काठमाडौं। आइसिटी फाउण्डेसन नेपालको आयोजनामा असार ४ र ५ गते हुवावे डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने भएको छ।
नेपालको सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनको विश्लेषण र भावी कदमबारे बहस गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। आयोजित कन्क्लेभमा डिजिटल नेपाल सम्बन्धी विभिन्न पाँचवटा थिममा १० बढी सेसनहरु सञ्चालन हुने बताइएको छ।
काठमाडौंमा आयोजना हुने दुई दिने कार्यक्रममा विभिन्न ५ देशका ६० बढी वक्ता तथा सबै सरोकारवालासहित ८ सय सहभागी हुने आयोजकले जनाएको छ।
कन्क्लेभमा हुवावे सिंगापुरबाट इन्डस्ट्री एक्पर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जिएम डा.पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्ट लगायतको किनोट प्रस्तुती गरिने आयोजकले जानकारी दिएको छ।
यसैगरी नेपाल राष्ट्र बैंलकका गर्भनर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्याल, आइसिटी विज्ञ मनोहर भट्टराई र बैंकर अनिल शाहले प्रस्तुतीकरण दिनेछन्।
कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन्।
कन्क्लेभका सेसनहरु यस्ता छन्
कन्क्लेभका सेसनहरुमा पहिलो दिन किनोट प्रस्तुती र उद्घाटन पश्चात डिजिटल इन्फास्ट्रक्चर एण्ड कनेक्टिभिटीको सेसन रहेको छ। यसैगरी दोश्रो सेसनको रुपमा डिजिटल स्किल, ट्यालेन्ट पुल एण्ड डिजिटल वर्कफोर्स फर डिजिटल नेपाल सेसन पनि रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार पहिलो दिनको तेस्रो सेसनको रुपमा डेटा ग्याप्स, ब्रिजिङ द डेटा इन टु द सेन्टर स्टेज सेसन छ। पहिलो दिनको अन्तिम सेसन डिजिटल इकोनोमी एण्ड इन्भेष्टमेन्ट अपर्चुनिटी सेसन पनि रहेको छ।
यसैगरी दोस्रो दिन किनोट प्रस्तुतीसँगै इमर्जिङ टेक्नोलोजिज फर डिजिटल ट्रान्सफरमेशन, डिजिटल आन्टरप्रेनिरसिप र साइबर सेक्युरिटी सम्बन्धी सेसनहरु रहेका छन्। सोही दिन डिजिटल फिनोभेसन एण्ड बियोण्ड फर डिजिटल सोसाइटी, बिउल्डिङ डिजिटल लिडरसिप र अन्त्यमा डिजटल रुपान्तरणको लागि अबको बाटो सम्बन्धी सेसनहरु संचालन हुने बताइएको छ।
यस्तै कन्फ्रेन्स सेसनहरुसँगै डिजिटल नेपाल सम्बन्धी केही प्रदर्शनी स्टलहरु पनि रहने बताइएको छ।
कार्यक्रममा डिजिटल नेपालको फ्रेमवर्क, एजेण्डा, अवधारणा र डिजिटल रूपान्तणका विषयमा वृहत छलफल तथा अन्तरक्रिया हुने आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले जानकारी दिए। डिजिटल नेपाल फ्रेमवर्क २०१९ सार्वजनिक भएपश्चात यस विषयमा केन्दित सम्भवत यो पहिलो बृहत कार्यक्रम रहेको उनले बताए।
डिजिटल नेपाल कन्क्लेभमा सरकारी निकाय र विभिन्न मन्त्रालयका सचिवहरु, डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत ८ महत्वपुर्ण क्षेत्रका सरोकारवालाहरु, कर्पोरेट तथा बैकिङ क्षेत्र, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका अग्रज, विज्ञ तथा उद्यमीहरुसहित ८०० बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
डिजिटल रूपान्तरणका लागि डिजिटल नेपाल कन्क्लेभ नारासहित आयोजना भइरहेको कार्यक्रमको शीर्ष प्रायोजक हुवावे, सहप्रायोजक इन्फोडेभलपर्स र कनेक्टेड बाईमा एनसेल रहेको छ।


