
काठमाडौं। भारतीय मुद्रा (भारु) का लागि अहिले सबैभन्दा खराब समय हो। भारुको मूल्य केही समयदेखि लगातार उच्च दरले घटिरहेको छ।
भारु कमजोर हुँदा अमेरिकी डलरले हरेक दिन नयाँ-नयाँ रेकर्ड कायम गरिरहेको छ। मंगलबार भारु सर्वाधिक कमजोर भएको छ।
भारु निरन्तर घटेपछि केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इण्डिया- आरबिआइ) ले केही रोकथामको प्रयास गरेको थियो, त्यसले पनि केही काम गर्न सकेको छैन। आरबिआइले अन्तर्देशीय कारोbaर भारुमै गर्नुपर्ने व्यवस्था गरेको छ। रुसले यही मन्त्र प्रयोग गर्दा उसको मुद्रा रुबल बलियो भएको थियो, त्यो मन्त्रले भारुलाई भने काम गरेको छैन।
तथ्यांकलाई विश्लेषण गर्ने हो भने भारु एक वर्षमा ७ प्रतिशतले कमजोर भइसकेको छ। मंगलबारको सुरुवाती कारोबारमा डलरभन्दा भारु ८०.०१७ कायम भएको छ। यो भनेको अहिलेसम्मकै खराब प्रदर्शन हो।
भारुको मूल्य डलरको तुलनामा निरन्तर कमजोर भइरहेको छ। प्रमुख मुद्राहरुको बास्केटमा डलर बलियो भएर जाँदा भारु कमजोर देखिएको हो। करिब दुई दशकपछि डलर र युरो बराबरी अवस्थामा आएका छन्। जबकी जहिले युरोले शक्तिशाली प्रदर्शन गर्दै आएको थियो। ८ वर्षमा डलरभन्दा भारु २५ प्रतिशतले कमजोर भइसकेको छ। एक वर्षअघि एक डलर बराबर भारु ७४.५४ थियो।
यो पनि पढ्नुस्: भारतले थाल्यो भारुमै अन्तरदेशीय व्यापार, दबावमा नेपाली अर्थतन्त्र, रेमिटेन्स प्रभावित हुने
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सोमबार भारुका बारेमा टिप्पणी गरेकी छन्। उनले कच्चा तेलको बढ्दो मूल्य र रुस-युक्रेन युद्धले भारु कमजोर भएको बताएकी छन्।
भारुको तुलनामा अन्य धेरै देशको मुद्रा डलरसँग निक्कै कमजोर प्रदर्शन गरिरहेका छन्। ब्रिटिस पाउण्ड, जापानी येन, युरोजस्ता मुद्राहरु पनि कमजोर बनेका छन्। जसरी यी मुद्रा डलरभन्दा तीव्र गतिले कमजोर भए त्यो तुलनामा भारु कम कमजोर देखिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
अहिले विश्व आर्थिक मन्दीतर्फ गइरहेको छ। अमेरिकामा महँगी ४१ वर्षयताकै उच्च तहमा छ। यसलाई नियन्त्रण लिनका लागि त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भले तीव्र गतिमा ब्याज दर बढाइरहेको छ।
पछिल्लो मूल्यवृद्धि दर सार्वजनिक भएपछि फेडले एकैपटक १ प्रतिशत बिन्दुले ब्याज बढाउने अनुमान गरिएको छ। अमेरिकामा महँगी बढ्नुको फाइदा डलरलाई पुगेको छ।
मन्दीको डरले विदेशी लगानीकर्ताहरुले आफ्नो लगानी झिकेर डलरमा गरिरहेका छन्। डलर अहिले सुरक्षित लगानीका रूपमा देखिएको छ। यसले गर्दा डलरको अप्रत्यासित माग बढेको छ। जसले गर्दा डलर बलियो भएर भारु कमजोर भएको हो।
भारु कमजोर हुनु भनेको नेपाली रुपैयाँ पनि कमजोर हुनु हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ। भारुलाई बलियो बनाउन त्यहाँको केन्द्रीय बैंकले गरेको उपायले काम गरेको छैन। जसले गर्दा नेपाली रुपैयाँले पनि अप्ठ्यारो दिनको सामना गर्नु परेको छ।
गत वर्ष ११७/१८ मा रहेको डलर अहिले १२८ रुपैयाँमाथि छ। यसले गर्दा आयात हुने सम्पूर्ण सामानको मूल्य बढेर आएको छ। उत्तिकै परिमाणमा वस्तु खरिद गर्नु पर्दा पनि धेरै डलर खर्च भइरहेको छ। सरकार र राष्ट्र बैंक मिलेर नियन्त्रणात्मक उपाय गर्दा पनि विदेशी मुद्राको सञ्चितिमा ठूलो सुधार देखिन सकेको छैन।
यद्यपी रेमिटेन्स पठाउनेलाई भने फाइदा हुने छ। उनीहरुले बढी विनिमय दरमा साट्न पाउँछन् र नेपाली आयमा वृद्धि हुन्छ। डलरको बढ्दो मूल्यसँगै महँगी पनि भित्रिएका कारण जीवनशैली पोहोरभन्दा निक्कै खर्चिलो भने बनेको छ। अर्कोतिर पेट्रोलियम पदार्थको मूल्य बढेका कारण नेपालीले थप महँगीको मार खेप्नु परेको छ।
जबकी भारतले पेट्रोलियममा नेपालजत्तिको महँगी खेप्नु परेको छैन। उसले रुस-युक्रेन युद्धमा तटस्थता नीति लिएका कारण रुसबाट सस्तोमा पेट्रोलियम पदार्थ पाइरहेको छ। त्यसले गर्दा उसलाई महँगी नियन्त्रणमा मद्दत मिलिरहेको छ। नेपालले भने युक्रेनको पक्षमा आफूलाई उभ्याउँदा रुसको सहुलियत पाउनबाट बञ्चित भएको छ। यही कारण नेपाल अहिले डलरको विनिमय दर र पेट्रोलियमको दोहोर महँगीमा परेको छ। नेपालको मूल्यवृद्धि दर साढे ८ प्रतिशत नाघिसकेको छ।