भारतका कोइला टाइकुन गौतम अडानी एशियाकै धनाढ्य बनेका छन्। सौर्य उर्जाको क्षेत्रमा आएको उछाल र गौतम अडानीको ग्रीन इनर्जी क्षेत्रमा भएको लगानीका कारण उनको सम्पत्तिमा बृद्धि भएको हो।
५९ वर्षिय गौतमको कुल सम्पत्ति हाल ८८.५ अर्ब डलर रहेको छ। पोर्ट, एरोस्पेस, थर्मल इनर्जी र कोइला लगायतका बिबिध क्षेत्रमा गौतमको कम्पनीको ठूलो लगानी र बलियो पकड रहँदै आएको छ।
विश्वको अन्य डलर अर्बपतिहरुको जस्तै अडानीको सम्पत्ति पनि कोभिड महामारीकै समयमा आकासिएको देखिन्छ। गत वर्ष उनको सम्पत्ति ४० अर्ब डलरभन्दा कम थियो। यति छोटो अवधिमै उनको सम्पत्तिमा भारी बृद्धि भएको हो।
उनका कम्पनीहरुले महामारीको समयमा शेयर बजारमा राम्रो प्रदर्शन गरेको थियो। नेशनल स्टक एक्सचेन्जमा अडानी इन्टरप्राइजेजका शेयरहरुले १००० प्रतिशतभन्दा धेरै बृद्धि भएको थियो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक विकासका लक्ष्य पूरा गर्न बारम्बार भन्दै आएको पूर्वाधार तथा नवीकरणीय उर्जाको क्षेत्रमा अडानीको आक्रमक लगानी क्षमताका कारण शेयर बजारका लगानीकर्ताहरु कम्पनीप्रति आशावादी देखिएका हुन्।
ब्लुमबर्ग इन्डेक्सका अनुसार अब अडानी विश्वकै धनाढ्यको सूचीमा दशौं नम्बरमा रहनेछन्। यसै सूचीमा यसअघि एशियाकै धनाढ्य रहेका अर्बपति मुकेश अम्बानी ११ औं स्थानमा छन् र उनको नेट वर्थ ८७.९ अर्ब डलर रहेको छ।
यसै वर्षको कमाइका कारण अडानीले अम्बानीलाई उछिन्न सकेका हुन्। यस वर्ष उनको नेटवर्थमा १२ अर्ब डलर बृद्धि भयो। यसै अविधमा मुकेश अम्बानीको नेटवर्थमा भने २.०७ अर्ब डलरको गिरावट आयो।
गुजरातको अहमदाबादमा जन्मेका गौतमको परिवार सामान्य परिवारबाट माथि उठेका थिए। उनी गुजरात युनिभर्सिटीबाट विकम पास नगरीकनै मुम्बई पसेका थिए।
उनले त्यहाँ हिराको पसलमा केही समय काम गरे। लगत्तै आफ्नै ब्रोकरेज फर्म खोलेर कारोबार सुरु गरेका थिए।
केही वर्ष मुम्बईमा बिताएपछि उनी फेरि अहमदाबाद फर्किएर आफ्नो दाजुक प्लास्टिक फ्याक्ट्रीमा काम गर्न थाले। त्यहीँबाट उनले पीभिसी पोलीवनाइल क्लोराइडको आयात कारोबार गर्ने निर्णय गर्दै ग्लोबल ट्रेडिङमा प्रवेश गरे। पीभिसी प्लास्टिक बनाउनका लागि ठूलो मात्रामा प्रयोग हुने गर्छ। पिभिसी आयात ब्यापारम बृद्धि हुँदै गएपछि सन् १९८८ मा अडानी ग्रुप आधिकारिक रुपमा स्थापना भयो। सन् १९९१ को आर्थिक सुधारको अवधिमै अडानी ब्यापार बिबिधिकरण गर्दै मल्टिनेशनल उद्यमी बन्न सफल भए। सन् १९९५ अडानीका लागि अत्यन्तै सफल सावित भयो जब उनको कम्पनीले मुन्द्रा पोर्ट संचालनको सम्झौता हासिल गर्यो।
गौतमले आफ्नो ब्यापारमा बिबिधिकरण जारी नै राखे। यसै क्रममा सन् १९९६ मा अडानी पावर लिमिटेड स्थापना भयो जसको १० वर्षमा कम्पनी पावर जेनरेसन बिजनेसमा स्थापित भयो।
हाल अडानीको कारोबार बिबिध क्षेत्रमा बिस्तार भैसकेको छ। कोइलाको खानीको सबैभन्दा ठूलो माइनरका रुपमा उनकै कम्पनीलाई लिइन्छ भने गत तीन वर्षमा भारतका सातवटा एयरपोर्टको संचालनको जिम्मा उनकै कम्पनीले पाएको छ। गौतम अडानीको ग्रुप भारतको निजी क्षेत्रकै सबैभन्दा बढी एयरपोर्ट अपरेटर, पावर जेनरेटरका साथै सिटी ग्यासको रिटेलर पनि हो।
उनीसँग भारतकै सबैभन्दा प्रभाकारी मानिएको कोल बेस्ड पावर प्लान्ट पनि छ। मुन्द्रा बंदरगाहमार्फ उनको कम्पनीले पोर्ट सेक्टरमा आफ्नो बलियो उपस्थिती जनाइरहेको छ। सिमेन्ट कारखानादेखि लिएर रोड कन्सट्रक्सन डिफेन्स प्रोडक्सन तथा रेलवेमा लगानीमा पनि अडानीको नजर रहेको छ।
अडानीको कम्पनी ग्रीन इनर्जीले हालै ७० अर्ब डलरको थप लगानीको घोषणा गरेको छ। यसकालागि अडानी न्यू इन्डस्ट्रिज लिमिटेड नामक नयाँ कम्पनी खोलेर उनले सन् २०२५ सम्ममा आफ्नो उर्जा क्षमतालाई आठगुना बढाउने लक्ष्य राखेर काम अघि बढाएका छन्।