
काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘टुबोर्ग छैटौं राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता २०७८ को उपाधि नगरकोट दोहोरी साँझका प्रतियोगी जीवन सिग्देल र अस्मिता डल्लाकोटीले जितेका छन्। उक्त पुरस्कारको प्रायोजन जापान बसोबास गर्ने मनु थापाले गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा गामबेसी दोहोरी साँझका प्रतियोगी शान्ता वली र अर्जुन खड्काले दोस्रो स्थान हासिल गरेका छन्। यो पुरस्कारको प्रायोजन बिना बुढामगर, गौचन बुढामगरले गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा क्विन रोधी घरको प्रतियोगीहरु हरिमाया रायमाझी, रश्मी बस्नेत, श्याम राना र शर्मिला रायमाझीसँगै लुम्बिनी प्रदेशले बराबर नम्बर लिएर दुईवटै समुहले तेस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ। तृतीय पुरस्कारको प्रायोजन शिरफूल दोहोरी साँझले गरेको बताइएको छ।
चैत १६ बाट सुरु भएर २० गते प्रतियोगिता सकिएको थियो। आयोजकको कार्यतालिका अनुसार चैत १९ गते सम्पन्न गर्ने भनिए तापनि धेरै समूहको सहभागिता भएपछि एक दिन म्याद थपिएको हो। प्रतियोगितामा ६१ समूहबीच प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ।
प्रतियोगिताको पाँचौं दिन चैत २० मा अन्तिम चरणको प्रतियोगितासँगै चर्चित कलाकारहरुको प्रस्तुति राखिएको थियो।
आयोजकले सहयोगी, दातासँगै आजीवन सदस्यता लिनेहरुलाई सम्मान पनि गरेको थियो। अन्तिम चरणको प्रतियोगितामा जम्मा १२ वटा समूहबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा विजेताले शिल्ड, पदक, प्रमाणपत्र र नगद पुस्कार पाएका छ्न। प्रथमले २ लाख २५ हजार, दोस्रोले १ लाख ५० हजार, तेस्रोले १ लाख र सान्त्वना स्थान हासिल गर्नेलाई नगद ५० हजार रुपैयाँ नगद पुस्कार दिइएको आयोजकले जनाएको छ।
यस्तै, उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टिमलाई १० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको बताइएको छ। त्यसैगरी, प्रतियोगितामा भद्रकाली समूह (खेम नेपाली) उत्कृष्ट समूहको रुपमा छनोट भएको छ। उक्त समूहलाई ५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ।
त्यस्तै, अनुशासित समूह घोषित ओखलढुंगा प्रतिष्ठानले ५ हजार रुपैयाँसहित सम्मान पाएको छ। नवोदित गायिका दिलमाया बिक र गण्डकी प्रदेशका प्रतियोगी नवोदित गायक किशान बिकले ५/५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका छन्।
उत्कृष्ट गायक, गायिकाको पुरस्कार गण्डकी प्रदेशका प्रतियोगी सुमन खड्का र राजधानी दोहोरी साँझकी प्रतियोगी पुजा पुनले हात पारेका छन्। उनीहरूलाई ७/७ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको आयोजकले जनाएका छन्।
त्यसैगरी प्रतियोगीहरुमध्ये सबैभन्दा कान्छी गण्डकी प्रदेशकी अर्चना चापागाईंलाई पनि हौसलास्वरुप ७ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। प्रतियोगिता अवधिभर अनुशासित कलाकारको रुपमा पाँच हजार नगदसहित राजु लामिछानेलाई पुरस्कृत गरिएको आयोजकले जनाएका छन्।