ठूला हेलिकोप्टरले उडान थाल्ने भएपछि छुट्टै पार्किङ तयारीमा क्यान, एमआइ-१७ को पार्किङ टीआइएमा



२०७९ असार २० गते १३:१४ | Jul 4, 2022


ठूला हेलिकोप्टरले उडान थाल्ने भएपछि छुट्टै पार्किङ तयारीमा क्यान, एमआइ-१७ को पार्किङ टीआइएमा


काठमाडौं। ठूला हेलिकोप्टर कम्पनी उडान संचालनमा आउने भएपछि नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमआइ-१७ हेलिकोप्टर राख्न अस्थायी पार्किङ तयार गर्ने भएको छ।

Tata
Global Ime

पछिल्लो समय हेलि नेपाल नाम गरेको नयाँ दर्ता भएको कम्पनीले पनि एमआइ सिरिजको हेलिकोप्टर ल्याएर उडान गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत पाइसकेको छ। यो कम्पनीले तीनवटा एमआइ-१७ र एउटा एयरबसको हेलिकोप्टर उडान संचालन गर्ने अनुमति पाएको छ।

प्राधिकरणले विमानस्थलको दक्षिणपट्टी रहेको फुटबल मैदानमा ठूला किसिमका हेलिकोप्टरका लागि अस्थायी पार्किङ निर्माण तयार गर्ने भएको हो।

एमआइ-१७ सिरिजको जहाजको ध्वनि प्रदुषणका कारण यसका लागि छुट्टै अस्थायी पार्किङ तयार गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

‘फायर स्टेशनको दक्षिणपट्टी रहेको फुटबल ग्राउण्डमा हामीले एमआइ सिरिजको हेलिकोप्टरका लागि छुट्टै अस्थायी पार्किङ निर्माण गर्न लागिएको हो। एमआइले गर्दै आएको ध्वनि प्रदुषण र साना हेलिकोप्टर प्रभावित हुने भएका कारण नयाँ पार्किङ तयार गर्न लागिएको हो ‘प्रवक्ता सिटौलाले भने।

हाल यो सिरिजको हेलिकोप्टर श्रीएयरले संचालन गर्दै आएको छ। कम्पनीसँग भएको कुल पाँचवटा एमआइमध्ये एउटा विदेशमा प्रयोग भइरहेको छ भने एउटा नेपालमै संचालन हुँदै आएको छ। बाँकी तीनवटा हेलिकोप्टर मर्मत संभार नभएर ग्राउण्डेड रहेको उनले जानकारी दिए।

यसको अनुमानित लागत भने आउन बाँकी नै रहेको उनले जानकारी दिए। नलिञ्चोक स्थित अत्याधुनिक हेलाप्याड निर्माण सम्पन्न भएलगत्तै आगामी आर्थिक वर्ष भित्रै टिआइएमा अवतरण हुँदै आएका सबै कम्पनीका हेलिकोप्टर पार्किङ स्थानान्तरण गरिने उनले जानकारी दिए।

यस्तै अर्को हेलिकोप्टर कम्पनी सगरमाथाले उडानका लागि पर्यटनमा आवेदन दिइसकेको छ। पर्यटन मन्त्रालयले अहिले कम्पनीको वित्तीय तथा प्राविधिक अवस्थाका बारेमा अध्ययन गर्न समिति गठन गरेको छ। र, केही दिनमै यो कम्पनीले पनि उडानका लागि अनुमति पाउनेछ।

मन्त्रालयले हाल भइरहेको एयर ट्राफिक कनजेशन न्यूनीकरण उद्धेश्यले नयाँ कम्पनीलाई नाइट स्टप बेस बाहिर रहने गरी अनुमति दिँदै आएको जनाएको छ।

रोटरी विङ्स तर्फ मुलुकमा हाल सिम्रिक, कैलाश, मुस्ताङ, एयर डाइनेष्टी, अल्टिच्युड, हेलि एभरेष्ट, प्रभु, श्री, मनाङ, माउन्टेन लगायत वायुसेवा कम्पनीले उडान सेवा दिँदै आएका छन्।