वीरगंज। वीरगंज भन्सारबाट चालू आवको ११ महिनामा करिब ५९ अर्ब मूल्य बराबरको प्रशोधित तेल निकासी भएको छ ।
चालु आवको साउनदेखि जेठ मसान्तसम्म निकासी भएको ‘टप टेन’ वस्तुहरुमा भटमासको प्रशोधित तेल एक नम्बरमा छ भने दोस्रोमा पामको प्रशोधित तेल, चौथोमा सूर्यमुखी तेल र सातौं नम्बरमा पिना अन्यलगायतको वस्तु रहेको छ ।
वीरगंज भन्सार नाका भएर ३० अर्ब ३० करोड ४७ लाख ५३ हजार मूल्य बराबरको भटमासको प्रशोधित तेल निकासी भएको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए।
यसैगरी पाम तेल २५ अर्ब ६ करोड ६४ लाख ६५ हजार मूल्य बराबरको निकासी भएको छ भने सूर्यमुखी प्रशोधित तेल २ अर्ब ७८ करोड ७९ लाख ३७ हजार हजार मूल्य बराबरको निकासी भएको छ।
पिना मात्रै १ अर्ब ६ करोड ५ लाख ९८ हजार मूल्य बराबरको निकासी भएको छ।
यसबाट करिब ५९ अर्ब ११ करोड ८६ लाख ५३ हजार मूल्य बराबरको प्रशोधित तेल र तेलहन सामान (पिना लगायत अन्य वस्तु) निकासी भएको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए।
वीरगंज भन्सारको तथ्यांक हेर्दा पछिल्लो ११ महिनामा भटमासको प्रशोधित तेल मात्रै ३० अर्ब ३० करोड ४७ लाख ५३ हजार मूल्य बराबर १२ करोड १० लाख ८४ हजार ८ किलो निकासी भएको छ । जबकी गत आवको सो अवधिमा भटमासको प्रशोधित तेल २८ अर्ब ५६ करोड ६६ लाख ७२ हजार मूल्य बराबरको १६ करोड ३७ लाख ८८ हजार ४ सय ३७ किलो निकासी भएको थियो ।
गत आवमा निकासी भएको जेठ सम्मको कुल मूल्यभन्दा ६ प्रतिशतले बढी भटमासको तेल निकासी भएको देखिएको छ । त्यसैगरी, चालू आवको ११ महिनामा दोस्रो स्थानमा रहेको प्रशोधित पाम तेल झण्डै ३५ अर्ब ६ करोड ६४ लाख ६५ हजार मूल्य बराबरको १२ करोड ३५ लाख १३ हजार ७ सय ४७ किलो निकासी भएको छ ।
पाम तेल गत आवको सो अवधीमा निकासी भएको थिएन । तीन नम्बरमा रहेको फलफुलको जुस चालु आवको ११ महिनामा ५ अर्ब २९ करोड ७४ लाख ३५ हजार मूल्य बराबरको ७ करोड २० लाख १८ हजार ६ सय १८ किलो निकासी भएको छ। गत आवको सो अवधिमा ३ अर्ब ८२ करोड ५३ लाख ३३ हजार मूल्य बराबरको ५ करोड २८ लाख २० हजार ७ सय ७१ किलो निकासी भएको थियो ।
चालू आवमा फलफुलको निकासी ३८ प्रतिशतले वृद्धि भएको छ ।
चार नम्बरमा रहेको सूर्यमुखी प्रशाधित तेल २ अर्ब ७८ करोड ७९ लाख ३७ हजार मूल्य बराबरको १ करोड ४० लाख ७६ हजार ५ सय ७६ किलो निकासी भएको छ भने गत आवको सो अवधिमा १ अर्ब ५१ करोड ९२ लाख ४५ हजार मूल्य बराबरको ९३ लाख ९६ हजार ३३९ किलो निकासी भएको थियो ।
गत आवभन्दा चालू आवको ११ महिनामा ८३ प्रतिशतले निकासी वृद्धि भएको छ ।
पाँचौ नम्बरमा रहेको जयमोठ कपडा १ अर्ब ४७ करोड ५२ लाख ३६ हजार मुल्य बराबरको ७ लाख ५४ हजार ६ सय ८४ वर्गमिटर निकासी भएको छ । गत आवको सो अवधिमा १ अर्ब ८ करोड ४९ लाख ९ हजार मूल्य बराबरको ६ लाख ३१ हजार २ सय ७६ वर्गमिटर कपडा निकासी भएको थियो ।
जयमोठ कपडाको निकासी गत आवभन्दा यस आवमा ३६ प्रतिशतले वृद्धि भएको छ । ६ नम्बरमा रहेको सिन्थेटिक यार्न १ अर्ब ४३ करोड १ लाख ८७ हजार मूल्य बराबरको ५० लाख ९५ हजार ५ सय ८७ किलो निकासी भएको छ।
गत आवको सो अवधीमा ८६ करोड ४० लाख २४ हजार मूल्य बराबरको ३८ लाख ५७ हजार ५ सय ३१ किलो निकासी भएको थियो । सिन्थेटिक यार्न चालू आवमा ६६ प्रतिशतले वृद्धि भएको छ ।
सात नम्बरमा रहेका पिना अन्य १ अर्ब ६ करोड ५ लाख ९८ हजार मूल्य बराबरको २ करोड ४५ लाख ८८ हजार ५ सय किलो निकासी भएको छ भने गत आवको सो अवधिमा ६४ करोड ६ लाख ७९ हजार मूल्य बराबरको ९६ लाख ३३ हजार किलो निकासी भएको थियो । यो ६६ प्रतिशतले वृद्धि भएको छ ।
आठौं नम्बरमा रहेको स्पोर्टस सुज ७८ करोड ४९ लाख ५० हजार मूल्य बराबरको २९ लाख २५ हजार ५०८ जोरा निकासी भएको छ। गत आवको सो अवधिमा ६४ करोड ७९ लाख १९ हजार मूल्य बराबरको १९ लाख ९७ हजार ५ सय ९१ जोरा जुत्ता निकासी भएको थियो ।यो गत आवभन्दा चालू आवमा २१ प्रतिशतले वृद्धि भएको छ ।
नौ नम्बरमा रहेको अन्य कपडा (सुती,उनी,टेरिकटन बाहेक) ७८ करोड ८६ लाख २० हजार मूल्य बराबरको ८ करोड २५ लाख १० हजार ९२२ वर्गमिटर कपडा निकासी भएको छ। गत आवको सो अवधिमा ८४ करोड ९० लाख ८३ हजार मूल्य बराबरको ८ करोड ७३ लाख ३० हजार ६ सय ४८ वर्गमिटर कपडा निकासी भएको थियो ।
गत आवभन्दा चालू आवमा यो कपडा ८ प्रतिशतले निकासीमा ह्रास आएको छ ।
१० नम्बरमा रहेको दन्तमन्जन चालू आवको ११ महिनामा ७२ करोड १४ लाख ९७ हजार मूल्य बराबरको १४ लाख ७२५ प्रतिगोटा निकासी भएको छ भने गत आवको सोही अवधिमा ८७ करोड ९७ लाख ८७ हजार मूल्य बराबरको १९ लाख २३ हजार ४०९ प्रतिगोटा दन्तमन्जन निकासी भएको छ । गत आवभन्दा चालू आवमा १८ प्रतिशतले निकासीमा ह्रास भएको छ ।