
काठमाडौं। सांगीतिक कलाकार जेसन डेरुलो र डेनिस बियर ब्राण्ड टुबोर्गबीचको नयाँ सहकार्यअन्तर्गत संसारभरका उदीयमान संगीत कलाकारहरुलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने अवसर दिएको छ।
यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौं वर्ष मनाउँदै छ। टुबोर्ग ओपनले संगीतको शक्ति प्रयोग गरी विश्वभरका कलाकार र दर्शकहरुका लागि अद्धितीय अनुभवहरु सिर्जना गर्दै आएको गोर्खा ब्रुअरीले जनाएको छ।
नयाँ कलाकारहरुका लागि उक्त अवसर लस एन्जलसमा आयोजना गरिएको थियो। जहाँ साइन नगरिएका वा संगीतमा करियर खोजिरहेका कलाकारहरुले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रुपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयहरुमा छलफल गरेको बताइएको छ।
त्यसपछि प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलहरुमध्ये एक द विल्टर्न थिएटरमा जेसन डेरुलो सामु प्रस्तुति दिएको कम्पनीले जनाएको छ।
‘संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्ले–बुक छैन। त्यसैले यदि तपाई एक संगीतकार बन्न चाहनुहु्न्छ भने तपाईं लगभग आफ्नै भरमा हुनुहुन्छ। तर यी अनुभवहरुबाट गुज्रिएको कोही तपाईंको साथमा हुनाले ठूलो फरक पार्न सक्छ। यो अभियानको बारेमा मलाई मनपर्ने कुरा यही नै हो। मलाई लाग्छ कि यदि मैले त्यस्तो प्रकारको मार्गदर्शन पाएको भए मैले धेरै कम ठक्कर खाने थिए, त्यसैले म यी प्रतिभाशाली कलाकारहरुको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु,’ अभियानमा सहकार्य बारे बोल्दै डेरुलोले भने।
टुबोर्ग ओपन प्रोजेक्टमा भीइके नेपाल, डीइई एमसी भारत, सोख्रुल्लो अब्दुल्लाइब उज्वेकिस्तान, हल्को टर्की, इभा लोरेन्स् सर्बिया र स्टोपोस्टो बोस्नियाका उदीयमान कलाकारहरु सहभागी रहेको बताइएको छ।
यी कलाकारहरले आउँदो महिनाहरुमा टुबोर्ग मार्फत सहयोग प्राप्त गरी जेसन सामु प्रदर्शन गरेका ट्रयाकहरुको उत्पादन र विकास गर्ने कम्पनीले जनाएको छ।
‘संगीतको बारेमा मात्र होइन, मेरो संगीतको बारेमा कुरा गर्न जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो। उनले गीत लेखन र मेरो प्रदर्शनको बारेमा सल्लाह दिए र त्यो म नेपाल फर्किएपछि मेरो प्रक्रियामा लागू गर्नेछु,’ टुबोर्ग ओपनको आफ्नो अनुभव बारेमा कुरा गर्दै भीइके (नेपाल) ले भने
२०१७ को सुरुवातदेखि टुबोर्ग ओपनले द चेनस्मोकर्स, मेजर लेजर, क्लिन ब्यान्डिट, डिप्लो र मो जस्ता विश्वव्यापी कलाकारहरुसँग सहकार्य गरि संसारभरिका दर्शकहरुलाई जोड्ने हिटहरु निर्माण गरेको छ।
‘निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ। टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागी सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ। टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो जहाँ हामीले नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं। हामी यस वर्षका लागी जेसन डेरुलो र भेकसँग सहकार्यको लागी निकै उत्साहित छौं र दर्शकहरुले पनि उक्त सहकार्यको नतिजा मन पराउनुहुने कुरामा धेरै सकारात्मक छौं,’ गोर्खा ब्रुअरीका मार्केटिङ निर्देशक आशिष विष्टले भने।