दुबई एक्स्पो १९० भन्दा धेरै देशको लागि अवसर बन्दै, १७ लाखले अवलोकन गरे नेपाली मण्डप



२०७८ माघ २५ गते ११:०५ | Feb 8, 2022


दुबई एक्स्पो १९० भन्दा धेरै देशको लागि अवसर बन्दै, १७ लाखले अवलोकन गरे नेपाली मण्डप


काठमाडौं। कोभिडका कारण रोकिएको दुबई एक्स्पो २०२० मा नेपाली परम्परा, संस्कृति, आविष्कार, कलालगायतका बिबिध प्रदर्शनी भइरहेको छ। हरेक पाँच वर्षमा आयोजना हुने गरेको यो एक्स्पो यसपटक तोकिएको समयभन्दा दुई वर्ष पछि आयोजना भएको हो।

Tata
Global Ime

दुबईको पहिचानलाई थप उचाई दिएको यो एक्स्पो सहभागी हरेक देशका लागि आर्थिक विकासका लागि विश्व बजारमा पहुँच पुर्याउने अवसर बनेको छ। ब्युरो इन्टरनेशनल एक्पोजिशन अन्तर्गत 'दुबई एक्स्पो'मा यतिखेर एक सय ९२ देशहरुले आफ्नो वैज्ञानिक, सांस्कृतिक, परम्परा प्रदर्शन गरिरहेका छन्।

लगातार ६ महिनासम्म चल्ने यो एक्स्पोमा सामानहरुको किनबेच भने हुँदैन। करिब चार दशक यता नेपालको संस्कृति, परम्परा, आविष्कार, उर्जा, कृषि, पर्यटन लगायतको पहिचान र प्रवर्द्धनमा यो मेलाले निकै सघाउ पुर्याएको आयोजक कम्पनी आइइजी(इम्प्लिमेन्टेशन एक्सपर्ट ग्रुप)ले जनाएको छ।

एक्स्पोमा नेपालमै तयार गरेर लगिएको मच्छिद्रनाथको मूर्तिको सांस्कृतिक प्रदर्शनी गरिएको छ। पानी पार्ने देवताका रुपमा पूजिँदै आएको मच्छिन्द्रनाथको जात्रालाई एक्स्पोमा देखाइएको थियो।

‘आपसी सम्पर्क र सम्बन्धबाट समुन्नत भविष्य’ नारा रहेको एक्स्पो आगामी मार्चसम्म सञ्चालन हुनेछ। एक्स्पोमा नेपाली कला कौशल संस्कृति झल्किने नेपाली मण्डप तयार पारिएको छ। उक्त एक्स्पो हालसम्म करिब १७ लाख दर्शकले अवलोकन गरिसकेको आयोजक कम्पनी आइइजीले जनाएको छ।

अक्टोबरबाट मार्च अन्तिम सम्म आयोजना हुने यो अन्तर्राष्ट्रिय प्रदर्शनीमार्फत मुलकको आर्थिक विकासका लागि कृषि, उर्जा, पर्यटन, जडिबुटी, खनिजलगायत क्षेत्रमा वैदेशिक लगानीलाई उत्प्रेरित गरिँदै आएको ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले बताए।

विश्वभरका मुलुकहरुबीच आपसी निकटता विस्तार गर्नुनै यो अन्तर्राष्ट्रिय प्रदर्शनीको मूख्य भएको राष्ट्रिय संयोजक शाहको भनाई छ।

उनले भने,'यो व्यापार मेला होइन। यहाँ सहभागी विभीन्न मुलुकले आफ्नो संस्कृति, वैज्ञानिक आविष्कार लगायत प्रदर्शनी गरिँदै आइएको छ। एक आपसको उपलब्धी अवलोकन सँगै दुईपक्षिय आर्थिक स्तरोन्नती गर्ने अवसर हो।'

महोत्सवमा गत बिहीबार नेपालले आफ्नो दिवस मनाउने क्रममा नेपाल र भारतबीचको रेशमको ब्यापारबारे प्रस्तुति दिएको उनले जानकारी दिए। चीन र भारतलाई जोड्दै विश्व व्यापारमा महत्वपूर्ण भुमिका खेल्दै आएको नेपालले उर्जा, पर्यटन, जडीबुटी, खनिज लगायत विभीन्न क्षेत्रमार्फत अन्तर्राष्ट्रिय बजारको माग पूरा गर्न सकिने सन्देश पनि एक्स्पोमा उनले बताए।

नेपाल दिवसको दिन मीननाथ, मछिन्द्रनाथ, सेतो मछिन्द्रनाथ, विस्केट जात्रा, दोलखा भिमसेन जात्रा लगायत आयोजना गरिएको थियो। 'हामीले फेब्रुअरी दुई तारिखमा आफ्नो संस्कृति झल्किने पाँचवटा जात्रा आयोजना गरेका थियौँ। काष्ठमण्डप निर्माण गर्ने उद्धेश्य थियो। तर कोभिडका कारण यताबाट कालीगढ लगेर निर्माण सुरु गर्न पाइएन।'- उनले भने।

नेपाल दिवसका दिन दुबईमा रहेका एकसयभन्दा धेरै नेपालीहरुले आ-आफ्नो सांस्कृति पहिरनमा सहभागिता जनाएका थिए।

६ महिनाको अवधिमा यो एक्स्पो २५ लाखभन्दा बढीले अवलोकन गर्ने प्रक्षेपण गरिएको छ।

विश्वभर मानव समुदायले हासिल गरेकोल वैज्ञानिक, सांस्कृतिक प्रदर्शनीका लागि सन् १८५१ देखि लण्डनको क्रिष्टल प्यालेसबाट यो अभियान सुरु भएको हो। हरेक पाँच वर्षको फरकमा विभीन्न मुलुकमा गरिँदै आइएको छ।

आइइजीको संयोजकत्वमा सन् १९८३ बाट सहभागी हुन सुरु गरिएको यो १२औं प्रदर्शनी हो। शाहका अनुसार आउँदो सन् २०२५ मा यो प्रदर्शनी जापानको ओसाकामा आयोजना हुने घोषणा भइसकेको छ।

तस्बिरमा यस्तो छ नेपाली मण्डपः