स्टार्टअप बिजनेसका कथा सुन्दै मिठा तर असफलको संख्या किन हुन्छ धेरै ?



२०७९ बैशाख २४ गते १०:१३ | May 7, 2022


स्टार्टअप बिजनेसका कथा सुन्दै मिठा तर असफलको संख्या किन हुन्छ धेरै ?


काठमाडौं। सन् २०१६ मा अनलाइन ट्याक्सी सेवा दिने कम्पनी सारथी राम्रैसँग चलेको थियो। जम्मा ५० ट्याक्सीहरूबाट सुरु भएको कम्पनी करिब दुई वर्ष अघिसम्म राम्रै चलेको थियो। सुरुवातमा सारथीको क्याब सेवा प्रयोग गर्नलाई सेवाग्राहीले फोन गर्नुपर्ने थियो वा उनीहरूको वेबसाइटमार्फत बुक गर्नुपर्थ्यो। भाडादर मिटर अनुसार हुने गर्थ्यो।

Tata
Global Ime

केही महिनामै सारथीले लोकप्रियता हासिल गरेको थियो। एक दिनमा नै ४०० भन्दा बढी फोनकलहरू आउने गर्थे र जम्मा ५० वटा ट्याक्सीले त्यति धेरै माग धन्न सक्दैनथ्यो। मागका अनुपातमा सेवा दिन नसक्दा विस्तारै कम्पनीको लोकप्रियता साथसाथै बिजनेस घट्दै गयो। धेरैले त कम्पनी बन्द भएको पनि सोचे। तर सारथीले २०१९ मा आफ्नै एप लन्चसँगै बजारमा पुनरागमन गर्‍यो। उक्त एप कुनै पनि ट्याक्सी चालकले डाउनलोड गरेर सारथीसँग आबद्ध हुन सक्थे।

१० हजारभन्दा बढी ट्याक्सीलाई समेट्न सक्ने सो एपमा केही महिनामा नै १००० ट्याक्सी चालकहरू जोडिइसकेका थिए भने सन् २०२० को सुरुवाती महिनासम्ममा, अर्को १,००० ट्याक्सीहरूसँग साझेदारी गर्ने योजना बनाएका थिए। 

तर त्यो योजना योजनामा मात्रै सीमित भयो। कोरोना महामारी सुरु भयो। लकडाउन लाग्यो। अहिले सारथीलाई असफल स्टार्टअपको रुपमा वर्णन गरिन्छ। आफ्नो अपरेशन क्षमताभन्दा बढी मार्केटिङ भयो, बढी माग आउँदा धान्न नसकेर पनि बजारबाट  सारथी हराउदै गएको उद्यमशीलता विशेषज्ञहरूको बुझाइ छ। 

देखासिकीको परिणाम 

हरेक १० स्टार्टअपमध्ये असल हुने ९ स्टार्टअपमध्ये एक हो सारथी। सारथी जस्तै हजारौं स्टार्टपहरू असफल  हुने गरेका छन्। संसारभर १० मा जम्मा एक स्टार्टअप मात्रै सफल हुुन्छन्। सयवटा स्टार्टअपहरू मध्ये ९० प्रतिशत असफल हुन्छन्। यसका कारण थुप्रै छन्।

अन्तरप्रेरणाका (नेपाली स्टार्टअप उद्यमीहरूलाई लगानी र मेन्टरशिप प्रदान गर्ने कम्पनी ) प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक निरज खनालका अनुसार विश्वव्यापी रूपमा स्टार्टअप असफल हुनुको विशेषतः दुई कारण प्रमुख छन्। 

एउटा  पर्फेक्ट प्रोडक्ट सिंड्रोम अर्थात आफ्नो प्रोडक्ट एकदम पर्फेक्ट बनाएपछि मात्र मार्केटमा बेच्छु भन्ने सोच राख्नु, प्रोडक्टलाई पर्फेक्ट बनाउने समयसम्म नै त्यो स्टार्टअप असफल भइसक्छ। र, अर्को उनीहरूले बनाएको प्रोडक्टहरूको ग्राहकवर्ग राम्ररी नछुटाइएकाले अर्थात कसलाई बेच्ने भन्ने कुरामा नै स्पष्ट हुने नसकेकाले पनि धेरै स्टार्टअपहरू असफल भइरहेका छन्। 

यी दुई मुख्य कारणहरूका अन्तर्निहित मुद्दाहरू नेपालको सन्दर्भमा हेर्ने हो भने चाहिँ आफ्नो रुचि र सीप र आफूसँग भएको स्रोतलाई ध्यान नदिइ अरुले गरेको देखासिकी बढी भइरहेको छ। त्यसमा पनि दुई/तीन वटा क्षेत्रमा हात हालिरहेका हुन्छन्। 

निरज भन्छन्, 'आफ्नो गहिरो रुचि नदेखेपछि उनीहरूले यो हुन्छ कि त्यो हुन्छ भनेर बढी ट्रायल गरिरहेको देख्छु म चाहिँ। एउटै मान्छे दुई/तीन वटा कम्पनीहरू संस्थापक भइरहेका हुन्छन्। यस्तो हुँदा उनीहरू फोकस हुदैनन् र उनीहरू बिजनेस असन्तुष्टिको सिकार हुन्छ। फलस्वरूप  असफल हुन्छन्।'

किङ्स कलेजका अध्यक्ष, नरोत्तम गौतमका अनुसार, स्टार्टअपहरू यसको प्रकृतिले नै असफल हुने हुन्छन्, किनभने तिनीहरूको आइडिया पहिले नै प्रयास गरिएका र परीक्षण गरिएका हुँदैनन्। त्यसैले, स्टार्टअप असफल हुने बढी सम्भावना हुन्छन्।

नेपालमा स्टार्टअपहरूको बारेमा कुनै पनि अधिकारिक परिभाषा र डाटाको नभएकाले यसको ठोस उत्तर दिन भने गाह्रो रहेको नरोत्तम बताउँछन्। आइडिया स्टुडियो नेपालले इन्क्युबेट गरेको २५० भन्दा बढी आइडियाहरू मध्ये जम्मा ६० वटा स्टार्टअपहरू सफल रुपमा चलिरहेको छ।

तर उनी नेपालमा अन्तर्राष्ट्रिय तथ्यांकले देखाएको भन्दा फेलियर रेट निकै बढी भएको अनुमान गर्छन्। कारण उद्यमशीलता इको सिस्टम बलियो र एकीकृत नहुनु, धेरै स्टार्टअप काठमाडौं केन्द्रित हुनु, नवीनता कम देखासिकी बढी हुनु, सही टिम नहुनु, अल्पकालीन सोच राख्नु, उचित मेन्टरसिप नपाउनु वा नखोज्नु, फन्डिङको समस्या, द्वन्द्व व्यवस्थापन गर्न नसक्नु आदि।

जो सफल छन्, तिनैका कथा भनिन्छन्, सुनिन्छन्। स्टार्टअपहरुका प्रसंग झन् यस्तै छन्। तर नयाँ सोचका लागि थालिएका व्यवसायमा जति सफल छन्, तीभन्दा धेरै गुणा संख्या असफल हुनेहरुको छ। तर धेरै सञ्चालक एउटा छाडेर अरु आइडियामा काम गरिरहन्छन्, आफूलाई असफल मान्न तयार देखिदैनन्।

ज्ञान, समय र टिमको तालमेल नमिल्दाको नतिजा 

अर्कोतर्फ, आइडिया स्टुडियो नेपालका सहसंस्थापक डा. छिरिङ लामा असफल हुने भन्दा पनि असफलताबाट सिक्ने कुरामा जोड दिन्छन्। 'कुनै पनि स्टार्टअप सुरु गर्नु अघि यो उद्यम गर्नुको कारण के हो। म आफूले समाजको कुन समस्या समाधान गर्न खोज्दै छु, आफूसँग के सीप छ, आफ्नो गुण र कमजोरी के के छ भन्ने कुरा मा स्पष्ट हुन पर्छ,' उनी भन्छन्।

स्पष्ट नभई लहैलहैमा लगेर उद्यम सुरु गर्दा सफल नहुने धेरै सम्भावना हुने उनी बताउँछन्। कुनै पनि उद्यम सफल हुनलाई चार टी टाइम (समय), ट्यालेन्ट (ज्ञान), टिम, र ट्रेजरको लगानी आवश्यक हुन्छ। यसका साथै उद्यमीमा सधै सिक्ने इच्छा हुनुपर्ने छिरिङ बताउँछन्। 

'जसले समयको लगानी नै बुझ्दैन उसलाई उद्यम चलाउन निकै गाह्रो हुन्छ। कुनै चिजहरूको समय अथवा सिजन नै गइसकेको हुन्छ, समय आफ्नो मात्र नभएर अरुको समय को पनि उत्तिकै ख्याल गर्नु पर्छ,' उनी उदाहरण दिन्छन्, 'जस्तै १८-२५ वर्षको ग्राहक लक्ष्य गरेको थियो भने यदि त्यो क्याच गर्न सकिएन भने उनीहरू त हुर्किन्छन्। त्यसैले यी सबै कुराहरू याद गर्न पर्ने हुन्छ।'

कुनै पनि उद्यम बनाउन ज्ञान र सीपको ठूलो हात हुन्छ। यो काम गर्नलाई आफूसँग आत्मबल छ कि छैन, आफूसँग के कस्तो ज्ञान र सीपहरू छ भन्ने कुरा बुझ्नुपर्छ। साथै  मार्केटिङ, प्रोडक्ट डेभलपमेन्ट, ग्राहक अधिग्रहण, बैंकसँग डिल गर्न ज्ञान र सीप सिक्नु पर्छ। त्यसैले पनि सिक्ने इच्छा शक्ति हुन असफल नहुने छिरिङको विश्वास छ। 

छिरिङका अनुसार आफ्नो काम र नीति आत्मसात गर्न नसक्नु, विश्वको ट्रेन्ड नबुझ्नु, आफ्नो समाज सुहाउँदो प्रोडक्ट नहुनु, रिसर्च र डेभलपमेन्टमा समय र लगानी गर्न नसक्नु वा नगर्नुले गर्दा पनि स्टार्टअपहरू सफल हुँदैनन्। 

“कुनै पनि उद्यमलाई सफल बनाउन नीति, ज्ञान र अभ्यास गरी तीन स्तरमा काम गर्नुपर्ने हुन्छ र यी तीनको त्रिकोणात्मक सम्बन्ध हुन्छ,' उनी व्याख्या गर्छन्, 'ज्ञान र अभ्यासले नीतिलाई साथ दिनु पर्छ किनभने ज्ञान र अभ्यासलाई आत्मसात गरेर चाहिँ यस्तो नीति बनायो भने नवीनतम र उद्यमशीलता फस्टाउने भन्ने कुरा थाहा हुन्छ। नीतिमा के के ज्ञाप रैछ भन्ने कुरा ज्ञानले खोतल्नु पर्छ।'

नीति र उद्यमीको बीच दूरी हुँदा पनि उद्यम फस्टाउन गाह्रो हुने छिरिङ बताउँछन्। जस्तैः ऋण दिन कुरामा सहुलियत दरमा ऋण दिने व्यवस्था छ तर  प्रक्रिया नपुगेर या नबुझेर पनि जसले चाहेको छ उसले पाइरहेको छैन।

यसलाई पुष्टि गर्दै, निरज थप्छन्, 'स्टार्टअपहरूको कुनै पनि प्रमाणित बिजनेस मोडल हुदैन। नयाँ कुरा गर्न खोज्दा एकैचोटि ठूलो कुरा गर्न खोज्दा पनि डुब्छन्। आफ्नो क्षमताभन्दा बढी मार्केटिङ गर्नु पनि घातक हुन्छ।'

समय साथै ग्राहक र मार्केटको माग अनुसार लचिलो हुन नसक्दा, सामाजिक दबाब थाम्न नसक्दा, सह-संस्थापकहरू बीच भ्यालु क्याल्स हुँदा पनि धेरै स्टार्टअपहरू असफल हुने गरेको निरज बताउँछन्।

कहाँ सुनिन्छन् असफलका कथा

मोबाइल, ल्यापटप र सूचनाप्रविधिको सञ्जालमा धेरथोर जानकारी राख्ने पुस्ता व्यवसायमा आएको छ। सामाजिक सञ्जालबाटै मार्केटिङ हुने देखेर धेरै प्रकारका आइडियामा आधारित व्यवसायमाथि थुप्रै प्रयोग भइरहेका छन्। 

यसरी स्टार्टअप आइडियामा काम गर्नेहरु एउटामा फाइदा नहुने संकेत मिल्नेबित्तिकै अर्को काम थाल्छन्। त्यसैले असफलका कथा भनेको-सुनेको नभेटिएको हो। तर नौला जुक्तिमा आधारित व्यवसाय नचल्ने भने होइनन्। कोरोना महामारीको समयमा जसरी 'होम डेलिभरी', 'टेक अवे' र डिजिटल भुक्तानीमा सर्वसाधारण अभ्यस्त भए, नयाँ व्यवसायी पनि बजारमा आए। 

सफलका कथा भनिन्छन्, सुनिन्छन्, असफलको चर्चा नै हुने गरेको छैन। तर असफलको चर्चा गर्दा स्टार्टअपले केके ध्यान पुर्‍याएन भने असफल हुने रहेछ भन्ने थाहा हुन्छ। त्यसबाट वैकल्पिक बाटो खोज्न सकिन्छ।