर्थ हो आउनुपर्ने रेमिटेन्स अरुतिरै लगानी भइरहेको छ।'
उनको अनुभवमा जब नेपालको सेयर बजार उकालो लागेको थियो त्यो बेला लगानी गर्नका लागि बाहिर बसेकाहरुले धमाधम पैसा पठाउन थाले। त्यसले गर्दा रेमिटेन्समा सुधार भयो। जब बजार घट्न थाल्यो उनीहरुले अर्को कमाइ हुने क्षेत्र 'क्रिप्टो करेन्सी' मा लगानी गर्न आफ्नो आम्दानी आफू बसेकै देशमा राख्न थाले।
लगानीकर्ताहरुको विश्लेषणलाई सेयर बजार, बैंकिङ तरलता र ब्याज दरका साथै रेमिटेन्स आयले पुष्टि गर्न बल पुर्याउँछ।
तथ्यांक के भन्छ?
२०७६ मंसिर ९ गतेबाट सेयर बजारले उकालो यात्रा सुरु गरेको हो। बजार सूचक १११० अंकमा थियो। त्यसबेलासम्म कोरोनाको संक्रमण बढेको थिएन। बजार लामो समय घटेक कारण निरन्तर सूचक उकालो लागिरहेको थियो। बजार बढेर २०७६ फागुन १८ गते १५९१ अंक पुग्यो। कोरोना संक्रमण फैलिँदै गयो। त्यहीबीचमा २०७६ चैत ११ गते सरकारले लकडाउन गर्यो। लकडाउनको असर तत्कालै बजारमा देखियो- सूचक २०७७ असार १५ गतेसम्म ११८८ अंकमा आयो।
कोरोनाका कारण सर्वसाधारणमा लगानीका लागि भय व्याप्त थियो। त्यो बेला क्रिप्टोकरेन्सी पनि व्यापक भइसकेको थिएन। सेयर बजार निरन्तर घट्यो भनेर धितोपत्र बोर्डको आग्रहमा राष्ट्र बैंकले सेयर धितो ऋणको सीमा ७० प्रतिशत पुर्याइदियो। त्यसपछि बजारले फर्किएर हेर्नु परेन। १८८० मा दुई साताजति (मंसिर दोस्रो सातादेखि पुस सुरुसम्म) रोकिए पनि बजारले बढ्ने क्रमलाई नै पछ्याइरह्यो।
२०७८ भदौ ३ गते सूचक ३२ सय २७ अंक पुगेको थियो। कोरोना संक्रमणसँगै गरिएको लकडाउनका कारण बैंकिङ प्रणालीमा तरलता उच्च रह्यो। त्यसमाथि उद्यमी व्यवसायी लगायत ऋणीलाई गाह्रो नहोस् भनेर राष्ट्र बैंकले सस्तो दरको पुनर्कर्जाका साथै ब्याज घटाउन बैंकहरुलाई उर्दी नै जारी गर्यो। नयाँ ऋण लगानी नहुने भएकाले निक्षेपमा उच्च सुधार भयो। यसले गर्दा बैंकहरुले ब्याज दर घटाइरहे। ऋण झन झन् सस्तो भयो।
लकडाउन गर्दा आधार ब्याज दर ९.३६ प्रतिशत थियो भने ऋणको औसत ब्याज ११.७७ र निक्षेपको ६.७४ प्रतिशत थियो। त्यसपछि ब्याज दर निरन्तर घटिरह्यो।
गत जेठसम्म आधार ब्याज दर ६.६६ प्रतिशतमा आयो भने ऋणको औसत ब्याज दर ६.४६ र निक्षेपको ४.७२ प्रतिशतसम्म आयो। सेयर बजारका लागि यो ‘स्वर्ण काल’ भयो। नेपाली सेयर बजारमा नेपालमै बसेकाले मात्र लगानी गरेनन् यो बीचमा अनलाइन कारोबार यस्तरी विस्तार भयो संसारभर छरिएका नेपालीहरुले पनि लगानी गरे। लगानी गर्नका लागि उनीहरुले आफूले कमाएको पैसा नेपालमा पठाए।
यसरी पैसा पठाउन थालेपछि आर्थिक वर्ष २०७६/७७ मा मासिक औसत ७२ अर्ब ९१ करोड रुपैयाँका दरले भित्रिरहेको रेमिटेन्स २०७७/७८ मा ८० अर्ब रुपैयाँ भित्रिन थाल्यो। २०७७ जेठ र असारमा त १०० अर्ब रुपैयाँभन्दा बढीका दरले रेमिटेन्स भित्रिएको थियो। जब नेपाली सेयर बजार ओरालो लाग्न थाल्यो अनि रेमिटेन्स घट्न थाल्यो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मंसिरसम्मको विवरण सार्वजनिक गरेको छ। त्यस अनुसार मासिक औसत रेमिटेन्स ७७ अर्ब रुपैयाँ भित्रिन थालेको छ। औषतमै २ अर्ब ३७ करोड रुपैयाँले घटेको छ।
पैसा ह्वारह्वार्ती आउन थालेपछि २०७८ साउन ३१ गते नेपालको सेयर बजारमा २१ अर्ब ६४ करोड रुपैयाँसम्मको किनबेच भयो। औसतमै पनि १२ अर्ब रुपैयाँको कारोबार हुने गरेको थियो।
सेयरलाई चुनौती देख्दा बाहिर पैसा
साउन २९ गते मौद्रिक नीति सार्वजनिक भयो। मौद्रिक नीतिमा राष्ट्र बैंकले अर्थतन्त्र र वित्तीय क्षेत्रको ठूलो चुनौती नै सेयर बजार हो भन्ने हिसाबले नियन्त्रणात्मक नीति लियो। बाह्य क्षेत्र स्थायित्वमा बढी जोड दिनुपर्ने राष्ट्र बैंकले न उच्च आयातलाई चिन्ताको रुपमा लिएको थियो न त घट्दो विदेशी मुद्राको सञ्चितिलाई। सम्पूर्ण शक्ति सेयर बजार घटाउन लगाएपछि मौद्रिक नीतिपछि बजार घट्न थाल्यो। अघिल्लो दिन ३१७८ अंकमा हिँडिरहेको बजार निरन्तर घटेर २०७८ मंसिर २७ गते २२ सय ६० अंकसम्म आयो।
'जब जब सेयर बजार घट्यो अनि रेमिटेन्स आउने क्रम पनि कम भएको छ। अनि त्यो बेला क्रिप्टो करेन्सीको मूल्य बढेर उताबाट नेपाली लगानीकर्ताले लाभ लिएको देखिन्छ,' ती लगानीकर्ताले भने।
अहिले सेयर बजारमा अनलाइनबाट कारोबार गर्नका लागि ११ लाख ८८ हजार जनाले 'युजर आइडी' लिएका छन्। लकडाउनअघि ६० हजार मात्र यस्तो युजर लिने थिए। जब बजार बढ्यो त्यो बेला एकै महिनामा ६०/७० हजारका दरले युजर लिनेहरु बढेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बताए।
लगानीकर्ताहरुका अनुसार, क्रिप्टोकरेन्सीलाई जुनसुकै कानुन लगाए पनि नियन्त्रण गर्न सरकारले सक्दैन। विदेशमा (कतिपय मुलुकमा) वैधानिक रूपमा चलेको क्रिप्टोकरेन्सीलाई आफ्नो कमाइ उतै राखेर लगानी गर्न कसैले छेक्न सक्दैन। 'नेपालको सरकारसँग त्यसलाई ट्रयाक गर्ने क्षमता नै छैन,' लगानीकर्ताहरु भन्छन्, 'नेपाल भित्रकै कारोबार त ट्रयाक गर्न सकिँदैन बाहिरको झन् कसरी सक्नु?'
नियामक राष्ट्र बैंकका अधिकारीहरुलाई पनि लाग्छ क्रिप्टो करेन्सीको लगानीलाई नियन्त्रण गर्न सकिँदैन। नेपालको ऐन कानुनले विदेशमा लगानी गर्न मिल्दैन भनेर सूचना जारी गरिएको त्यहाँका अधिकारीहरु बताउँछन्। 'प्रहरीलाई पनि कारवाही गर्न सजिलो हुन्छ हामीले यो अपराध हो भनिदिएपछि' भर्चुअल करेन्सी, रेमिटेन्सलगायतको अनौपचारिक अध्ययनमा सहभागी एक अधिकारीले भने, 'यो अपराध हो भन्ने थाहा नपाएकाहरु पनि हुन सक्छन्। उनीहरुलाई जानकारी दिन पनि यो सूचना जारी गर्नु परेको हो।'


