भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा ‘क्यूआर’ बाट भुक्तानी गर्नसक्ने, नयाँ क्यूआर स्ट्यान्ड



२०७८ फागुन २६ गते ११:५७ | Mar 10, 2022


भिसा नेटवर्कका पर्यटकले पनि नेपालमा ‘क्यूआर’ बाट भुक्तानी गर्नसक्ने, नयाँ क्यूआर स्ट्यान्ड


काठमाडौं। भिसा नेटवर्कमा जोडिएका पर्यटकले नेपालमा 'क्यूआर कोड' बाट वित्तीय कारोबार गर्न पाउने भएका छन्। नेपालको फोनपे नेटवर्कले भिसासँग मिलेर क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँचमा पुर्याएको हो।

Tata
Global Ime

केही समयअघिसम्म देशका ठूला मोबाइल वालेट खल्ति, प्रभुपेलाई समेत आफ्नो नेटवर्कमा भित्र्याएको फोनपेले विदेशी पर्यटकहरुलाई लक्षित गर्दै भिसासँगको कारोबारलाई पनि खुला गरेको हो। 

भिसा नेटवर्कबाट कारोबार गर्न सकिने मोबाइल माध्यम ‘एमभिसा’ प्रयोगकर्ताहरुले अब नेपालमा फोनपेको क्यूआर कोडबाटै मर्चेन्टलाई भुक्तानी गर्न सक्ने भएका छन्। आगामी दिनमा नेपाली बैंकहरुको आफ्नो मोबाइल बैंकिङ एपमा भिसा इनेबल गरेमा त्यसलाई पनि फोनपे नेटवर्कले सपोर्ट गर्नेछ।   

प्रयोगकर्ताहरु जसको मोबाइल बैंकिङमा भिसा नेटवर्क इनेबल छन् उनीहरुले सजिलै फोनपेको क्यूआर कोडबाट क्यासलेस कारोबार गर्न सक्ने फोनपेका सहायक प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जानकारी दिए। 

‘विदेशी जो नेपाल आउँछन् उनीहरुले अब फोनपेले बनाएको क्यूआरबाटै भुक्तानी गर्न सक्नेछन्। भिसा कार्ड होल्डरहरुले अब हाम्रो क्यूआरबाटै भुक्तानी गर्न मिल्ने गरी प्रणाली विकास गरेका छौं,’ सापकोटाले बिजमाण्डूसँग भने।

फोनपेले भिसासँग सेवा सुरु गर्न निर्णय गरेपनि बजारमा अहिले रहेका क्यूआर स्ट्यान्डले भिसा सपोर्ट भने गर्दैन। जसका लागि फोनपेले बजारमा वितरण गरेका क्यूआर स्ट्यान्डहरु परिवर्तन गर्दै लैजाने रणनीति अघि सारेको सापकोटाले जानकारी दिए।

‘बजारमा हामीले अहिले राखेका क्यूआर स्ट्यान्डहरुले भिसा नेटवर्क सपोर्ट गर्दैन। अब आउने नयाँ क्यूआरहरुमा भने हामीले भिसा सपोर्ट गर्नेगरी पठाउँछौं। अहिले रहेका क्यूआर स्ट्यान्डहरुलाई हामी विस्तारै प्रतिस्थापन गर्दै लैजान्छौं,’ सापकोटाले भने। 

अहिले बजारमा रहेका क्यूआर कोड र भिसा सपोर्ट गर्ने क्यूआर कोडमा धेरै फरक भने हुँदैन। क्यूआर कोडमा हुने कन्टेन्टमा भिसा नेटवर्कलाई इनेबल गरेपछि मात्रै चल्ने भएकाले अहिले भएका क्यूआर स्ट्यान्ड फेर्नुपर्ने अवस्था रहेको फोनपेले जनाएको छ। भिसासँग अहिले मात्रै सम्झौता भएकाले फोनपेले यसअघि जारी गरेका क्यूआर स्ट्यान्डहरुमा त्यसको परिकल्पनानै गरेको थिएन। 

नेपालभर एटीएम कार्डबाट भुक्तानी गर्ने पस मेसिनको संख्या ३० हजार हाराहारी छ। बहुसंख्यक ठूला सुपरस्टोर वा रेष्टुरेन्टहरुमा पस मेसिन छ। पस मेसिन खर्चिलो हुन्छ भने लगाउनका लागि पनि समय लाग्छ। क्यूआर स्ट्यान्ड भने साधारण प्रिन्टरबाट छापेर पनि प्रयोग गर्न सकिन्छ। त्यसैले यो साना साना तरकारी पसलदेखि ठूलाठूला मल, होटल, रेष्टुरेन्टहरुमा पनि प्रयोगमा छ। 

'हाम्रो लक्ष्य भनेको ठूला सुपरस्टोरहरुमा मात्रै होइन, साना साना पसलहरुले पनि विद्युतीय भुक्तानी गरोस् भन्ने हो। विदेशीहरु नेपाल आएपछि सानो खाजा घरले पनि भिसा नेटवर्कबाट क्यूआरको प्रयोग गरी भुक्तानी लिन सक्छु भन्ने हुन्छ,’ सापकोटाले भने, ‘पर्यटकहरु घुम्न टाढाटाढा जान्छन्, त्यस्तो स्थाहरुमा कार्डबाट भुक्तानी गर्न सक्ने अवस्था हुँदैन। पैसा नै झिकेर तिर्नुपर्ने हुन्छ। ती स्थानहरुलाई पनि हामी लेसक्यास बनाउन यो स्टेप चालेका हौं।’  

पछिल्लो समय नेपालका अधिकांश ठूला मोबाइल वालेट खल्ति, प्रभुपे, आइएमइ पे, इसेवालगायतलाई आफ्नो नेटवर्कमा भित्र्याएको फोनपेले विदेशी पर्यटकलाई लक्षित गर्दै भिसासँगसमेत कारोबार सुरु गर्ने वातावरण निर्माण गर्न सफल भएको जनाएको छ। यसको औपचारिक थालनी भने बिहीबार साँझबाट हुने छ।

दुई वर्षअघि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट छन्। बैंक तथा वित्तीय संस्था एवम् भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएको कम्पनीले जनाएको छ।

दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध भइसकेका छन्। फोनपे विश्वविख्यात डेटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डेटा सुरक्षा मापदण्ड’ पीसी आइडी एसएस भी.थ्री.टु.वान प्रमाणीकरण प्राप्त संस्थासमेत हो।