काठमाडौं। होटल सोल्टीमा पन्जाबी फुड फेस्टिभल भइरहेको छ। पन्जाबका ढाबाहरुले पस्किने मौलिक परिकारलाई होटलमा अनुभव गर्न पाइने छ। पाहुनालाई पन्जाबी परिकारको स्वाद दिने उद्देश्यले महोत्सव आयोजना गर्दै आएको होटलले जनाएको छ।
गत शुक्रबार (मार्च ११) बाट सुरु भएको महोत्सव १७ दिनसम्म आयोजना हुने होटलकी प्रबन्धक प्रतीक्षा बस्नेतले बताइन्। उनका अनुसार ग्राहकले हरेक साँझ ७ बजेदेखि राति १०:४५ बजेसम्म पन्जाबी परिकारको सेवा लिन सक्नेछन्।
यो महोत्सवमा ग्राहकले भेज र नन्-भेज पन्जाबी परिकारको स्वाद लिन सक्ने जनाइएको छ। होटलले अधिकांश 'ढावा' मा तयार गरिने परिकार पस्किने जनाएको छ। यो महोत्सवमा सहभागीका लागि उपहारको पनि व्यवस्था छ। सहभागी ग्राहकमध्ये एकले जजिरा एयरवेजको दुईतर्फी टिकट जित्न सक्नेछन्।
महोत्सव सिख गुरुद्वाराका अध्यक्ष सरदार प्रितम सिंह, होटलका कार्यकारी अध्यक्ष दीनेशबहादुर विष्ट र बोर्ड अफ डाइरेक्टर जय राज्यलक्ष्मीले महोत्सव उद्घाटन गरेका हुन्।
कोभिड-१९ को संक्रमण नियन्त्रणमा आएसँगै पछिल्लो समय भारतीय र अरु मुलुकबाट आउने पर्यटकको सहभागिता क्रमिक रुपमा वृद्धि हुँदै आएको जनाइएको छ।


