पिपरा गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप २०% अनुदान दिने, कृषकलाई गाउँमै बीमा सेवा



२०७९ असार १२ गते १५:०८ | Jun 26, 2022


काठमाडौं। महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा किसानलाई थप २० प्रतिशत अनुदान दिने भएको छ।

Tata
Global Ime

बीमा समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा पिपरा गाउँपालिकाका जनप्रतिनिधिले किसानलाई बीमाको प्रिमियम तिर्न पर्ने भार घटाउन यस्तो घोषणा गरेका हुन्। 

कार्यक्रममा कृषि तथा पशुपन्छी बीमामा आगामी साउन १ गतेदेखि नै लागू हुनेगरी गाउँपालिकाले थप अनुदान उपलब्ध गराउने पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले बताए।

सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा बाँकी रहने २० प्रतिशतमा कति अनुदान दिने भन्ने सम्बन्धमा बोर्डबाट निर्णय गरेर साउनदेखि नै उपलब्ध गराउने पनि उनको भनाइ थियो। 

कृषि तथा पशुपन्छी बीमा गरेपछि क्षति भएमा बीमा दाबी पाउने सुनिश्चितता हुनुपर्नेमा अध्यक्ष यादवले जोड दिए ।

कृषकले गाउँमा नै बीमा गर्न पाउनेगरी बीमा कम्पनीहरूलाई खटाउन बीमा समितिसँग आग्रह गरेका छन्।

कार्यक्रममा बीमाको परिचय, बीमाको महत्त्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र समाजमा पछि परेका समुदायलाई समेत बीमाको दायरामा ल्याउन स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा बीमा समितिका निर्देशक दिनेशकुमार लालले जानकारी दिए।

गाउँ गाउँमा पुगेर कृषि तथा पशुपन्छी बीमा विस्तार गर्न बीमा समितिले जिल्ला समेत तोकेर विभिन्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको उनले बताए। तोकिएको समयमा बीमा दावी भुक्तानी नपाएमा वा बीमा सम्बन्धी कुनै समस्या परेमा समितिमा जानकारी दिन आग्रह गरेका छन्।

कार्यक्रममा पिपरा गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य र कर्मचारीहरू, विभिन्न बीमा कम्पनीका शाखाका कार्यालयका कर्मचारीहरू, कृषक, महिला लगायतको उपस्थिति रहेको समितिले जनाएको छ।