काठमाडौं। प्रतिनिधिसभामा आज (शुक्रबार) उपसभामुख पदका लागि निर्वाचन हुँदैछ। दिउँसो ३ बजे प्रतिनिधिसभाले उपसभामुख चयन गर्नेछ। उपसभामुख पदका लागि दुई जनाको मनोनयन परेको छ।
सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुषालले बिहीबार मनोनयन दर्ता गराएकी छन्। भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी छन्।
यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। उनको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल छन्।
करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढेको हो। शुक्रबार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा 'उपसभामुख पदमा निर्वाचित गरियोस्' भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
२०७६ माघ ६ मा तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ। पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन हुन लागेको हो।