चार हिमालहरुबाट संकलन भयो करिब ३० हजार केजी फोहोर, कोकाकोला फाउन्डेसन कर्पोरेट साझेदार



२०७९ जेठ ६ गते ११:२६ | May 20, 2022


चार हिमालहरुबाट संकलन भयो करिब ३० हजार केजी फोहोर, कोकाकोला फाउन्डेसन कर्पोरेट साझेदार



काठमाडौं। प्रमुख कर्पोरेट साझेदार कोकाकोलासँग मिलेर नेपाली सेनाको अगुवाइमा सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमालहरुको सरसफाई अभियानको कार्य आधा सफल भएको छ। कोकाकोला फाउन्डेसनसहित अन्य थुप्रै संस्थाहरुले पनि यस अभियानमा सहकार्य गरेका छन्।

Tata
Global Ime

अभियानमा सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य छन्। वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँगसँगै ठूलो मात्रामा फोहोर पनि भित्रिने गर्छ। जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रूपमा छ।

यही समस्या समाधान गर्न गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान सुरु गरिएको थियो। अहिलेसम्म चारवटा हिमशृंखलाहरुबाट २९ हजार ९९८ किलो (५ हजार २०४ केजी कुहिने र २४ हजार ७९४ केजी नकुहिने) फोहोर संकलन गरिसकेको छ। रित्तो अक्सिजन क्यानिस्टर, पाल, खानेकुराका कन्टेनर, प्लाष्टिक, गिलास, अल्मुनियम, इलेक्ट्रोनिक फोहोर रहेको बताइएको छ।

अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य सहित हिमाल सरसफाई भइरहेको कोकाकोलाले जनाएको छ। 

नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाईमा सञ्चालित हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियानमध्ये एक भएको बताइएको छ। यो अभियानको तेस्रो संस्करण हो जसमा कोकाकोला फाउन्डेसन लगातार ३ वर्षदेखि प्रमुख साझेदार रहँदै आएको छ।

हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्यसहित चारवटा हिमशृंखलाहरुको सरसफाई गरी यो अभियान सञ्चालन गरिएको हो। यस वर्षको अभियानको नारा ‘हिमाल बचाउने प्रयास; हाम्रो हिमाल, हाम्रो दायित्व’ रहेको छ।

यस अभियानबाट संकलन गरिएको फोहोर रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिने बताइएको छ। यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा समापन हुँदैछ।