नेपाल टेलिकमले लिज लाइनको महसुल ३६ प्रतिशत घटायो, यस्तो छ नयाँ महसुल दर



२०७९ असार ९ गते १५:१४ | Jun 23, 2022


नेपाल टेलिकमले लिज लाइनको महसुल ३६ प्रतिशत घटायो, यस्तो छ नयाँ महसुल दर


काठमाडौं। नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल ३६ प्रतिशतले घटाएर शुल्क निर्धारण गरेको छ। टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल असार १ देखि लागू हुनेगरी नयाँ दर तय गरेको छ। 

Tata
Global Ime

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले प्रति एमबीपीएस २५ सय रुपैयाँ रहेकोमा घटाएर प्रति एमबीपीएस १६ सय रुपैयाँ तोकेको छ। त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर प्रति एमबीपीएस २३ सय रुपैयाँबाट घटाएर प्रति एमबीपीएस १६ सय रुपैयाँ नै कायम गरिएको टेलिकमले जनाएको छ। 

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महसुल क्रमशः प्रति एमबीपीएस २१ सय रुपैयाँ र प्रति एमबीपीएस १९ सय रुपैयाँ रहेकोमा अब दुवैको महसुल दर प्रति एमबीपीएस १५ सय रुपैयाँ कायम गरिएको टेलिकमले जनाएको छ। 

इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल प्रति एमबीपीएस २७ सय रुपैयाँ रहेकोमा अब प्रति एमबीपीएस २४ सय रुपैयाँ, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २४ सय रुपैयाँ रहेकोमा अब प्रति एमबीपीएस २१ सय रुपैयाँ र १०० एमबीपीएस भन्दा बढीको प्रति एमबीपीएस २१ सय रुपैयाँ रहेकोमा अब प्रति एमबीपीएस १८ सय रुपैयाँ तोकेको टेलिकमले जनाएको छ।