हिमालय एयरलाइन्सकी परिचारिका ओमनिका डंगोलले चढिन् सगरमाथा, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने



२०७९ जेठ ६ गते १६:४० | May 20, 2022


हिमालय एयरलाइन्सकी परिचारिका ओमनिका डंगोलले चढिन् सगरमाथा, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने


काठमाडौं। हिमालय एयरलाइन्सकी परिचारिका ओमनिका डंगोलसहितको टोलीले  सगरमाथाको सफल आरोहण गरेका छन्। स्थानिय समय अनुसारल यो टोलीले जेठ २ गते बिहान साढे सात बजे सफल आरोहण गरेको कम्पनीले जनाएको छ।

Tata
Global Ime

थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडीसनको आरोहण टोलीसहित उनले ८८४८.८६ मिटर उचाई रहेको सर्वोच्च शिखर आरोहण गरेकी हुन्। सफल आरोहणपछि उनी शुक्रबार काठमाडौं आइपुगिन्।  

हिमालय एयरलाइन्स्काअध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डंगोललाई स्वागत गरे । सफल आरोहण गरेको टोलीलाई बधाई दिँदै कम्पनीका अध्यक्ष झो एन्योङ्गले भने-‘यो हाम्रो लागि निकै महत्वपूर्ण समय हो । ओमनिका डंगोलले हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्किएकोमा  हामी अत्यन्त खुसी छौं। आरोहणमा धेरै जोखिम र चुनौतीहरू थिए। 'म हरेक दिन उहाँहरुको सुरक्षाको लागि चिन्तित थिएँ । तर पनि हाम्रो टोलीको तयारी राम्रो र संकल्प दृढ भएकाले सफल हुनेछ भन्नेमा विश्वस्त पनि थिएँ।'

कम्पनीले छिट्टै 'हिमालय एयरलाइन्स एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट' नाराका साथ मुलुकको पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको जनाएको छ।

यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी डंगोलले विविध चुनौतीको वावजुद पनि दृढ निश्चय लिएर सफल आरोहण गर्न सफल भएकी बताएकी छिन्।

'सर्वोच्च शिखरमा हिमालय एयरलाइन्स्को प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको क्षण थियो । मेरो यात्रामा धेरै चुनौती थिए तर मेरो ध्यान सधैं केवल शिखरमा पुग्नुमा थियो । यस्तो जीवनमै एकपटक मात्र पाउन सक्ने यस विशेष अवसरको मैले अनुभव गर्न पाएँ।' आरोही एवं परिचारिका डंगोलले भनिन्।

सफल आरोहणमार्फत मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउँदै कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने,'हिमालय एयरलाइन्सका मुख्य उद्देश्यहरु मध्ये नेपाली पर्यटन प्रवर्द्धन गर्नु पनि एक हो र यो परियोजना नेपालको पर्यटन प्रवर्द्धनमा हिमालयको एउटा सानो कदम मात्र हो ।'

नेपाली नागरिकसँगै अन्य राष्ट्रहरुका नागरिकहरुको सम्पर्क प्रवर्द्धन गर्ने तथा राष्ट्रको व्यापार र पर्यटनको प्रवर्द्धन गर्ने दुई प्रमुख उद्देश्यहरुका साथ नेपाल र चीनबीचको संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्स्को स्थापना सन्२०१४ मा भएको हो। 

स्थापना भएको सात वर्षको छोटो अवधिमा कम्पनीले आफ्नो जहाजको संख्यामा चारवटा पुर्‍याइसकेको छ। कम्पनीले १८० सिट क्षमताको एयरबस ३२०-२१४ र १२० सिट क्षमताको एउटा एयरबस ३१९-११५ सिरीजको जहाजमार्फत युएई ,मलेसिया, कतार, साउदी अरेबिया र बंगलादेश लगायतका मुलुकमा नियमीत उडान गर्दै आएको छ।