जागिर गुमेपछि पूजा र सुस्मिताले खोलेको ‘मिदास टच’, घरमै पुगेर सेवा दिने सैलुनले बनायो सफल



२०७८ फागुन २५ गते १३:५२ | Mar 9, 2022


जागिर गुमेपछि पूजा र सुस्मिताले खोलेको ‘मिदास टच’, घरमै पुगेर सेवा दिने सैलुनले बनायो सफल


काठमाडौं। दुई वर्षअघि कोभिड महामारी सुरु हुँदासम्म पूजा अग्रवाल र सुस्मिता गौतम काठमाडौंकै एक कम्पनीमा काम गर्थे। उनीहरुले काम गर्ने ओयो नेपाल कम्पनीले महामारीबाट प्रभावित भएपछि रोजगारी कटौती गर्‍यो। भर्खरै करिअर सुरु गर्दै गरेका दुवैको जागिर पनि गुम्यो। त्यो बीचमा उनीहरु क्लोजिङका लागि अफिस भने गइ नै रहेका थिए।

Tata
Global Ime

'काम सकेपछि हामी केही समय सम्भावित बिजनेस आइडियाबारे छलफल गर्थ्यौं |'- २९ वर्षकी पूजालाई करिअर ग्रोथको चिन्ता थियो भने २५ वर्षमै बेरोजगार बन्न सुस्मितालाई पनि मञ्जुर थिएन। उनीहरु दुवै के काम गर्न सकिन्छ भनेर दिमाग खियाउन थाले।  

सानैबाट सेल्फ केयर र सौन्दर्यतिर निकै झुकाव भएकी पूजा भन्छिन-'लकडाउनको समय थियो, मानिसहरुसँग टन्नै समय त थियो तर कोही पनि पार्लर वा सैलुनतिर जान पाएका थिएनन्। मेरो जस्तै धेरै महिलाहरुको रोजगारी मात्र होइन, ब्युटी र हेयर केयर रुटिन पनि महामारीले नराम्ररी बिगारेको थियो |'

त्यसैबेला पूजाले सोचिन् 'चुपचाप यसरी घरमा बस्नुभन्दा घरघरमा ब्युटी सैलुन पुर्‍याउन पाए त धेरै महिलाहरुलाई सजिलो हुन्थ्यो होला !' पूजा र सुस्मिताले होम सैलुनको व्यवसाय अघि बढाउने सोच बनाए। तर यसको लागि मार्केट रिसर्च जरुरी थियो।  रोजगारी गुमेकाले फुर्सद पनि टन्नै। उनीहरुले चार महिना मार्केट रिसर्चमै बिताए।

२०७७ असोजमा उनीहरुले 'मिदास टच ब्युटी सर्भिस' लञ्च गरे, जसले घर घरमै पुगेर पार्लर र सैलुनको सेवा दिन्छ |

जागिर गुमेपछि बने व्यवसायी

ब्युटी सर्भिसमा निकै रूचि भएकी पूजा पहिलेदेखि नै सौन्दर्यसम्बन्धी आर्टिकलहरू पढ्ने र भिडियोहरू हेर्ने गर्थिन् | तीन वर्ष पहिले दिदी भेट्न भारत जाँदा पहिलो पटक उनले यस्तो सेवा दिदीको घरमै लिएकी थिइन्। त्यो बेलै उनलाई नेपालमा पनि यस्तै काम गर्ने सैलुनहरु भइदिए कति सजिलो हुन्थ्यो भन्ने लागेको थियो। फर्केपछि काममा तल्लिन भइन्। जब रोजगारी गुम्यो, अनि मात्र उनले त्यही सोचलाई व्यवसायमा बदल्ने सपना देखिन्।

'लकडाउनले जागिर गुम्यो। त्यसमाथि सैलुनहरु बन्द हुँदा न कपाल काट्न पाइयो न थ्रेडिङ नै गर्न । त्यही लकडाउनले हामीलाई बेरोजगार पनि बनायो, व्यवसाय थाल्ने किक पनि त्यहीँबाट मिल्यो।'- पूजाले सुनाइन्।

मार्केट रिसर्च गर्दा उनीहरुले एक सय कामकाजी महिलाहरुलाई एउटा प्रश्नावली बनाएर बाँडेका थिए।

ग्राहकहरूले घरमै सौन्दर्यसम्बन्धी सेवा प्राप्त गर्दा कस्तो प्रतिक्रिया दिन्छन् भनेर बुझ्ने उनीहरुको आशय थियो। त्यस क्रममा ७० प्रतिशत महिलाले आफ्नो व्यस्तताका कारण सैलुन जान नपाएको र आफ्नो हेरचाहको लागि समय नभएको बताए। उनीहरुले महामारीका बेलामा बाहिर जानुभन्दा घरमै सैलुन सुविधा लिन पाउनुलाई उत्साहजनक समर्थन जनाएका रहेछन्। त्यसपछि उनीहरुले ग्राहकहरुले कस्तो कस्तो सेवाहरु बढी खोज्ने रहेछन् भनेर बुझ्न अर्को सर्वेक्षण पनि गरेपछि मात्र काम थालेका हुन्।

सबैभन्दा पहिले उनीहरुले मिदास टचको इन्स्टाग्राम पेज बनाएर सफ्ट लन्च गरे | पूजा र सुस्मिताले आफैंले कमाएको पैसाबाट पाँच लाख रुपैयाँ लगानी गरेर यो व्यवसाय सुरु गरेका हुन्।

व्यावसायिक परिवारबाट आएकी पूजालाई उनका बुवाले काम गर्न निकै हौस्याए। बुवाले व्यवसायको बारेमा धेरै सल्लाह र सुझावहरु दिने गरेको उनी बताउँछिन्।

ग्रीक पौराणिक कथाका प्रख्यात राजा मिदासबाट आफ्नो व्यवसायका नाम राखेका पूजा र सुस्मिताले आफ्नो कामबाट सेवाग्राहीलाई गोल्डेन टच दिने उद्देश्य रहेको बताउँछन्।

'मिदासले छोएका सबै चीज सुनमा परिणत गर्ने क्षमता थियो। हाम्रा ब्युटिसियनहरुले ग्राहकलाई घरमै गएर दिने सेवाबाट गोल्डेन टच दिनेमा ढुक्क छौं।– उनीहरुले सुनाए।

होम सैलुन अवधारणा बुझाउनै सास्ती

व्यवसाय सुरुवातको तीन महिनासम्म मिदास टचले हेयर केयर सर्भिस मात्रै दियो। नेपालीहरूको लागि होम सैलुनको सेवा एकदमै नयाँ कन्सेप्ट पनि हो। बजारमा होम सर्भिस दिने एक दुई ब्युटी सैलुन सुरु भए पनि आम सेवाग्राहीलाई होम सैलुनको बारेमा उति धेरै थाहा थिएन। सुरुवाती महिनाहरु पूजा र सुस्मिताले पनि होम सैलुनबारे बुझाउँदै बिताए।

बजार बुझ्दै जाँदा स्किन केयर, नेल केयर र मेकअपको माग भएको उनीहरुले पत्ता लगाए। त्यसै अनुसार मिदासले आफ्ना सेवाहरु बिस्तार गर्दै गए। सन् २०२१ को जनवरी महिनादेखि भने मिदासको होम सर्भिस पूर्णरूपमा संचालनमा आयो।

'सुरुमा त हामीलाई ब्युटिसियनहरु खोज्न पनि निकै गाह्रो भएको थियो। भाग्यवश, हामीले जहाँबाट सामान किन्न थाल्यो त्यही कम्पनीले हामीलाई ब्युटिसियन खोज्न पनि सघायो। जब हाम्रो इन्स्टाग्राम पेज बलियो हुँदै गयो ब्युटिसियनहरू आफैं हामीसँग जोडिँदै आउनुभयो।'- उनीहरुले आफ्ना संघर्षका दिनहरु सम्झिए।

मिदास टचले आफ्ना टच गुरुहरूलाई एक हप्ता तालिम दिएर मात्रै काममा लगाउने गरेको छ। ग्राहकले दिएको लोकेसनसम्म पुग्न गुगल म्याप कसरी प्रयोग गर्नेदेखि लिएर ग्राहकको घरमा पुगेर कसरी सेवा दिने भन्ने कुराहरु उक्त तालिममा सिकाइन्छ।

'हामीले लिने सेवा शुल्क काठमाडौंमा पुराना र स्थापित ब्यूटी सैलुनले लिने शुल्कभन्दा तुलनात्मक रूपमा सस्तो भएकाले सुरुमा त ग्राहकहरूले हामीले प्रयोग गर्ने सामानहरूको गुणस्तरमै शंका गरे।'- पूजाले अनुभव सुनाइन्।

उनका अनुसार मिदास टचले ब्युटिसियनहरुलाई पीपीई सेट लगाएर पठाउने गर्छ र सेवाग्राहीहरू कै अगाडि सबै सामान सेनिटाइज गरेर मात्र काम सुरु गर्छ। त्यस क्रममा पूजा र सुस्मिता आफैं पनि सेवाग्राहीहरुको घरमा पुग्ने गरेका छन्। ब्युटिसियनलाई सहज बनाउनमात्र होइन सेवाग्राहीको प्रतिक्रिया पनि आफैंले लिन उनीहरु अघि सर्छन्। यसबाट ग्राहकको विश्वास जित्न सकिन्छ भन्ने आत्मविश्वास उनीहरुसँग छ।

बढ्दैछ व्यवसाय

व्यवसाय राम्ररी अघि बढिरहेकै समयमा गत भदौमा मिदास टचको इन्स्टाग्राम पेज ह्याक भयो। इन्स्टाग्राम पेजबाट हुने व्यापार ८० प्रतिशतसम्म थियो। त्यो समय उनीहरुको लागि एकदमै अप्ठेरो पनि बन्यो। व्यवसायलाई फेरि उठाएर पहिलेभन्दा बढी बिस्तार गरिसकेको पूजाले बताइन्।

एकजना ब्युटिसियनबाट सुरु गरेको मिदास टच नेपालमा अहिले दुईजना फुल टाइम र आठजना कमिसन मोडलमा काम गर्नेहरु आबद्ध छन्।

पूजाका अनुसार अहिले मिदास टचको मासिक आम्दानी तीन लाख रुपैयाँसम्मको हुने गरेको छ। उनीहरु ब्रेक इभन पोइन्टमा पुगिसकेका छन्।

पूजा भन्छिन्-'हामीले सुरु गर्दा हप्तामा दुईवटासम्म मात्रै अपोइन्टमेन्ट बुकिङ हुन्थ्यो । अहिले त दिनमा तीनवटा भन्दा बढी अपोइन्टमेन्टहरुको सर्भिस पूरा गर्छौं।'

हाल मिदास टचको सेवा लिन काठमाडौं बाहिरदेखि पनि निकै माग आउन थालेको छ। तर अबको एक वर्ष उनीहरु मिदास टचलाई काठमाडौं उपत्यकाभित्रै सीमित राखेर व्यवसाय गर्ने सोचमा छन्। काठमाडौंमा राम्रोसँग स्थापित भइसकेपछि मात्र उनीहरु अन्य शहरहरुमा पनि सेवा बिस्तार गर्दै जाने पूजा बताउँछिन्। उनी भन्छिन्- 'हामी अब आफ्नै अर्ग्यानिक कस्मेटिक्स लाइन सुरु गर्ने योजना पनि बनाइरहेका छौं।'