शैक्षिक संस्था तथा विद्यालयहरूलाई डिजिटाइज गर्दै तीन युवाले जन्माएको ‘वेद’



२०७९ असार ३० गते ०९:०२ | Jul 14, 2022


शैक्षिक संस्था तथा विद्यालयहरूलाई डिजिटाइज गर्दै तीन युवाले जन्माएको ‘वेद’


Tata
Global Ime

काठमाडौं। कलेजका सहपाठी पोखराका निर्देश द्वा र डुम्रेका सन्जन पिया। २०७१ मा काठमाडौं इन्जिनियरिङ कलेजबाट उनीहरूले एकसाथ सफ्टवेयर इन्जिनियरिङमा स्नातक गरे। त्यसपछि एकसाथ  एउटा आइटी कम्पनीमा आबद्ध भए। त्यहाँ उनीहरूको भेट काठमाडौंका सुजीत पाठकसँग भयो। छोटो समयमै तीन जनाबीच मित्रता कसिलो भयो।

उनीहरू त्यहाँ सफ्टवेयर बनाउने काम गर्थे। आफ्नै केही गर्ने सोच थियो। सन्जन भन्छन् 'हामी पर्यटन, स्वास्थ्य, होटल व्यवसाय र शिक्षा आदि जुन क्षेत्रमा भए पनि केही गर्ने सोचिरहेका थियौं। हामीले रेस्टुरेन्ट क्षेत्रमा पनि केही काम गर्यौं। सँगसँगै  हामीले शिक्षामा केही नयाँ काम गर्ने निधो गर्यौं र अध्ययन अघि बढायौं।' 

यो २०१५ को कुरा हो। भूकम्पपछिको खाली समयलाई अवसरमा परिणत गर्दा 'वेद'को जन्म भयो। वेद क्लाउड बेस्ड स्कुल म्यानेजमेन्ट सफ्टवेयर हो, जसलाई इन्ग्रेल्स प्रालिले उत्पादन गरेको छ। निर्देश बुझाउँछन् 'वेद भनेको एउटा डिजिटल पूर्वाधार तथा प्लेटफर्म हो, जसले कुनै पनि विद्यालय तथा शैक्षिक संस्थाहरूलाई पूर्णत: डिजिटाइज गर्छ।'

शैक्षिक संस्थालाई डिजिटाइज गर्दै 
वेद एपले स्कुलमा हुने सबै नै कुरा डिजिटाइज गर्छ। विद्यालयको वित्त, परीक्षाको नतिजा, सूचना व्यवस्थापन, क्यान्टिन, प्रशासन, बिलिङ, कागजातहरू, प्रशासनिक कामहरू, आगन्तुकहरूको रेकर्ड राख्ने लगायत सम्पूर्ण कामहरू डिजिटाइज गरिदिन्छ। 

त्यस्तै अभिभावकका लागि घर बसी-बसी आफ्नो बच्चाको दैनिक रिपोर्ट, पढाइ तथा व्यापारको  रेकर्ड, विद्यार्थीलाई  दिइएको होमवर्क हेरेर गराउने, बच्चा स्कुल आएको छ कि छैन, खाजा खाएको छ छैन, बस कहाँ पुग्यो जस्ता कुरा हेर्न मिल्ने, शुल्क अनलाइन भुक्तानी गर्न मिल्ने, शिक्षकसँग सम्पर्क गर्न मिल्ने सबै काम यही एपबाट नै हुन्छ।

शिक्षकले वेदबाट आफ्नो सिलेबस के छ, रुटिङ के छ, आफ्नो विद्यार्थीहरूको दैनिक क्रियाकलापको रेकर्ड राख्ने, होमवर्क दिने, चेक गर्ने, पठनपाठन सामग्रीहरू राखिदिन सक्छन्। स्कुलका संयोजकहरूले भने आफ्नो मातहतमा भएका शिक्षकहरू डाटा हेर्न मिल्ने निर्देश बताउँछन्। यदि स्कुलहरूको ग्रुप छ भने आफ्नो स्कूलहरूमा के भइरहेको छ भन्ने पनि यसैबाट हेर्न मिल्छ।

सुजीत सात वर्ष अघिका दिनहरू सम्झन्छन्, 'हामीले सुरु गर्दा स्कूलहरूमा प्रशासनिक कामहरू कम्प्युटरबाट हुन थालेको थियो। तर यस्तो सिस्टममा एक जना व्यवस्थापकले बिलिङ र रिजल्ट हेर्नु हुन्थ्यो। अरू कामहरू भने परम्परागत शैलीमा नै हुने गर्थ्यो, जुन निकै महँगो पनि पर्न आउँथ्यो।'

शिक्षकदेखि अभिभावक सबैको हात हातमा फोन थियो। धेरै स्कुलको त आफ्नै फेसबुक पेज तथा वेबसाइट पनि थियो। इन्टरनेट पनि केही दुःख थिएन। 

तैपनि स्कुल तथा अभिभावकहरू बीच सञ्चारका लागि चिठी नै प्रयोग हुन्थ्यो र परेवा (माध्यम) बन्थे विद्यार्थीहरू। त्यस्तै अभिभावक र शिक्षकलाई जोड्ने माध्यम बन्थ्यो होमवर्क डायरी। कहिले जानकारी रहेको प्रिन्टेड चिठी विद्यार्थीको किताबकापी भित्रै रहिरहन्थ्यो, कहिले हराउँथ्यो, अहिले जानेरै नदिने भने कहिलेकाँही मात्रै अभिभावकको हातमा पर्थ्यो। 

विद्यालय,अभिभावक र विद्यार्थीलाई जोड्ने पुल 
यसले गर्दा अभिभावक, स्कुल र शिक्षक बीच नियमित कुराकानी नै हुन पाउँदैनथ्यो। अभिभावकलाई आफ्नो बच्चाको पढाई तथा दैनिक क्रियाकलापको बारेमा थाहा पाउन पनि निकै ग्राहो थियो। यही समस्या समाधान गर्न तीन युवाले वेदलाई जन्माए। वेदले विद्यालय, अभिभावक र विद्यार्थीलाई जोड्ने पुलका रूपमा काम गरिरहेको छ। 

सन्जन सुनाउँछन्, 'अभिभावक र स्कुल बीच कम्युनिकेसनलाई फोकस गरेर केहि गरौं भनेर हामीले यसमा काम अघि बढायौं। त्यसै अनुसार सन् २०१५ को मध्यतिर स्कुल र अभिभावक बीच सबै प्रकारका जानकारी आदानप्रदानका लागि मोबाइलमा उपयुक्त हुने सफ्टवेयर बनाउने योजनाका साथ हामीले वेदको प्रोटोटाइप सुरु गर्यौँ।'

त्यसको ४-५ महिनामा उनीहरू विद्यालयहरू पनि जान थाले। त्यहाँका समस्याहरू के छन्, यहाँका विद्यालयहरू लगायत सम्बन्धित अभिभावक, विद्यार्थी, शिक्षक लगायत सबै सरोकारवालाहरुलाई वास्तवमा के समस्याहरु भइरहेको छ, उनीहरूले त्यसलाई कसरी समाधान गर्न सक्छन् जस्ता कुराहरू पनि बुझेर वेद बनाउनतर्फ लागेको सन्जन बताउँछन्।

निर्देश थप्छन्, 'हामीले विदेशको एप हेरर बनाएका होइनौँ सुरुमा हामीले कम्युनिकेसन एप मात्रै बनाएको हो। तर विस्तारै यहाँका स्कुलहरूले एक पछि अर्को सेवाहरु माग्दै जानु भयो त्यसै अनुरुप हामीले वेदमा सेवाहरू थप्दै लग्यौं।'

वेद सुरु गर्नुका लागि ३ जनाले ५०–५० हजार लगानी गरेर रानीबारीमा कोठा लिएर काम अघि बढाएका थिए। केही समय त उनीहरूले स्वयंसेवीका रुपमा काम गरे। साथै वेदको सिस्टम डेभलप गर्न आफैं कोडिङ पनि गरेको उनीहरू सुनाउँछन्। 

वेदमा अहिले नेपालका ४० जिल्लाका ८०० भन्दा बढी स्कूलहरू आबद्ध छन्। हरेक वर्ष यी स्कूलहरूले वेदको सेवा नवीकरण पनि गरिरहेका छन्। तर यो यात्रा त्यति सहज भने नभएको उनीहरू बताउँछन्।

वेदको अवधारणा र यसको महत्व बुझाउन तीनै जनालाई निकै समय लाग्यो। धेरै संघर्ष गर्नु पर्‍यो। वेद बनाएपछि उनीहरू दैनिक जस्तो विभिन्न विद्यालय धाउने गर्थे। 

सुजित सम्झन्छन्, 'धेरै स्कूलहरूमा हामी जाँदा तपाईंहरु युवा हुनुहुन्छ, आईटीमा राम्रो गर्नेहरू अमेरिका, अस्ट्रेलिया जस्ता देश जान्छन्, तपाइँहरू पनि विदेश नै जानु हुन्छ, केही समयको लागि मात्र वेदको प्रणाली किन राख्ने भनेर अविश्वास गर्थे।'

विद्यालय व्यवस्थापनमा डिजिटाइजेसनको अवधारणा भित्रिसकेको पनि थिएन। कति स्कूलहरूलाई त यसको आवश्यकता बुझाउन पनि सहज थिएन। यही बीच उनीहरू सेन्ट जेभियर्स स्कुल पुगे। सेन्ट जेभियर्स स्कूलले पनि अभिभावक र स्कूल बीच सूचना सजिलै आदानप्रदान गर्न आफ्नो स्कूलको एप बनाउन खोजिरहेको थियो। 

८०० बढी स्कूलहरू आबद्ध 
होमवर्कदेखि बिलिङसम्मको काम सजिलो हुने भएपछि यो एपमा आबद्ध हुने विद्यालयको संख्या बढेको बढेकै छ।

म्यानेजिङ डाइरेक्टर सुजित सुनाउँछन्, 'सुरुमा उहाँहरू पनि हिच्किचाउनु भयो। तर युवाहरूको सोचलाई मौका दिम भनेर उहाँहरूले वेदलाई अपनाउनु भयो। सुरुवाती दिनहरूमा हामीले पैसा नै नलिई काम गर्यौँ र उहाँहरूलाई वेदको सेवा मन परेपछि पेमेन्ट गर्नु भनेर पनि भन्यौं।'
उनीहरूले स्कूलहरूमा गएर अभिभावक, स्कूल तथा शिक्षिकहरूलाई एप चलाउन तालिमहरू पनि दिन थाले।

विस्तारै मुखाग्रे प्रचारले गर्दा नै वेदमा स्कूलहरू आबद्ध हुँदै गए। एकबाट पाँच, पाँचबाट १५, ४५, १५०, ४०० हुँदै अहिले ८०० भन्दा बढी स्कूल तथा शैक्षिक संस्था वेदमा आबद्ध भएका छन्। विद्यालय तथा शैक्षिक संस्थाहरूमा यो सफ्टवेयर निकै लोकप्रिय भएको छ। 

कम्पनीमा प्रोग्राम अपरेसनको जिम्मा लिएका सन्जन भन्छन्, 'कोरोना महामारी अघिसम्म हामी ई-लर्निङमा त्यति ध्यान दिएको थिएनौं। तर महामारीमा अनलाइन पठनपाठनको आवश्यकता बढेसँगै हामीले वेदलाई जुम र माइक्रोसफ्टसँग लिंक गराइदियौं। साथै विद्यार्थीहरूले वेदबाट नै होमवर्क पठाउन सकिने र शिक्षकले यसमा नै चेक गर्न सकिने व्यवस्था पनि मिलायौं।'

पहिले जसरी अहिले स्कूलहरू धाउनु परेको छैन। महामारीको बेला विद्यालयहरू नै उनीहरूलाई खोज्दै आउन थालेको सन्जन सम्झन्छन्। धेरै भन्दा धेरै विद्यालयहरू वेदमा जोडिएसँगै कोराना अघि जम्मा १३ जना कर्मचारीले धानेको वेदमा अहिले लगभग ८० जना कार्यरत छन्।
वेदले वार्षिक प्रति विद्यार्थी १७० रुपैयाँ चार्ज गने निर्देश बताउँछन्। यसैको आधारमा वेदले आम्दानी गर्छ।

सात वर्षअघि सुरुवाती वर्षमा १० लाखको आम्दानीमा सीमित भएको वेदले अहिले करोडौं आम्दानी गर्दै आएको छ। वार्षिक वृदिदर ३०० प्रतिशत छ।

वेद नेपालमा मात्रै सीमित छैन। अहिले ब्रुनाईका पनि केही स्कूलहरूमा पनि प्रयोग भइरहेको छ। तर नेपाल सरकारको १ रुपैयाँ पनि बाहिर लगानी गर्न नपाइने नीतिले गर्दा वेदलाई ग्लोबल्ली विस्तार गर्न गाह्रो भएको सुजीत सुनाउँछन्।

सीईओ निर्देशले वेदका लागि आफ्नो भाबी योजना सुनाउँछन्, 'हामी वेदमा अझै २० हजार बढी स्कूलहरूलाई आबद्ध गराउने लक्ष्य लिएका छौं। साथै वेदलाई भारतमा विस्तार गर्ने पनि छलफल भइरहेको छ। एआईलाई प्रयोग गरेर लर्निङको अनुभव कसरी राम्रो बनाउनेमा पनि काम भइ रहेको छौं।'