एलआइसीमा सातादेखि बजारको नजर, पुँजी वृद्धिको चुनौतीबीच सेयर मूल्य भने दबाबमुक्त  



२०७९ असार १८ गते १३:४१ | Jul 2, 2022


एलआइसीमा सातादेखि बजारको नजर, पुँजी वृद्धिको चुनौतीबीच सेयर मूल्य भने दबाबमुक्त  


काठमाडौं। सेयर बजारमा पछिल्लो समय चर्चामा रहेका इन्स्योरेन्स कम्पनीहरुमध्ये एक हो, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल। समग्र बजारमा उतारचढाव जारी रहँदा पनि बढिरहेको यो कम्पनीको सेयर मूल्यले अब केही खास आउँछ कि भन्नेमा लगानीकर्ता देखिएका छन्।

Tata
Global Ime

पछिल्लो दुई सातामा सर्वाधिक मूल्यवृद्धिको सूचीमा एलआइसीको सेयर समावेश छ। त्यस्तै, उल्लेख्य कारोबारको भएको पनि पाइन्छ। मूल्यमा ३५ प्रतिशत अधिकको वृद्धि यही दुई साताको अन्तरालमा देखिन्छ। 

गत साताको मंगलबारदेखि मूल्यले थप तीव्रता पाएको छ। साताभरमै मूल्य करिब ४०० रुपैयाँ बढेको छ भने झन्डै ५०० रुपैयाँको उतारचढाव मूल्यमा देखिन्छ। तर, साताको अन्तिम कारोबार दिन भने कम्पनीको मूल्यमा गिरावट आयो। जसको मुख्य कारण धितोपत्र बोर्डले लाईफ इन्स्योरेन्स  कर्पोरेसनसँग स्पष्टीकरण मागेको थियो। 

मूल्यमा देखिएको हलचल कम्पनी स्रोतबाट चुहिएको सूचनाको परिणाम हुन सक्ने धितोपत्र बोर्डको आशंका हो। यद्यपि कम्पनीले भने आफ्नो पक्षबाट त्यस्तो कुनै त्रुटि नभएको भनि स्पष्टीकरण पठाएको छ। धितोपत्र बोर्डले भने कम्पनीलाई अझै पनि शंकाकै दृष्टिले हेरेको स्रोत दाबी गर्छन्।    

विशेषगरी आकर्षक लाभांश र हकप्रद कम्पनीले दिने चर्चा बजारमा छ। नियामकले तोकेबमोजिम पुँजी पुर्याउन बोनस सेयर र हकप्रदको सहायता कम्पनीले लिने चर्को हल्ला बजारमा फैलिएको पनि हो। 

पछिल्लो समय बीमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन्। आउँदो चैत मसान्तसम्म जसरी भए पनि जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमाले साढे २ अर्ब चुक्ता पुजी पुर्याइसक्नुपर्ने बाध्यकारी व्यवस्था बीमा समितिले गरेको छ। 

सोही प्रावधान अनुसार हाल बीमा कम्पनीहरु धमाधाम मर्जरमा पनि जाँदै छन्। स्वयं पुँजीको जोहो गर्न नसक्ने बीमा कम्पनी फोर्सफुल्ली मर्जरमा जानु पर्ने भएको देखिन्छ। मुख्यतय: बीमा कम्पनीको संख्या घटाउने र बजारको जोखिम बहन गर्न बीमा कम्पनीको क्षमता अभिवृद्धि गर्ने योजना बीमा समितिको हो। 

नियामकको यही व्यवस्था अनुरुप लाइफ इन्स्योरेन्स कर्पोरेसनले पनि तोकेबमोजिम थप आवश्यक पुँजीको जोहो गर्नु छ। पछिल्लो तथ्यांकअनुसार कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ। आगामी चैतसम्म कम्पनीले थप २ अर्ब ३५ करोड रुपैयाँ जतिको जोही गर्नु छ। हालको भन्दा साढे ८८ प्रतिशत पुँजीको खाचो एलआइसीलाई परेको छ। 

कम्पनी मर्जरमा नजाने पनि झन्डै पक्कापक्की नै छ। किनभने कम्पनी भारतको लाइफ इन्स्योरेन्स कर्पोरेसनको नेपालमा बिस्तार भएको शाखा मात्र हो। अन्य नेपाली बीमासँग मर्जरमा जानुभन्दा कम्पनी आफैंले पुँजीको जोहो गर्ने योजना छ। जसको समाधानमा कम्पनीले बोनस सेयर र हकप्रदको सहायता लिने देखिन्छ।

तर मर्जरलाई प्रभावकारी बनाउन बीमा समितिले हकप्रद पुँजी वृद्धिको समाधान नहुने पनि बताएको हो। जसपछि कम्पनीसँग अब भने बोनस सेयर मार्फत पुँजी बढाउने विकल्प मात्र बाँकी रहन्छ। यद्यपि साढे ८८ प्रतिशत पुँजी बराबरको बोनस सेयर लाभांशस्वरूप बढ्न कम्पनी असक्षम देखिन्छ। 

यसकारण पनि हकप्रदको व्यवस्थाप्रति केही लचिलो हुन मर्जरमा जान नचाहेका कम्पनीहरुले बीमा समितिमा बिन्ती बिसाएका छन्। र स्रोतका अनुसार मर्जर पछि पनि पुँजी अभाव भएको अवस्थामा ३० देखि ३५ प्रतिशतसम्म हकप्रद निष्कासनको अनुमति समितिले दिने योजना छ। मर्जरमा गएकालाई मात्र यस्तो सहुलियत दिने समितिको अन्तरिक निर्णय पनि हो। यद्यपि समिति मर्जरमा नगएका प्रति पनि नरम भएर प्रस्तुत हुने अनुमान लगाउन सकिन्छ।         
    

लाभांशको सूचनाअघि सधैं मूल्यमा हलचल
कोरोनाकाल सुरु हुनु अघिबाट अर्थात २०७६ मंसिरबाट निरन्तर उकालोको यात्रा तय गरेको कम्पनीको सेयर मूल्य निरन्तर अघिल्लो फागुन ५ गते सम्म सकारात्मक देखियो ।

यसरी बजार अघि जानुको मूख्य कारण थियो कम्पनीले कमाएको मुनाफा। कम्पनीले कोरोनाकालका बाबजुद आर्थिक वर्ष २०७५ ̸७६ मा राम्रै बीमा पोलिसी बेचिएको देखियो।  किनकि यो आर्थिक वर्षभरीको वित्तीय विवरण हेर्ने हो कम्पनीले करिब ११ करोड मुनाफा कमाएको छ। प्रति सेयर आम्दानी पनि करिब ६ प्रतिशत पुगेको छ।

तसर्थ त्रैमासिक रुपमा आउने वित्तीय विवरणमा राम्रो मुनाफा देखेपछि यो कम्पनीको सेयर  मूल्य निरन्तर उकालो लागेको देखिन्छ। गत फागुन २५ मा भएको १८ औं साधारणसभाबाट कम्पनीले लगानीकर्तालाई १० प्रतिशत लाभांश दिने प्रस्ताव अघि सार्यो ।

जब कम्पनीले लाभांश सार्वजनिक गर्छ, उक्त समय सेयर बजारमा खरिदकर्ताको आकर्षण चुलिदै जान्छ। विशेषगरी बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कम्पनीको सेयर मूल्य गतिविधिले छुट्टै रौनक ल्याउने गरेको हुन्छ।

यहाँ पनि कम्पनीले लाभांश घोषणा गरेदेखि बुक क्लोजको समयसम्म खरिकर्ताको चाप बढेपछि सेयर मूल्य २१०० माथि पुग्यो । ६९० रुपैयाँको न्यूनतम बिन्दुबाट यहाँसम्म  माथि पुग्नु सामान्य कुरा भने होइन। यो बीचमा कम्पनीको सेयर मूल्य २२२.८५ प्रतिशतले बढिसकेको थियो।

लाभांश वितरणपश्चात मूल्य समायोजन भयो। मूल्य समायोजनपछि खुलेको बजारमा केही दिन बिक्रेताको चापले सेयर मूल्य घट्यो तर समायोजन भएको मूल्यमा पुनः खरिदकर्ताको चापले बजार बढ्दै जाँदा २२०० पुगेको थियो ।

उक्त बिन्दुमा पुगेपछि घट्न सुरु गरेको बजार मूल्य गत मंसिरसम्म सामान्य बढे पनि घटि नै रह्यो।

तर गत मंसिर २७ गते १,४५० रुपैयाँबाट उकालोको यात्रा तय गरेको कम्पनीको सेयर मूल्यले पुनः सरासर निरन्तरता पाइरहेको थियो। यसरी बजार बढ्नुको कारण कम्पनीले वितरण गर्ने लाभांश बढ्नु हो।

बजार बढ्न थालेको केही दिनपछि कम्पनीले आर्थिक वर्ष ०७६ ̸७७ का लागि २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गर्यो। जुन ०७५/७६ को तुलनाका करिब दोब्बर थियो।

सो पश्चात बुक क्लोजको मिति सम्म कम्पनीको सेयर मूल्य बढेर करिब २२ सय माथि पुग्यो। तर जब लाभांश वितरण पश्चात बोनस सेयरको सेयर मूल्य समायोजन भयो, त्यसपछि कम्पनीको सेयर कारोबार १,९८२ मा खुल्यो। घटेको मूल्यमा केही दिन खरिदकर्ता बढे पनि मूल्यलाई भने त्यति माथि लान सकिएन। जसका कारण त्यसयता बजार निरन्तर ओरालो लाग्यो।

केही समय अघिका वित्तीय विवरणमा करोडौं करोड मुनाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० लाख १ हजार ५१२ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन अघिल्ला वर्षहरुको तुलनामा निकै कम हो।
यसरी कम्पनीको मुनाफा घट्नु साथै कम्पनीले आफ्नो वित्तीय विवरण पनि गलत निकालेको सूचना आउन थालेपछि कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागेको हो।

यसरी २२ सय रुपैयाँको उच्च मूल्यमा पुगेर १,०८५ सम्म घटेको सेयर मूल्य पछिल्लो केही दिनयता बढ्न थालेको छ। केही दिनअघि समग्र बजार नै घटिरहेको बेला सेयर मूल्य बढ्न थालेको हो। यसरी बजार बढ्नुको कारण आउदो चौथो वित्तीय विवरणा राम्रो मुनाफा हुन सक्ने अनुमान गर्न सकिन्छ। साथै बजारमा कम्पनीको आकर्षक बोनस सेयर र हकप्रदको चर्चा समेत छ। 

जोखिम व्यवस्थपनको रकम बढ्दा नाफामा उल्लेख्य गिरावट
गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सको खुद नाफा ९६.१० प्रतिशतले घटेर ६ करोड रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा तीव्ररूपमा बढेको जोखिम व्यवस्थपनको रकमले खर्चको वृद्धिदर निकै फराकिलो देखिन्छ। अघिल्लो आर्थिकमा ११ करोड ४५ लाख रुपैयाँमा सीमित कुल खर्च यस आर्थिक वर्षको सोही अवधिमा २६ करोड रुपैयाँभन्दा माथि छ। जसमध्ये कम्पनीले कुल १५ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम जोखिम व्यवस्थापनको शीर्षकमा छुट्याएको देखिन्छ।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ४ अर्ब ६४ करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा १७ अर्ब ७ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब १९ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ।   

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ अर्ब ६२ करोड २७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.१७ प्रतिशतले मात्रै बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १३ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले १३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले १६ हजार ३३१ वटा दाबीबापत ६ अर्ब ६६ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३१ करोड ५३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ९० लाख रुपैयाँ, जीवन बीमा कोषमा ९० अर्ब ३० करोड ४१ लाख र महाविपत्ति कोषमा ३६ करोड ५ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी ०.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४०.३१ रुपैयाँ र धितोपत्र बजारको अन्तिम कारोबार मूल्य १४६९ रुपैयाँका अनुसार सेयरको मूल्य आम्दानी अनुपात ६३८६.९५ गुणा छ।