काठमाडौं। शैलजा कसजू टिच फर नेपालबाट स्वयंसेवी शिक्षकका रुपमा सिन्धुपाल्चोक पुगेकी थिइन। एक महिना नहुँदै २०७२ सालको महाभूकम्पले उक्त जिल्लाको नक्सा नै फेरियो। सयौंले ज्यान गुमाए, हजारौं घरबारविहीन भए। घटनाले धेरै परिवारको आर्थिक अवस्था शिथिल बनायो।
भूकम्पले जनजीवन प्रभावित भएसँगै शैलजा तुरुन्तै उद्धार कार्यमा जुटिन्। कहिले खाद्य सामग्री वितरणमा सहभागी भइन् त कहिले राहत प्याकेज तथा स्वास्थ्य शिविर लिएर मद्दतमा उनी उत्रिइन्। यसैबीच शैलजाले भूकम्प गएको पहिलो महिनामा नै करिब सय महिला तथा बालबालिका बेचबिखनमा परेर उद्धार गरिएको खबर थाहा पाइन्।
'भूकम्पपछि चेलीबेटी बेचबिखन निकै बढेको थियो। उनीहरूलाई एकै पटक प्राकृतिक र आर्थिक संकटसँग जुध्न निकै गाह्रो भएको थियो,' शैलजा भन्छिन्, 'यही क्रममा त्यहाँका धेरै दिदीबहिनीहरू राम्रो कामको खोजीमा तस्करहरुको फन्दामा परेको घटनाहरू लगातार बहिरिइरहेको थियो।'
यस्तो गम्भीर समस्यालाई कसरी सुल्झाउन सकिन्छ भनेर उनी सोचमग्न भइन्। सो समस्या समाधान गर्न उनले समस्याको जरोमा नै काम गर्न पर्ने निधो गरिन्। उनले त्यही कै शिक्षक र समुदायको मानिसहरूसँग पनि यस बारेमा सल्लाह गरिन्। 'गाउँमा नै रोजगारी सृजना गर्न सकियो भने त चेलीबेटी बेचबिखन रोक्न सकिन्छ भन्ने हिसाबले टेकाको स्थापना गर्यौं,' उनी भन्छिन्।
भूकम्पले शिथिल बनाएको अवस्थाको उत्थानका लागि सुरु गरिएको काम भएकाले शैलजाले आफ्नो परियोजनाको नाम 'टेका' रोजेको बताउँछिन्।
परियोजनादेखि सामाजिक उद्यमसम्मको यात्रा
टेकालाई शैलजाले उद्यमको रूपमा नभएर एउटा परियोजनाका रुपमा सुरु गरेकी थिइन्। बिसं २०७७ मा मात्र यसैलाई उनले सामाजिक उद्यमको रुपमा अघि बढाइन्।
सिन्धुपाल्चोकको साँगा चोकबाट १२ महिलाको समूहले सुरु गरेको टेकामा अहिले सिन्धुपाल्चोक, पाटन, नवलपरासी, कपिलवस्तु र चितवन गरी पाँच जिल्लाका ५० भन्दा बढी महिलाहरूले रोजगारी पाएका छन्।
इन्टेरियर डिजाइनिङ र डेभलपमेन्ट स्टडिजमा स्नातक गरेकी शैलजा भन्छिन्, 'हामीले १२ महिलाहरूलाई करिब ६ महिनासम्म कुरुसबाट खेलौनाहरु बुन्ने साथै व्यक्तित्व विकास तालिम दिएर बल्ल उत्पादन सुरु गर्यौं। यसको लागि हामीले करिब २० हजार रुपैयाँ खर्च गर्यौं।' पछि ती महिलाहरूले बनाएका गुडियाहरू बेचेर आएको ५० हजार रुपैयाँ संस्थाकै लागि खर्चिएको उनी बताउँछिन्।
'त्यो खेलौनाहरू बनाउँदै जाँदा मलाई के महसुस भयो भन्दा सबै महिलाहरू सँगै बसेर काम गर्दा एक किसिमको ट्रमाबाट राहत पनि मिल्दो रहेछ,' उनी थप्छिन्, 'एक अर्काको दुःख-सुखको कुरा सुनाउने सुन्ने पनि ठाउँ भयो। त्यसैले नै यसलाई यतिमा नै सीमित नराखी अझै बिस्तार गर्दै हामी अघि बढ्यौं।'
सुरुवाती अवस्थामा टेकाको उत्पादनको लागि बजार खोज्दै उनीहरू फार्मर्स मार्केट, क्रिसमस मार्केट लगायतका पपअप स्टलहरू पुगे। त्यहाँबाट विस्तारै अलि अलि आम्दानी हुन थालेको शैलजा बताउँछिन्।
'सुरुवातमा हामीलाई उत्पादनको बजार व्यवस्थापन गर्न निकै गाह्रो परेको थियो। यस चुनौतीलाई पार गर्न, हामीले अझै थुप्रै उत्पादनहरू थप्यौं,' उनी सुनाउँछिन्, 'हाम्रा कामहरू र यसले ती महिलाहरूको जीवनमा ल्याएको सकारात्मक परिवर्तनहरू पनि सबैलाई देखायौं।'
साथै टेकाले आफ्नो वेबसाइट पनि सुरु गर्यो, जसबाट उनीहरूले टेकाका उत्पादनहरुका साथै देशका कुनाकाप्चामा रहेर बजार खोजिरहेका अरु थुप्रै साना उद्यमीहरूको उत्पादनहरूपनि लिस्ट गर्छ ।
स्थानीय प्राकृतिक कच्चा पदार्थ प्रयोग
शैलजाका अनुसार टेकाले स्थानीय प्राकृतिक कच्चा पदार्थलाई प्रयोग गरी हातले बनेको वातावरणमैत्री वस्तु उत्पादन गर्दै आएको छ।
टेकाले केराको एग्रो वेस्ट, कटन, पश्मिना, बाँसको रेसा, पटर, हेम्प जस्ता प्राकृतिक कच्चा पदार्थहरूको प्रयोगबाट टिस्यु बक्स, वाल ह्याङगिङ, म्याटरनिटी ब्याग, टोट ब्याग, कोस्टर, पर्दा, कपडाहरू, गहनाहरू, टेबल म्याट, ट्वाइलेट पेपर होल्डर, डोरम्याट, माटाबाट बनेको सामानहरू, कुरुसले बुनेका कपडा तथा खेलौनाहरु, सेनिटरी प्याड, ब्याग, नेपाली पेपर जर्नल, खजुर क्यान्डी, लप्सीको क्यान्डीहरु उत्पादन गर्छ।
टेकाको उत्पादनमा खाना, लुगादेखि गहना, टोपी, ब्याग, जुत्ता, सजावटका सामाग्री, प्याडहरू छन् जसको मूल्य ३० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म पर्न आउँछ।
व्यवसाय विस्तारै उकालो लाग्दै थियो। टेकाका उत्पादन नेपालभित्र मात्रै नभई देशबाहिर जस्तै भारत, अमेरिका, बेलायत तथा फ्रान्ससम्म पनि पुगे। यहाँको उत्पादनहरू निर्यात समेत हुने भएकोले टेकाले मासिक ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको थियो।
तर कोभिड महामारीका कारण अरु थुप्रै व्यवसाय जस्तै टेकाको पनि व्यवसाय ओरालो लाग्यो। यतिसम्म कि नवलपरासीको म्यानुफ्याक्चरिङ युनिट नै बन्द भयो साथै व्यापार पनि ठप्प सरी भयो।
शैलजा बताउँछिन्, 'हाम्रो उत्पादन हस्तकला सम्बन्धी भएकोले र अत्यावश्यक वस्तुहरू मध्येमा नपरेकोले हाम्रो व्यापार ठप्प भयो। यही समयमा हामीले फुड प्रोडक्टहरू पनि सुरु गर्यौं।'
समाजमा आर्थिक हिसाबले पछाडि परेका महिलाहरूको स्तर उन्नतिको लागि स्वरोजगार बनाउन तथा रोजगारी दिने उद्देश्यले सुरु गरेको टेकाले अहिलेसम्म २५ भन्दा बढी तालिम संचालन गरिसकेको शैलजा बताउँछिन्। यसबाट तीनसयभन्दा बढी महिलाहरूलाई फाइदा पुगेको उनी दाबी गर्छिन्।
मासिक ४ लाखसम्मको आम्दानी
शैलजाका अनुसार टेकाले हरेक समुदायबाट कम्युनिटी लिडरहरू बनाएर उनीहरुबाटै कार्य संचालन गराउँछ। टेकामा आबद्ध भइ सामाग्रीहरु उत्पादन गर्दै आएका महिलालाई तलब दिने वा प्रतिगोटाका आधारमा दिने गरी दुई किसिमले भुक्तानी गरिरहेको उनले बताइन्।
म्यानुफ्याक्चरिङ युनिटमा नै आएर काम गर्नेदेखि घरै बसेर काम गर्ने सुविधासम्म टेकाले दिइरहेको छ। अहिले टेकाले मासिक ४ लाखसम्मको आम्दानी गरिरहेको उनले बताइन्।
टेकाका उत्पादनहरु कम्पनीको वेबसाइट साथै फेसबुक, इन्स्ट्राग्राम जस्तै सामाजिक सञ्जालबाट पनि अर्डर गर्न सकिन्छ । टेकाको पछिल्लो उत्पादन वातावरण मैत्री सेनिटरी प्याड हो। उनी भन्छिन्, 'हामीले कपडाको रियुजेवल प्याड र केराको रेसा र कटनको नन रियुजेवल प्याड गरी दुई थरीका प्याडहरू बजारमा ल्याएका छौं।'
शैलजाले स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउन टेकाको उत्पादनहरु नेपाली उपभोक्ताहरुबीच नै खपत गराउन बढी जोड दिइरहेकी छन्।
.jpg)


