
काठमाडौं। नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि नेपाली सांगीतिक समूह सुरसुधा र अन्तराष्ट्रिय समूह पिएफसिएफसँग सहकार्य गर्ने भएको छ।
नेपालको लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नका लागि सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग छलफल गरेको जनाएको छ।
पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र (पीएफसीएफ) सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक नन्दीनी लाहे थापाले बताइन्। ‘अहिले नेपालमा करिब ९० प्रतिशतले कोरोना विरुद्धको खोप लिइसकेको अवस्था छ। नेपाल पर्यटनका लागि फेरि खुला भएकाले अब पर्यटकीय गतिविधी चलायमान हुने अपेक्षा गरेका छौं ।’उनले भनिन्।
यसैगरी सुरसुधाका संस्थापक सुरेन्द्र श्रेष्ठले (पीएफसीएफ) ले विश्वभरका कलाकारहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै विश्व शान्तिको सन्देश दिँदै आएको बताए। संगीतको माध्यमबाट विश्वभर नेपाली पर्यटन प्रवर्द्धन गर्न सकिने उनले जानकारी दिए।
कार्यक्रममा (पीएफसीएफ) का सह संस्थापक विलियम औराले संगीत शान्ति सद्भाव र एकताको प्रतिक भएको बताउँदै नेपालको विविधिताबाट प्रभावित रहेको धारणा राखे। ब्याण्डका कार्यकारी निर्देशक ज्याक ग्रोसङले नेपाल कला र संस्कृतिका हिसावले धनी रहको उल्लेख गर्दै संगीतको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन हुनेमा आफु र आफ्नो टीम विश्वस्त रहेको बताए।
सुरसुधाले सन २००९ देखि प्लेईङ फर चेन्ज फाउण्डेशनसँगको सहकार्यमा नेपाली संगीतलाई विश्वमाझ पुयाउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । दुबै ब्याण्डको सहकार्यमा नेपाल तथा विश्वभर विभिन्न कार्यक्रमहरु समेत आयोजना हुने बोर्डले जनाएको छ।
पीएफसीएफले सन् २००७ मा चार महादेशको १४ देश तथा ५० स्थानहरुमा यस प्रकारका कार्यक्रम आयोजना गरेको थियो । यो समुहको विश्वभर दुई अर्बभन्दा बढी फलोअर रहेका छन् । संगीतका माध्यमबाट विश्वबन्धुत्व, चाइचारा आपसी सहकार्य र जनचेतनामुलक अभिवृद्धिका विभिन्न काम गर्न सकिने धारणा राखेको छ।