
काठमाडौं। नेपाल टेलिकमले निकट भविष्यमै इ-सिम (इम्बेडेड सिमकार्ड) उपलब्ध गराउने भएको छ। यसका लागि टेलिकमले बेलायतको मोन्टी युके ग्लोबलसँग सम्झौता गरेको छ।
सम्झौता पत्रमा गत आइतबार टेलिकमकी प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दबीच सम्झौता भएको टेलिकमले जनाएको छ।
सम्झौता अनुसार मोन्टी युके ग्लोबलले टेलिकमका ग्राहकहरुलाई इ–सिम सेवा प्रदानका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने टेलिकमले जनाएको छ।
टेलिकमको प्रमुख व्यवसायिक अधिकृत पहाडीले टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा इ–सिम समेत उपलब्ध गराउने बताइन्। यसका लागि आवश्यक कार्य छिट्टै प्रारम्भ हुने विश्वास उनले व्यक्त गरिन्।
अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आनन्दले इ–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
इ–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम भएको टेलिकमले जनाएको छ। इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुने बताइएको छ। यसबाट फोन र डेटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिने टेलिकमले जनाएको छ।
इ–सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक इ–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेरेबल डिभाइस) हरुमा समेत प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
हाल टेलिकमका प्रयोगकर्ताले समेत इ–सिम प्रयोग गर्न सक्ने छन्। नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले इ–सिमको सेवा लिन सक्ने टेलिकमले जनाएको छ।