
वीरगंज। विद्युत् प्राधिकरणको वीरगंज वितरण केन्द्रले संकलन गर्ने विद्युत महसुल ३० प्रतिशतले बढेको छ। केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २५ करोड २ लाख ९२ हजार रुपैयाँ महसुल संकलन गरेको छ।
गत आवको साउनदेखि असारसम्म १२ महिनामा ५३ करोड ४४ लाख ५ हजार युनिट विद्युत बिक्री गरेर त्यति बराबरको महसुल संकलन भएको वितरण केन्द्र प्रमुख जितेन्द्रकुमार झाले बताए। गत आवमा संकलन भएको महसुल अघिल्लो आवभन्दा ३० प्रतिशतले बढी हो।
अघिल्लो आव २०७७/७८ मा केन्द्रले ३७ करोड ३० लाख ९५ हजार विद्युत युनिट बिक्री गरेर कुल ३ अर्ब ६७ करोड ६० लाख १४ हजार रुपैयाँ संकलन गरेको थियो।
आव २०७७/७८ मा कोरोना महामारीका कारण केही महिना उद्योग सञ्चालन नहुँदा उक्त आवमा कम बिजुली बिक्री भएको थियो भने राजस्व पनि कम संकलन भएको थियो।
वितरण केन्द्र प्रमुख झाका अनुसार गत आवमा २ हजार ५ नयाँ ग्राहक थपिएका छन्। अब वितरण केन्द्र वीरगंज मातहत महानगरपालिकाको ३२ वटा वडा, बाराको विश्रामपुर, प्रसौनी, परवानीपुर गाउँपालिका गरी कुल ५१ हजार २६५ ग्राहक पुगेका छन्, जसमध्ये २७ सय ग्राहक साना–ठूला उद्योग रहेको उनले बताए।
आव २०७७/७८ भन्दा आव २०७८/७९ मा विद्युत् चुहावट ३ प्रतिशतले घटेको छ। गत आव विद्युत् चुहावट ४.२ प्रतिशत थियो भने सोभन्दा अघिल्लो आवमा ७ प्रतिशतको तथ्यांक थियो।
यसरी हिसाब निकाल्दा ३ प्रतिशत विद्युत् चुहावट बचत हुनुको मतलब १६ करोड ५० लाख मूल्य बराबरको १ करोड ६५ लाख युनिट बिजुली बचत भएको उनको भनाइ छ। विद्युत् चुहावट प्राविधिक र अर्को अप्राविधिक गरी दुई प्रकारको हुन्छ। दुरीको आधारमा एउटा तारबाट अर्को तार हुँदै चुहावट हुने बिजुलीलाई प्राविधिक भनिन्छ भने मिटर टेम्परिङ र हुकिङलाई अप्राविधिक भनिन्छ ।