काठमाडौं। नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहेको भन्दै खोजी हुन थालेको वर्षौं भयो। तर यकिन गर्न नसक्दा खानी छन् भनेर खोजीका लागि लगानी गरिएका ठाउँहरु बेवारिसे बनेका छन्।
पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी भएको अनुमान छ। सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ। तर कुनै पनि ठाउँमा सरकारले गहन अनुसन्धान गर्न नसक्दा न खानी सञ्चालनमा छन् न त सदुपयोग नै हुन सकेको छ।
सरकारले चासो नदेखाउँदा पेट्रोलियम खानी भएको भनिएका ठाउँमा गरेका खर्च खेर गइरहेको छ। मोरङको बेलबारी-८ बाहुनीमा खानी छ भनिएको ठाउँको अवस्था पनि त्यस्तै छ।
त्यहाँ पुर्याइएका खोजी सामाग्री लथालिंग छ। अन्वेषण गर्न बनेका भवन भग्नावशेष भइसकेको छ भने ल्याएको कच्चा पदार्थहरु नष्ट भएका छन्। सरकारका प्रतिनिधि बेला-बेला आएर हेर्ने बाहेक अन्य काम गर्न नसकेको स्थानीय कुलबहादुर भण्डारी बताउँछन्।
विसं. २०४५ मा सरकारको सहयोगमा विदेशी कम्पनीले बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरेको थियो। सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेको गुनासो गर्छन् स्थानीय यामप्रसाद तिम्सिना। उक्त कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको उनले बताए।
३४/३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको उनको भनाइ छ। उक्त स्थानको खानी सञ्चालनमा नल्याउन भारतको दबाब दिएको गुनासो सुन्नमा आए पनि यथार्थ बाहिर आएको छैन।
सरकारको बेवास्ताका कारण हाल उक्त स्थान जंगलमा परिणत भएको छ। मुलुकलाई व्यापार घाटामा लैजाने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा छ। तर सरकारले मुख्य समस्या टार्न पेट्रोलियम खानीको खोजीमा ध्यान नै दिएको छैन।
बेलबारी-८ बाहुनीमा खानी भेटिने सम्भावना रहेको भनिएको क्षेत्रमा व्यक्तिको ४.९६९ वर्गमिटर जमिन खानी तथा भूगर्भ विभागले किनेको छ। तर काम भने केही पनि भएको छैन। अहिले खानी सञ्चालनका लागि विदेशबाट मगाइएका सामानहरु बेवारिसे भइ खेर गएको स्थानीयको भनाइ छ।