
काठमाडौं। इलन मस्कले बिहीबार ट्वीटरका कर्मचारीहरूसँग भर्चुअल अल-ह्यान्ड्स बैठक मार्फत कुराकानी गर्ने भएका छन्। उनले अप्रिलमा ट्वीटर खरिद गर्ने घोषणा गरेपछि पहिलोपटक कर्मचारीहरुसँग बैठक गर्दैछन्।
ट्वीटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले कर्मचारीहरूलाई इमेलमार्फत बैठकको जानकारी दिएको संचारमाध्यमहरुले उल्लेख गरेका छन्। ट्वीटरका कर्मचारीहरुले बैठक अघि नै मस्कलाई आफ्ना प्रश्नहरू पेश गर्न सक्नेछन्। ट्वीटर र मस्कले अप्रिलमा अधिग्रहण सम्झौताको घोषणा गरेको भोलिपल्ट, ट्वीटरका सीइओ पराग अग्रवाल र बोर्ड अध्यक्ष ब्रेट टेलरले अल-ह्यान्ड्स बैठक आयोजना गरेका थिए।
सो बैठकमा उनीहरूलाई कर्मचारीहरुले सम्झौताले कर्मचारीहरूको क्षतिपूर्तिलाई के अर्थ राख्छदेखि मस्कको अधिग्रहणले आर्टिफिसियल इन्टेलिजेन्सप्रति कम्पनीको नैतिक प्रतिबद्धतामा के अर्थ राख्छ भन्ने प्रश्न उठाइएको थियो। यी सबै प्रश्नको जवाफका लागि अग्रवालले त्यतिबेला नै मस्कलाई सिधै प्रश्न सोध्न समय व्यवस्थापन गर्ने बताएका थिए।
मस्क र ट्वीटरबीच ४४ अर्ब अमेरिकी डलर सम्झौताले पूर्णता नपाउँदै आज र्मचारीहरूसँगको बैठक हुन लागेको हो। गत हप्ता, उनले ट्वीटरमा भएको बटहरूको समस्यालाई औलाउँदै ट्वीटसँग भएको सम्झौताबाट पछि हट्न सक्ने ‘प्रत्यक्ष धम्की’ दिएका थिए। मस्कले ट्वीटरमा भएको बटहरूको संख्याको बारेमा थप विवरणहरू पनि मागेका छन्।
प्लाटफर्ममा भएको बटहरूको संख्याको बारेमा कम्पनीले नियमित रूपमा अनुमानहरू जारी गर्दछ, र त्यस्ता खाताहरूको दैनिक सक्रिय प्रयोगकर्ताहरूको ५% भन्दा कम हुने बताएको छ।
गत हप्ता प्रकाशित वासिङ्टन पोस्टको रिपोर्ट अनुसार, ट्वीटरले अब मस्कलाई ट्वीट, ट्वीट पोस्ट गर्ने यन्त्रहरू तथा खाताहरूको बारेमा जानकारीसहित डेटाको ‘फायरहोस’ हस्तान्तरण गर्ने योजना बनाएको छ। यद्यपि, मस्कले सो डेटा प्रयोग गरेर प्लेटफर्ममा भएको बटहरू प्रभावकारी रूपमा गणना गर्न सक्ने नसक्ने कुरा भने अझै स्पष्ट छैन ।
मस्कले ट्वीटरमा स्थायी प्रतिबन्ध हटाउने, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य निलम्बित खाताहरू फिर्ता ल्याउने, र प्लाटफर्ममा अवैध भाषणबाहेक सबै नियमन नगर्ने योजना बनाएका छन्।
कर्मचारीहरूले मस्कलाई कार्यस्थल कल्चर र घरबाट काम गर्ने विकल्पको बारेमा उनको योजनाहरूको बारेमा पनि सोध्न सक्छन्।
महामारीको सुरुवातदेखि नै घरबाट काम गर्ने अभ्यासमा निकै लचिलो रहेको छ। तर अर्को तर्फ जुनको सुरुमा मस्कले टेस्लाका कर्मचारीहरूलाई व्यक्तिगत रूपमा काममा फर्कन वा कम्पनी छोड्न इमेल गरेका थिए।