प्लास्टिक नेपाल फाउण्डेसनले ‘प्लास्ट नेपाल २०२२’ मेला गर्दै, उद्योग प्रवर्द्धनमा सघाउने



२०७९ जेठ ९ गते १३:५० | May 23, 2022


प्लास्टिक नेपाल फाउण्डेसनले ‘प्लास्ट नेपाल २०२२’ मेला गर्दै, उद्योग प्रवर्द्धनमा सघाउने


काठमाडौं। प्लास्ट नेपाल फाउण्डेसनले जेठ १२ देखि काठमाडौंको भृकुटीमण्डपमा प्लास्टिक प्रदर्शनी 'प्लास्ट नेपाल २०२२' आयोजना गर्ने भएको छ। 

Tata
Global Ime

प्लास्टिकका उत्पादन उपभोक्तालाई चिनाएर बजार प्रवर्द्धनमा सघाउन फाउण्डेसनले सुरु गरेको प्रदर्शनीको यो तेस्रो संस्करण हो। यसअघि पहिलो संस्करण २०७१ र दोस्रो संस्करण २०७५ मा भएको थियो। कोरोना महामारीका कारण भने केही वर्षयता प्रदर्शनी हुन सकेको थिएन।

तेस्रो संस्करणको प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योग र भारतलगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लास्टिक उद्यमी व्यवसायी सहभागी हुने आयोजकले जनाएको छ। 

प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, यसका कच्चा पदार्थ र मेसिनरी उपकरणहरु समेतका अहिलेसम्म ९५ स्टल राख्ने तय भएको छ। जसमध्ये एक तिहाइ स्टल नेपाली प्लास्टिक उद्योगीहरुको रहने आयोजकले जनाएको छ।

प्लास्किट उद्योग र उद्यमीहरुको प्रवर्द्धन गर्नकै लागि प्रदर्शनी आयोजना गरिएको प्लास्ट नेपाल फाउण्डेसनका अध्यक्ष राहुलकुमार अग्रवालले जानकारी दिए। 

'प्लास्टिक उद्योगमा भइरहेको प्रविधिको रुपान्तरण,विभिन्न प्रकारका मेसिनरीहरुको प्रदर्शन, त्यसबाट तयारी प्रडक्ट कसरी बनाउनेदेखि प्लास्टिकजन्य प्रडक्टहरु आयात प्रतिस्थापन गर्न हामीले थप लगानी गर्न सक्छौं भन्ने उद्देश्य पनि प्रदर्शनीको हो,' उनले भने। 

त्यसैगरी, नेपालमा जेजस्ता प्लास्टिकजन्य उत्पादनहरु भइरहेका छन्, तिनलाई सबैको जानकारीमा ल्याउन प्रदर्शनी फलदायी हुने विश्वास अग्रवालको छ। 

यस्तै, प्लास्टिकलाई नकारात्मक हिसाबले हेर्ने गरिएको भन्दै अग्रवालले यसको दिगो प्रयोग र त्यसको रि-प्रोसेसिङ बारे जानकारी गराउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको उनले बताए।  

फाउण्डेसनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ। प्लास्ट नेपाल, नेपाली प्लास्किट उद्यमीहरुको छाता संगठन हो। नेपालमा प्लास्टिक उद्योग व्यवसायको प्रवर्द्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लास्टिकजन्य वस्तुहरु उपलब्ध गराउन प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने अपेक्षा आयोजकको छ।