
काठमाडौं। उपकरण मर्मतसम्भार समयमा हुन नसकेकाले नेपाल टेलिकमको ग्राहक सेवामा नकारात्मक असर परेको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ।
५९औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखापरीक्षकको कार्यालयले देशको १६ स्थानमा रहेको टेलिकमको एकीकृत सम्भार युनिटले चुस्त सेवा दिन नसकेको जनाएको छ।
‘विद्युत, ब्याकअप व्याट्री, सवारी साधन र टुल्स उपलब्ध नहुनु, रिपिटर टावरमा समस्या आउनु, यथेष्ट र सक्षम जनशक्तिको कमी हुनु, विदेशी सेवा प्रदायक कम्पनीसँग पर्याप्त समन्वय नहुनु जस्ता कारणले लामो समयसम्म नेटवर्क नचल्ने अवस्था छ,’ प्रतिवेदनमा उल्लेख छ।
जसका कारण सेवामा र आम्दानीमा समेत नकारात्मक असर परेको बताइएको छ। कम्पनीले नेटवर्क अप्टिमाइजेसन तथा मर्मतसम्भार नीतिमा सुधार गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयको सुझाव छ।
त्यस्तै कम्पनीको ग्रामीण क्षेत्रमा रहेका बेस स्टेशन तथा अन्य उपकरणहरूको अधिकतम उपयोग गरी बढी भन्दा बढी ट्राफिक सिर्जना गर्नुपर्नेमा महालेखापरीक्षकको कार्यालयले जनाएको छ।