विश्व अर्थतन्त्रमा ओमिक्रोनको असर: उत्पादन क्षेत्रका गतिविधिमा तुलनात्मक सुधार



२०७८ माघ २० गते ०६:२० | Feb 3, 2022


विश्व अर्थतन्त्रमा ओमिक्रोनको असर: उत्पादन क्षेत्रका गतिविधिमा तुलनात्मक सुधार


कोरोना भाइरसको संक्रमणमा भइरहेको वृद्धि तथा नयाँ लहरहरुले विश्व बजारलाई सामान्य बन्न दिइरहेको छैन। लामो समयदेखि निरन्तर रहिरहेको कोभिड महामारी विश्वभरकै आपूर्ति सञ्जालका निम्ति टाउको दुखाइ साबित भइरहेको छ।

Tata
Global Ime

हाल देखिएको कोभिड-१९ कै नयाँ भेरियन्ट ओमिक्रोन पहिले झैं गम्भीर प्रभावी नदेखिए पनि यसबाट उत्पन्न असरले विश्वको उत्पादन क्षेत्रमा अब सबै कुरा सहज हुँदै जानेछ भन्न सकिने अवस्था पनि रहेको छैन।

विश्वका सबैभन्दा ठूला मानिएका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकी वित्त तथा औद्योगिक क्षेत्रमा यसको प्रभाव देखिएको छ भने यूरोपेली देशहरुमा यसको मिश्रित असर परेको छ।

चीनमा बढिरहेको संक्रमितको संख्या अझै पनि विश्व आपूर्ति सञ्जालका निम्ति टाउको दुखाइ बनिरहने देखिएको छ। चिनियाँ नयाँ वर्षका समय तथा कोभिड-१९ को संक्रमणमा हुँदै गएको वृद्धिले गत जनवरी महिनामा चीनका फ्याक्ट्रीहरुको गतिविधि सुस्त देखिए।

पर्चेजिङ म्यानेजर्स इन्डेक्स पीएमआई डिसेम्बरको तुलनामा घट्यो। डिसेम्बरमा ५०.३ रहेको पीएमआई जनवरीमा ५०.१ मा आइपुग्यो भने साना, निजी फर्महरुको काइजिन/मार्किट पिएमआई डिसेम्बरमा ५०.९ रहेकोमा झरेर जनवरीमा ४९.१ मा आइपुग्यो।

चीनमा मंगलबारसम्म कोरोना भाइरसको केस ६३ वटा पुष्टि भएको छ भने विदेशबाट आउने २७ जनामा पनि यो संक्रमण देखिएको छ। चीनको झेजियाङस्थित पूर्वी प्रान्तहरु, तियानजिनको उत्तरी शहरहरु र बेइजिङमा सर्वसाधारणहरुमा संक्रमण देखिएको जनाइएको छ।

क्यापिटल इकोनोमिक्सका वरिष्ठ अर्थशास्त्री सिमोन म्याकआडम भन्छन्-'विश्व उद्योगमा ओमिक्रोनको अवरोधका कारण अब चाँडै सबै कुरा सहज हुनेछ भनिहाल्न कठिन छ।

चीन यसपटक महामारीबाट उत्पादन गतिविधिमा पहिलेभन्दा कम अवरोध होस् भन्नेमै बढी लक्षित रही उत्पादनको प्रयास गरिरहेको देखिन्छ। तर कुल गार्हस्थ उत्पादनको ५ देखि १० प्रतिशतको हिस्सा ओगट्ने केही प्रान्तहरुमा संक्रमणका केसहरु बढिरहेकाले आगामी महिनाहरुमा विश्व सप्लाई चेनका निम्ति यो टाउको दुखाइको विषय हुन सक्छ।'

ओमिक्रोनको लहरले विश्व आपूर्ति चेनमा पूर्ण रूपमा प्रहार गर्ने समय आउन अझै बाँकी नै रहेको अर्थशास्त्रीहरुको बुझाइ छ। चीनकै उत्पादन पीएमआईलाई हेर्दा पनि अहिले चीन र अमेरिकाभन्दा अन्य बाहिरी देशहरुमा सीमित मात्र संकुचन देखिएको छ। त्यस अनुसार जनवरीमा देखिएको जस्तो उत्पादनको अभाव हुने र मूल्यमा दबाब पर्ने अवस्था विस्तारै हट्दै जाने अपेक्षा पनि गरिएको छ।

मंगलबारको सर्वेक्षण अनुसार चीनमा लेबर तथा सप्लायर डेलिभरी पर्फर्मेन्समा बिस्तारै सुधार देखिएको छ। १५ महिना यता माग धान्ने गरीको उत्पादनमा वृद्धि हुँदै गएको देखिएको छ। तर आइएसएम म्यानुफ्याक्चरिङ बिजनेस सर्भे कमिटीका अध्यक्ष टिमोथी फियोर भन्छन्- 'जटिल किसिमका तथा अत्यावश्यक साना कच्चा पदार्थको अभाव, ढुवानीको समस्याका साथै प्रत्यक्ष कामदारहरुको अभाव अझै पनि फ्याक्ट्रीहरुलाई प्रभावित बनाइरहेको छ।'

'यो समस्यालाई हामीले अल्पकालीन मात्र रहने देखेका छौं। तर पनि उत्पादनको पीएमआई इन्डेक्स चीन र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ। चीनको सन्दर्भमा हेर्दा यो भाइरस संक्रमणका कारण मात्र हो भन्ने अवस्था छैन।'- प्रोपर्टी सेक्टरमा देखिएको चिसोपना तथा वैदेशिक मागमा आएको कमीका कारण पनि चीनमा यो अवस्था आएको म्याकआडम बताउँछन्।

चीन मात्र होइन अमेरिकाको उत्पादन क्षेत्रको गतिविधि पनि जनवरीमा १४ महिना यताकै न्यून भएको तथ्यांकले देखाउँछ।

अमेरिकाको राष्ट्रिय फ्याक्ट्री गतिविधि हेर्ने इन्स्टिच्यूट फर सप्लाइ म्यानेजमेन्ट आईएसएम इन्डेक्स जनवरीमा ५७.६ रह्यो, जुन सन् २०२० को नोभेम्बर महिनायताकै न्यून हो। डिसेम्बरमा त्यो सूचक ५८.८ थियो।

कोभिड महामारीकै कारण अमेरिकाको राष्ट्रिय ऋणले ऐतिहासिक वृद्धि देखिएको छ। अमेरिकी सरकारले प्रकाशित गरेको तथ्यांक अनुसार सरकारले अर्थतन्त्रको संकटलाई मत्थर पार्न वासिङटनले गरेको तीव्र खर्चका कारण राष्ट्रिय ऋण उच्च भएको बताइएको छ। सन् २०१९ यता अमेरिकाको राष्ट्रिय ऋणमा ७ ट्रिलियन डलरले वृद्धि भइसकेको छ। पछिल्लो तथ्यांक अनुसार अब यो बढेर ३० ट्रिलियन डलरभन्दा माथि पुगिसकेको छ।

जेपी मोर्गन एसेट म्यानेजमेन्टका प्रमुख ग्लोबल स्ट्राटेजिस्ट डेभिड केलीले राष्ट्रिय ऋणमा वृद्धि हुनु अल्पकालीन संकट नभई दीर्घकालमा अमेरिकीहरु अझ गरिब हुँदै जाने बताए।

'ट्रम्प प्रशासनका बेला राष्ट्रिय ऋण झण्डै २० ट्रिलियन डलर थियो। कोभिडले यो समस्यालाई अझै तीव्र रूपमा बढाउन पुग्यो। हामीले यस्तो संकटकालीन समयको सामना गर्नुपर्‍यो, जहाँ करोडौं डलर खर्च गर्नैपर्ने बाध्यता थियो। तर वित्तीयरूपमा हामीले भोगिरहेको संरचनागत समस्या भने कोभिड महामारीभन्दा धेरै अघिको हो।'- पिटरसन फाउण्डेसन का सीइओ माइकल पिटरसन भन्छन्। 

विश्वका दुई ठूला अर्थतन्त्रहरुभन्दा बाहिर भने मुख्य विकसित बजारहरुमा उत्पादनका सूचकहरु बढेको छ भने मुख्य उदाउँदा बजारहरुमा ओमिक्रोनले छोएको जस्तो मात्र प्रभाव देखिन्छ।

ओमिक्रोनले सीमित मात्रामा मात्र उत्पादनलाई प्रभावित बनाएको भए पनि भाइरस वेभ उच्च स्तरमा पुगेको र कतिपय देशहरुमा उच्च स्तरमा पुगी घटिसकेकोले पनि विश्वभरका उद्योगहरु चाँडै नै राम्रो समय आउनेमा आशावादी छन्।

गत जनवरीमा जापानको उत्पादन गतिविधि बिगत ८ वर्ष यताकै तीव्र स्तरमा वृद्धि देखिएको छ। नयाँ माग र बलियो उत्पादनले गर्दा जापानको उत्पादन क्षेत्रमा राम्रो अवस्था देखिएको हो। तथापि उद्योगहरुले निरन्तर रुपमा आपूर्ति संजालमा देखिएको गतिरोधको सामना गरिरहेकाले लागत बढ्ने दबाब भने देखिएको छ।

जापानको उत्पादन गतिविधिमा सन् २०१४ को फेब्रुअरी यताकै तीव्र वृद्धि भएको देखिएको छ। जापानमा लगातार १२ महिनादेखि उत्पादन गतिविधिमा विस्तार देखिएकोले उत्साहित बनाएको देखिन्छ।

'जापानी उत्पादन कम्पनीहरुले सन् २०२२ मा दह्रो उत्साहका साथ बजार प्रवेश गरेका छन्।'- आइएचएस मार्किटका अर्थशास्त्री उस्मा भाट्टी बताउँछन्।

तर आपूर्ति संजालमा देखिएको अवरोध सन् २०२२ को सुरुवातमा बिस्तार हुने देखिन्छ जसले डेलिभरी समयलाई अझै लम्ब्याउने निश्चित भएको अर्थविद्हरुको भनाइ छ।

यूरोजोनका उत्पादन गतिविधिहरुपनि बिगत एक महिनादेखि बढिरहेको देखिन्छ। 'बोटलनेक' केही खुकुलो भएसँगै उत्पादन गतिविधिमा वृद्धि भएपनि यूरोजोनका सबै सदस्य राष्ट्रहरु तथा उद्योगमा समान रुपमा यो सुधार भने देखिएको छैन। अझै पनि केही राष्ट्रहरु उच्च मुद्रास्फीति दबाब थेगिरहेको देखिन्छ।

'यसअघिका कोभिड-१९ को लहरहरुको समयमा भन्दा ओमिक्रोनको असरलाई यूरो जोनका उत्पादकहरुलाई पहिलेभन्दा कम असर गरेको छ। जनवरीमा यूरो जोनका कम्पनीहरुले उच्च उत्पादन तथा मागमा सुधार गरेको तथ्यांकले देखाउँछ।'- आइएचएस मार्किटका चीफ बिजनेस इकोनोमिस्ट क्रिस विलियमसनले बताउँछन्।

यूरोजोनमा सुधार देखिन्छ तर यो सबै राष्ट्रहरुमा समान रुपमा लागू भएको छैन। जर्मनी, नेदरल्याण्ड र अष्ट्रियामा यो तीव्र वृद्धिको बाटोमा छ भने इटाली, स्पेन र ग्रीसमा मन्द गतिमा तथा फ्रान्समा झण्डै ठप्प अवस्थामा देखिन्छ।

जनवरीको तथ्यांक हेर्ने हो भने जर्मनीको उत्पादन क्षेत्रमा ६ महिनामै पहिलोपटक वृद्धि देखियो। सप्लाइमा देखिएको बोटलनेक खुकुलो हुने बित्तिकै उत्पादकहरुले बढ्दो मागलाई पूरा गर्ने गरी उत्पादन गरे।

'गत महिनामा सामाग्रीको अभाव नभएको सत्य हो। कम्पनीहरुले आफ्नो ब्याकलग पूरा गर्न पनि मन्द गतिकै रफ्तार देखिएको थियो। तर सप्लायरको डेलिभरी टाइममा भने अझै पनि सामान्य सुधार समेत देखिएको छैन। कम्पनीहरु उनीहरुको अन्तिम उत्पादनको स्टक रित्याउँदै उनीहरु मागलाई पूरा गरिरहेका छन्।'- म्याकआडमले भने।

विश्व बजारको अभाव अझै पनि कायमै रहेकाले लागतमा यसले दबाब पारिरहेको अर्थविद्हरुको ठम्याइ छ। गत वर्ष उत्पादित वस्तुको मूल्यमा वृद्धि देखिए पनि विश्वस्तरमै वस्तुको लागत मूल्यको सन्तुलन भने बिग्रिएको छ। म्याकआडमको अध्ययन अनुसार उत्पादित वस्तुको अन्तिम मूल्य सन्तुलन फर्किएको देखिन्छ । तर यसबाट के बुझिन्छ भने कम्पनीहरुले आफ्नो उत्पादनको मूल्य लिनका लागि यसरी कसरत गरिरहेका छन्, जसले फेरि विश्व बजारमा मुद्रास्फीति बढाउन थप दबाब दिनेछ।