काठमाडौं। नयाँ वर्षको अवसर पारेर पोखरामा फेवा महोत्सव हुने भएको छ। 'पर्यटन, संस्कृति र खाना' नाराका साथ १७ औं फेवा नववर्ष महोत्सव आयोजना हुन लागेको होटल संघ नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
होटल संघ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव हुन लागेको बताए।
कोभिड– १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरोत्थानकालागि चैत ३० गतेदेखि बैशाख १ गतेसम्म उक्त महोत्सव आयोजना हुन लागेको हो।
लेकसाइड त फिष्टेल गेटदेखि हल्लनचोकसम्मको मुख्य सडकमा महोत्सव संचालन हुने उनले जानकारी दिए।
कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगन भएपछि यसवर्ष नयाँ पनका साथ करिव ३ कि.मि. खुल्ला सडकमा महोत्सव आयोजना गर्न लागेको उनले बताए।
भूकम्प, नाकाबन्दी, बैंकको चर्को ब्याज जस्ता घटनाक्रमका कारण अफ्ठ्यारोमा पर्दै आएको पर्यटन क्षेत्रलाई कोभिडका कारण शून्य अवस्थामा पुर्याएको समयमा यस महोत्सवले केही भएपनि राहत दिने अपेक्षा आयोजकको छ।
होटल संघ नेपाल केन्द्रका कार्यवाहक अध्यक्ष विनायक शाहले यस किसिमको महोत्सवले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रभाव परी विदेशीहरुलाई नेपाल घुम्न प्रेरित गर्नुका साथै नेपाल घुम्नका लागि सुरक्षित गन्तव्य रहेको सूचना सम्प्रेषण हुने बताए।
उनले कोभिबाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको उत्थानका लागि बजेट तथा सरकारले घोषणा गरेका १० दिने पर्यटन काज कार्यान्वयनमा नआउनु दुःखद पक्ष भएको धारणा राखे।