
काठमाडौं। सरकारले आगामी वर्षको लागि बजेट विनियोजन गरेसँगै सूचना प्रविधि क्षेत्रका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु निर्माण प्रक्रिया अगाडि बढेका छन्।
राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटिसी) ले देशको सबैभन्दा सूचना प्रविधिका आयोजना बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा निर्माण गर्न यस अघिनै परियोजनाहरु तयार पारेको थियो।
त्यसैगरी सरकारले आगामी वर्षदेखि डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयन गर्ने गरी सङ्घीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रुपान्तरण गर्ने भएको छ। डिजिटल नेपाल फ्रेमवर्क २०७६ मा डिजिटल पूर्वाधार तथा प्रविधिको विकास एवं विस्तार गरी अर्थतन्त्रमा सञ्चार तथा सूचना प्रविधिको योगदान बढाउने रहेको छ।
यसैगरी स्थानीय तहसम्म ब्रोड बैंक सेवाको विस्तार गर्नुका साथै सूचना महामार्ग डाटा सेन्टर इन्टरनेट एक्सचेन्ज सेन्टर, अनलाइन सेवा र विद्युतीय सेवा भुक्तानी विस्तार पूर्वाधार विस्तार गर्न सरकारले बजेट विनियोजन गरेको छ।
केन्द्रले तयार पारेको यस्ता परियोजना निर्माणले मात्र सरकारले राखेका लक्ष्यहरु पुरा गर्न सक्ने विज्ञहरु बताउँछन्। सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने सरकारको लक्ष्य रहेको छ।
सरकारी निकायहरुको डाटा केन्द्रहरु संचालन गर्ने निकायको रुपमा रहेको एनआईटिसीले पश्चिम क्षेत्रका सरकारी निकायहरुलाई ध्यानमा राखेर यस्ता नयाँ डाटा सेन्टर निर्माण गर्न लागेको हो। यसका लागि केन्द्र आफैले डिजाइन तयार पारिसकेको छ।
यसका लागि केन्द्रले ललितपुरको खुमलटारमा निर्माण गरिने डाटा सेन्टरका लागि ठेक्का आह्वान गरेको छ। केन्द्रले डेटा सेन्टर र इन्टरनेट एक्सचेन्ज केन्द्रको भौतिक पूर्वाधार निर्माण गर्न ठेक्का आह्वान गरेको हो। यो सँगसगै ललितपुरको खुमलटारमा डाटा सेन्टर निर्माण प्रक्रिया अगाडी बढेको छ।
सरकारले बजेटमा आगामी वर्ष बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा बन्ने डाटा सेन्टरको पूर्वाधार निर्माणको काम सुरु गरिने उल्लेख छ।
यो आयोजनाको ठेक्कामा आवेदन दिने निर्माण व्यवसायी ९१ करोड ४० लाख रुपैयाँसम्मको बिडिङ क्षमता भएको हुनुपर्ने पनि केन्द्रले बताएको छ। यस आयोजनाको अनुमानित लागत एक अर्ब भन्दा माथि रहेको छ।
प्रस्तावित कार्यमा छनोट भएको स्थानमा आरसीसी फ्रेम संरचनाको भवन निर्माण, पाइल, ढोका/झ्याल, प्लास्टर गर्ने काम, भित्री भित्तामा पेन्टिङ, भुइँ/भित्तामा टाइल गर्ने काम, फल्स सिलिङ्ग गर्ने काम गर्नुपर्ने छ।
विद्युतीय, एयर कन्डिसन, सञ्चार, नेटवर्किङ, फायर फाइटिंगका लागि काम, मेटलको काम, पाइपिङ, स्याल्ब र सेनेटरी कार्यहरू र अन्य सम्बन्धित कामहरू समावेष गर्नुपर्ने छन्।
कोहलपुरमा निर्माण हुने डाटा सेन्टरको भने ठेक्का सम्झौता हुँदै
(एनआईटिसी) ले बाँकेको कोहलपुरमा नयाँ डाटा सेन्टर स्थापनाको ठेक्का लागेर सम्झौताको चरणमा रहेको जानकारी दिएको छ। यसका लागि प्रविधि केन्द्रले ३८ करोड ७६ लाख रुपैयाँमा ठेक्का लगाएको थियो। उक्त ठेक्का समानन्तर-रेलिगरे जेभीले पाएको हो। यस कम्पनी र एनआईटिसी बिच सम्झौता हुन बाँकी रहेको एनआईटिसीका इन्जिनियर रमेशप्रसाद पोखरेलले बताए।
ठेक्का पाउने निर्माण कम्पनीले २४ महिनाको अवधिमा डाटा सेन्टरको निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ। निर्माण सामग्रीको मूल्य भने प्रत्येक महिना घटबढ हुन सक्छ। यसमा मूल्य समायोजन परियोजना र सार्वजनिक खरिद ऐनको दफा ५५ अनुसार प्रदान गर्न सकिने केन्द्रले जनाएको छ। पीपीएमओ अनुसार यदि परियोजना १५ महिना भन्दा बढी छ भने दिशानिर्देश मूल्य वृद्धिको प्रावधान हुनेछ। त्यसैले यसमा पुनर्विचार गर्न सकिने केन्द्रले बताएको छ।
एनआईटिसीका अनुसार सो डाटा सेन्टरको लागि बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको करिब ८५०० वर्गफिट जग्गा एक वर्ष अघिनै लिईसकेको पोखरेलले बताए।
सरकारको पश्चिम क्षेत्रबाट इन्टरनेट कनेक्सनको लागि डार्क फाइबर समेत जोडिने गरि कोहलपुरमा डाटा सेन्टर बनाउने योजना रहेको छ। इन्जिनियर पोखरेलले डाटा सेन्टर अत्याधुनिक प्रविधियुक्त हुने र यसको लागि बहुवर्षिय योजनाअन्तर्गत काम गर्ने गरी ठेक्का लागेको र सम्झौता पनि सोही अनुसार हुने बताए।
अब कोहलपुरको डाटा सेन्टरको लागि छिटै सम्झौता हुने र निर्माण कार्यले तीब्रता पाउने पोखरेलको भनाइ छ। यस्तै खुमलटारमा बन्ने डाटा सेन्टर पनि अत्याधुनिक प्रविधियुक्त हुने र यसको लागि बहुवर्षिय योजनाअन्तर्गत काम गर्ने गरी ठेक्का आह्वान गरिएको पोखरेल बताउँछन्।