मल अभाव असारभरि नै रहने, जी-टु-जीमा फेल सरकारलाई कटाक्ष – ‘मल जनता-टु-जनता ल्याउन दिइयोस्’



२०७९ जेठ ३० गते १६:५६ | Jun 13, 2022


मल अभाव असारभरि नै रहने,  जी-टु-जीमा फेल सरकारलाई कटाक्ष – ‘मल जनता-टु-जनता ल्याउन दिइयोस्’


काठमाडौं। सरकारले बाली लगाउने समयमा रासायनिक मल उपलब्ध गराउन नसकेकोप्रति सांसदहरुले आक्रोश पोखेका छन्। 

Tata
Global Ime

सोमबार प्रतिनिधि सभाको बैठकमा संसदहरुले सरकारले कृषि क्षेत्रलाई हेलचक्रचाइ गरेर मलको उपलब्धताप्रति संवेदनशील नभएको बताएका छन्। 

सरकारस्तरको (जी टु जी) सम्झौता गरेर पनि मल ल्या‍उन नसकेकोप्रति सरकारलाई कटाक्ष गर्दै आगामी दिनमा रासायनिक मल जनता-टु-जनता आयात गर्न संसद सन्जय कुमार गौतमले सुझाए। सबै भन्सार खुला गरेर जिरो भन्सार महसुल लागू गरेर आवश्यक समयमा छिमेकी मुलुकमा गएर जनताले मल ल्याउन सक्ने व्यवस्था गर्नुपर्ने उनले बताए। 'मल ल्याउन नसक्ने सरकार र मन्त्रीहरुलाई कारवाही हुनुपर्छ,' गौतमले भने।

मकै लगाउने सिजन सुरु भएदेखि नै देशभर रासायनिक मलको अभाव सुरु भएको थियो। अहिले वर्षकै प्रमुख बाली धान लगाउने बेलामा मल सं‌कट झन् गरिदिएको छ। किसानका लागि मल अभाव वर्षेनी बाली लगाउने समय दोहोरिरहने नियती बन्दै आएको भए पनि यो वर्ष मलको चरम अभाव भएको छ। 

चालु आर्थिक वर्षभरि नै किसानहरुले रासायनिक मल बिरलै पाएका छन्। किसानले यसपालि बोरामा एक हजार बढी तिरेर किन्न खोज्दा पनि मल नपाएको बताएका छन्। यसअघि प्रतिबोरा २ हजार पर्ने मल अहिले ३ हजारमा पनि नपाएको किसानहरुको गुनासो छ।

'मकै लगाउने समयदेखि सुरु मल अभाव धान रोप्ने बेलासम्म पनि सहज भएको छैन। पटकपटक मलको समस्या भएपनि त्यसको समाधान सरकारले किन गर्न सकेको छैन?,' सासंदहरुले प्रश्न गरेका छन्। 

नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले मल आपूर्तिको सवालमा सरकार बेखवर भएको आरोप लगाएका छन्।

सरकारले बर्खे बालीका लागि जेठसम्ममा मल लग्याउने प्रयास गरिरहेको बताए पनि असार सुरु हुनै लाग्दा पनि मल उपलब्ध भएको छैन।

यस्तोमा कृषिमन्त्रीले अहिले असार मसान्तसम्ममा रासायनिक मल नेपाल आइपुग्ने बताएका छन्। कृषिमन्त्रीको यो भनाइले किसानहरु थप आक्रोशित बनेको विषयले सोमबार संसदमा चर्चा पाएको थियो।

कृषि मन्त्रीले भनेअनुसार असार मसान्तमा मल आइपुग्दा धान लगाउने समय लगभग सकिने हुँदा समयमै मल किसानसम्म पुग्न सके मात्र उत्पादन बढाउन सकिनेमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। 

६० प्रतिशत कृषिमा आधारित देशमा  किसानले सधैं आश्वासन मात्र पाएको बताएका छन्। रासायनिक मल खेती गर्ने समयमा मात्र बहस हुने गरेको छ। सरकारले ६ महिनासम्मका लागि पुग्ने मल भण्डार गर्न नसकेको कुरा सांसदहरुले उठाएका हुन्।

कृषिमन्त्रीको पनि खेतीपाती धैरै भए पनि उनको घरखेत बोर्डर नजिक भएकाले आफूलाई चाहिने मल उतैबाट जोहो गरिसकेको टिप्पणी सा‌ंसद गोमा देवकोटाले बताएकी छिन्। यसले गर्दा नै अन्य किसानहरुका लागि चाहिने रासायनिक मलका लागि चिन्ता नभएको उनको भनाइ छ । 'किसानलाई सरकारले रुवाएको छ। यसले कसरी निर्यात बढाउन सकिन्छ,' कृषि मन्त्रीलाई देवकोटाले प्रश्न गरेकी छिन्।

सोमबार स‌ंसदमा सा‌ंसद उमाशंकर अरगरियाले भने, 'पटकपटक कृषि प्रधान देश भनिएको छ। अब यसलाई कमिशन प्रधान देश घोषणा गरियोस्, 'खेतीका लागि चाहिने मुख्य वस्तुको आपूर्ति अभाव गराएर उत्पादन बढ्न सक्दैन। यसले गर्दा ३० प्रतिशत आयात घटाउने होइन निर्यात बढाउने चाहिँ सरकारले तयारी गरेको हो।'