
काठमाडौं। नेपाली बजारमा सामसङको नयाँ ग्यालेक्सी एस २२ सिरिजको बिक्रीवितरण सुरु भएको छ।
सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस २२ स्मार्टफोनहरु आजदेखि विश्वभर उपलब्ध भएको जनाउँदै यसको मागले रेकर्ड नै कायम गरेको जानकारी दिएको हो। सामसङ नेपालका निर्देशक प्रणय स्थापितले नेपालमा पनि ग्यालेक्सी एस २२ सिरिजको माग उच्च रहेको जानकारी दिए।
'उपकरणहरु पहिले नै सबैभन्दा लोकप्रिय ब्राण्ड बनेकोमा हामी अत्यन्त हर्षित छौं,' उनले भने, 'सामसङका नयाँ उपकरणहरुले ग्यालेक्सीका पारखीहरुका लागि अधिकतम रोजाइहरु प्रदान गर्नुका साथै यी उपकरणहरुले पूरा ग्यालेक्सी इकोसिस्टममा पहुँच र साझेदारहरुसँग वास्तविक रुपमा जोडिएको अनुभव पनि दिनेछ।'
ग्यालेक्सी एस २२ र एस २२+ ले अतुलनीय नाइटोग्राफी र ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोहरु र फोटोहरुका लागि एआइ उन्नत प्रविधि रहेको उनले बताए।
पहिले ग्यालेक्सी नोटमा मात्र उपलब्ध एस पेन अहिलेको सेटमा पनि छ। ग्यालेक्सी एस २२ अल्ट्राले स्मार्ट फोनहरुका लागि एक नयाँ अध्याय शुरु गरेको उनको भनाइ छ।
ग्यालेक्सी एस २२ अल्ट्रा १२ जीबी र्याम र २ प्रकारको आन्तरिक मेमोरीका साथ उपलब्ध छ। ५१२ जीबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस २२ अल्ट्राको बजार मूल्य एक लाख ६९ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
यसैगरी २५६ जीबी आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस २२ अल्ट्राको बजार मूल्य एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ। ग्यालेक्सी एस २२ अल्ट्रा कालो, हरियो र बर्गण्डी लगायत तीन आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
यसैगरी ग्यालेक्सी एस २२+मा ८ जिबि र्याम र २५६ जीबी आन्तरिक मेमोरी छ, जसको मूल्य एक लाख २९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यी सेटहरु कालो, सेतो र हरियो रंगमा उपलब्ध छ।
८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी भएको आधार मोडल ग्यालेक्सी एस २२ को मूल्य १ लाख १२ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ। यो मोडल कालो, सेतो र हरियो रंगमा पाइने कम्पनीले जनाएको छ।