१६ महिलाको टोलीले बनायो एआईमा आधारित कृषि एप ‘साथी, माटो गुणस्तर अध्ययन गर्ने



२०७८ चैत्र १४ गते १०:४८ | Mar 28, 2022


काठमाडौं। खेतीपातीमा आइपर्ने विभिन्न समस्याहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट पहिचान गरी समाधान गर्न  'साथी' एप आएको छ।

Tata
Global Ime

महिला विकास समाज (वुमन डेभलपमेन्ट सोसाइटी- वोडेस) अन्तर्गत सक्रिय महिला प्राविधिकहरूको समूह 'इम्प्याक्टर्स' ले सूचना प्रविधि विज्ञ लचना हाडाको सुपरिवेक्षणमा उक्त डिभाइस तयार पारेको हो।

परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभावका कारण दिन प्रतिदिन ओरालो लाग्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्न एआईको प्रयोग उपयोगी हुने विश्वास गरिएको छ।  

कम्प्युटर विज्ञान, विशेषगरी मेसिन लर्निङ र एआई, इलेक्ट्रिकल इञ्जिनियरिङ र कृषि विज्ञानको सहायताबाट निर्माण गरिएको साथी डिभाइसले नेपाली किसानलाई आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ।

परीक्षणको नतिजा पाउन लामो समय कुनुपर्ने अवस्था अन्त्य गर्दै स्थलगत रूपमै तत्कालै परीक्षणको नतिजा पाउन सकिने इम्प्याक्टर्सले जनाएको छ। डिभाइसको प्रयोगबाट माटोको गुणस्तर पहिचान गर्न सकिने भएकोले कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने छनोट गर्न किसानलाई सक्षम बनाउने बताइएको छ।

बालीनालीको स्वास्थ्य सुपरिवेक्षण गर्न सहयोग गर्ने हँदा समयमै उपयुक्त उपचारका लागि पहल गर्न पनि सजग गराउने इम्प्याक्टर्सले जनाएको छ। अहिले एन्ड्रोइडमा मात्रै उपलब्ध साथी एप छिट्टै आइओएसमा पनि उपलब्ध हुने बताइएको छ। कृषिसम्बन्धी जटिल विश्लेषण गर्नसक्ने सेन्सरसहितको प्रोटोटाइपले माटो तथा बालीनालीसम्बन्धी तथ्याङ्क संकलन गर्ने इम्प्याक्टर्सले जनाएको छ।

उक्त सफ्टवेयरले बालीनालीमा लाग्ने २६ किसिमका रोगको पहिचान पनि गर्न सक्ने बताइएको छ। हाल यस डिभाइसले धान, गहुँ, केरा, गोलभेंडा, आलु, जुट तथा कफीलगायत २३ किसिमका बालीमा लागेको रोग पत्ता लगाउन सक्ने बताइएको छ।

यो प्रविधि सञ्चालन गर्न इन्टरनेट वा क्लाउड पूर्वाधार नचाहिने हुनाले दुर्गम क्षेत्रका किसानहरुले पनि यसलाई सजिलै प्रयोग गर्न सक्ने इम्प्याक्टर्सले जनाएको छ।

डिभाइसको व्यवसायिक उत्पादन गरेर नाफा कमाउनेभन्दा पनि यसलाई कृषि अनुसन्धानका लागि निःशुल्क दिने  इम्प्याक्टर्सले लिएको बताइएको छ।

कृषि क्षेत्रको समस्या पहिचानका लागि तयार गरिएको 'साथी' डिभाइस निर्माण टोलीमा १६ जना महिला विज्ञको संलग्न थिए।