
काठमाडौं। गुगलले प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण अनधिकृत रुपमा संकलन गरेको भन्दै प्ले स्टोरबाट विभिन्न एपहरु हटाएको छ। प्रयोगकर्ताहरुको लोकेसन, फोन नम्बर र इमेल एड्रेस अनधिकृत रुपमा संकलन गरेको आरोपमा गुगलले ती एपहरु प्ले स्टोरबाट हटाएको जनाएको छ।
गुगलले आफ्नो नीतिअनुसार नचल्ने एपहरु माथि नियमित कारबाही गर्दै जाने प्रतिक्रिया दिएको छ।
पछिल्लो पटक गुगलले ६ वटा एप माथि कारवाही चाल्दै एप स्टोरबाट हटाएको छ। सार्कबट ब्यांक स्टिलर मालवेयरबाट संक्रमित ती एपहरुलाई गुगल प्लेबाट हटाएको जनाएको छ।
यी एपहरु १५ हजारभन्दा बढी पटक प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेको बताइएको छ। मुख्यगरी यी एपहरुले इटाली र बेलायतका प्रयोगकर्ताहरुको विवरण चोरी गरेको गुगलले जनाएको छ।