
अघिल्लो हप्ता इलोन मस्कको ‘उपद्रो शैली’ फेरि देखियो। उनले श्रृंखलाबद्ध रुपमा ट्वीट गर्दै ट्वीटरलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे सुझावहरु दिएका थिए।
उनी ट्वीटरको सबैभन्दा ठूला सेयरधनी भएको सार्वजनिक भएपछि मस्कका सुझावहरु आएका थिए। यद्यपि, हाल उनी ट्वीटरका सबैभन्दा ठूला सेयरधनी भने होइनन्। सम्पत्ति व्यवस्थापन कम्पनी भ्यानगार्ड ग्रुपले गत अप्रिल ८ मा आफूसँग अब ट्विटरको १०.३ प्रतिशत सेयर भएको सार्वजनिक गरेको थियो।
सम्बन्धित समाचार : ट्वीटर किन्ने इलोन मस्कको योजना सफल होला? टेस्लाकाे सेयर मूल्यमा देखियाे असर
ट्वीट-शृङ्खलामा उनले कम्पनीको हेडक्वाटरलाई घरबारविहीनहरुको लागि आश्रय बनाउनेदेखि प्लेटफर्मको ‘प्रिमियम सर्भिस’बाट विज्ञापन हटाउनेबारे सवाल गरेका थिए।
यीमध्ये धेरै ट्वीटहरू पछि डिलिट गरियो। संसारकै सबैभन्दा धनी व्यक्तिले यस्तो भनिरहँदा त्यो उनको उट्पट्याङ मात्रै थियो कि के थियो भन्ने बुझ्न गाह्रो छ। तर, अहिले उनले माइक्रो ब्लगिङ साइट ४३ बिलियन डलरमा किन्ने प्रस्ताव नै गरेपछि भने यसले धेरैलाई झक्झकाएको छ।
संसारभर समाचार र राजनीतिक एजेन्डालाई आकार दिन ट्वीटरले खेलेको निर्णायक भूमिकालाई हेर्ने हो भने यसको स्वामित्व एक संवेदनशील मुद्दा हो। विशेष गरी २६० बिलियन डलरको सम्पत्तिका मालिकको हातमा राख्नु अझ संवेदनशील हुन सक्छ।
मस्क ८१.६ मिलियन फलोअर भएका ट्वीटरका सबैभन्दा लोकप्रिय व्यक्तिहरुमध्येका एक त हुन् नै। उनी विद्युतीय कार निर्माता कम्पनी ‘टेस्ला’ र रकेट कम्पनी ‘स्पेसएक्स’का सीईओ पनि हुन्। यसले नियामक र राजनीतिक क्षेत्रसँग पक्कै पनि प्रतिच्छेदन गर्छ नै।
‘बेल्टवे (वासिङ्टन डीसी) र ईयूले यसको समीक्षा गर्ने नै छन्,’ अमेरिकी लगानी फर्म वेडबुस सेक्युरिटीजका ड्यान इभ्सले भने, ‘मस्कले ट्वीटरको स्वामित्व लिने कुरा धेरैका लागि भयानक सपनाजस्तै बनेको छ र दुवैतर्फ (युरोप र अमेरिका)का नियामकहरुले यसको छानबिन पनि गर्लान्।’
जे होस्, मस्कको ५४.२० डलर प्रतिसेयरको प्रस्तावलाई जित्ने गरी अर्को कोही व्यक्ति आउनेमा इभ्स शंका व्यक्त गर्छन्। मस्कसँग अधिक पैसा त छँदै छ, उनीसँग ट्वीटरको ९.२ प्रतिशत सेयर पनि छ। जसले उनलाई ट्वीटरको बोर्डमा एक बलियो स्थान दिएको छ, जुन स्थानलाई मस्कले अस्वीकार गरेका छन्। उनको यो चालले सबैलाई सोच्न बाध्य बनाएको छ।
मस्कको योजना सफल भए ट्वीटरमा बद्लाव आउनेछ भन्ने कुरामा दुईमत छैन। मस्कले बिहीबार बोर्डलाई लेखेको पत्रमा ट्वीटर ‘विश्वभर अभिव्यक्ति स्वतन्त्रता प्रेषण गर्ने प्लेटफर्म’ भएको तर हालको स्वरुपमा त्यो ‘सामाजिक महत्व’ हासिल गर्न नसकिने र यसलाई ‘निजी कम्पनीको रूपमा रूपान्तरण गर्न आवश्यक’ रहेको बताएका थिए।
उनको मुख्य असन्तुष्टि ट्वीटरको ‘मोडेरेसन पोलिसी’सँग देखिन्छ। गत मार्चमा उनले साइटले अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्त पालना गरेको छ कि छैन भनेर ट्वीटमार्फत प्रयोगकर्ताहरुबीच सर्वेक्षण गरेका थिए।
‘ट्वीटर वास्तविक रुपमा 'पब्लिक टाउन स्क्वायर'को रूपमा छ, तर अभिव्यक्ति स्वतन्त्रता सिद्धान्तहरूको पालना गर्न असफल हुँदा लोकतन्त्र कमजोर हुन्छ’, मस्कले ट्वीटमा भनेका छन्, ‘अब के गर्नुपर्ला?’
उनले आफूलाई ‘फ्री स्पिच एब्सोलुटिस्ट’ घोषणा गरेका छन्। र, त्यसै सन्दर्भमा ट्वीटरले प्रतिबन्ध लगाएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि चाहन्छन् होला कि मस्कको योजना सफल होस्।
यद्यपि, सामाजिक सञ्जालको नियामक वातावरण झनै कठिन हुँदै गइरहेको छ। बेलायतमा आउन लागेको अनलाइन सुरक्षा विधेयकले यस्ता प्लेटफर्महरूलाई उनीहरूका सामग्रीलाई नजिकबाट निगरानी गर्न बाध्य पार्नेछ। यदि साइट निजी स्वामित्वमा भएपनि यसले यूरोप र अमेरिकाका विधायिकाहरूलाई छल्न सक्ने छैन।
मस्कका अन्य सुझावहरू भने कम विवादास्पद छन्। गत हप्ता उनले पोस्टहरू इडिट गर्न मिल्ने बटन आवश्यक छ कि छैन भनेर प्रयोगकर्ताहरुलाई सोधेका थिए। जसले कम्पनीलाई यसमा काम भइरहेको कुरा सार्वजनिक गर्न बाध्य पारेको थियो।
उनले प्रिमियम सर्भिस ‘ट्वीटर ब्लू’मा पनि परिवर्तनको प्रस्ताव राखे। जसमा सो सेवाबाट विज्ञापन हटाउने सुझाव छ। ट्वीटरको ५ बिलियन डलरको वार्षिक आम्दानीमा ९० प्रतिशत योगदान विज्ञापनको छ।
यता, ट्वीटरका लगानीकर्ताहरूको मुख्य चासो विज्ञापनको आम्दानी र प्रयोगकर्ताहरुको वृद्धिमा छ। प्रयोगकर्ताहरूको ध्यान तान्ने सवालमा ट्वीटरले टिकटकसँग कडा प्रतिस्पर्धा गरिरहेको छ। मस्कले अभिव्यक्ति स्वतन्त्रतामा जोड दिए पनि यदि कम्पनी उनको स्वामित्वमा आए सम्भवतः प्रयोगकर्ताको वृद्धिमा नै फोकस आउने आशा गरिएको छ।
ट्वीटरको पछिल्लो चौमासिक प्रतिवेदनअनुसार यस वर्ष दैनिक सक्रिय प्रयोगकर्ताहरू २५ मिलियनले बढेर २१७ मिलियन पुगेको छ। कम्पनीले अर्को वर्षको अन्त्य सम्ममा ३१५ मिलियन दैनिक सक्रिय प्रयोगकर्ता पुग्ने लक्ष्य कायम राखेको छ।
गत हप्ताको नाटकीय घटनाक्रमले पनि केही प्रयोगकर्ताहरू थपेको हुनुपर्छ। मस्कले कम्पनीको नियन्त्रण आफ्नो पोल्टामा पार्नुअघि सम्भावित अवरोधहरू भने हटाउनु पर्ने नै छ। यद्यपि, प्लेटफर्मले आफ्नो आम्दानी गुमाउने संकेतहरु भने हालसम्म देखिएका छैनन्।