
काठमाडौं। एनसेलले व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरेको छ।
एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडकखण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू-संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र के.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले मंगलबार संयुक्त रुपमा उक्त ग्रीन बेल्ट उद्घाटन गरेका हुन्।
एनसेलले यस सामाजिक पहलअन्तर्गत कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माण सकेर हाल यस क्षेत्रको संरक्षणको काम गरिहेको जनाएको छ।
एनसेलले ल्यान्डस्केपिङसहित हरियाली निर्माण र संरक्षणबाहेक कोटेश्वरदेखि कलंकी सडकखण्डमा वृक्षारोणमा पनि योगदान पुर्याएको छ। यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै समुदाय र जनमानसको स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने भएकोले एनसेलले सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्ने बताइएको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले भने, ‘दिगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरण सम्बन्धी लक्ष्य र हाम्रो आजियाटा समूहको नेट जिरो कार्बनको आकांक्षा अनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा हामी खुसी छौं। हामी वन तथा भू-संरक्षण विभाग, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, सम्बन्धित वडाहरू र अन्य सरोकारवालाहरूप्रति आभारी छौं। यो परियोजना सार्वजनिक/निजी साझेदारीको उत्कृष्ट उदाहरण हो र यसले हामी कसरी यस्ता परियोजनाहरू सामूहिक रूपमा साकार पार्न सक्छौं भनेर प्रष्टाएको छ।'
वन तथा भू-संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीले भने, ‘यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने हाम्रो प्रतिबद्धता रहेको थियो। केही प्रतिस्थापन गरेर शत प्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठूलो उपलब्धी हो। रिङरोडको ग्रीनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवर्द्धन र सौन्दर्यीकरणमा निजी र सार्वजनिक सहकार्यको उत्तम उदाहरण प्रस्तुत गरेकोमा हामी एनसेललाई धन्यवाद दिन चाहन्छौं। भविष्यमा यस्ता सहकार्यका लागि अन्य धेरै क्षेत्रहरू छन्।’
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने, ‘हामीले सम्पन्न गरेका सुन्दर परियोजनामध्ये यो एउटा हो। त्यसैले म ललितपुर महानगरपालिकाको तर्फबाट एनसेललाई धन्यवाद दिन चाहन्छु। ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने हाम्रो भिजनअन्तर्गत चारवटा रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य सम्पन्न गरी सहरमा १४०० वटा बत्ती जडान गर्ने काम गरिरहेका छौं। अर्को चरण भनेको ललितपुरभित्र पर्ने रिङरोडको ७.९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने हो।’
एनसेलले आफ्नो सामाजिक पहलअन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १.६५ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याएको जनाएको छ।