नौमुरे आयोजनाको विस्तृत अध्ययन पूरा, तीन जलाशययुक्त जलविद्युतसहित ८० हजार हेक्टरमा सिँचाइ



२०७९ साउन ६ गते ०६:५१ | Jul 22, 2022


नौमुरे आयोजनाको विस्तृत अध्ययन पूरा, तीन जलाशययुक्त जलविद्युतसहित ८० हजार हेक्टरमा सिँचाइ


काठमाडौं। तीन जलाशययुक्त आयोजनासहित निर्माण हुने प्रस्तावित नौमुरे बहुउदेश्यीय जलविद्युत आयोजनाको विस्तृत अध्ययन पुरा भएको छ।

Tata
Global Ime

यसको वातावरणीय प्रभाव मूल्यांकनको काम समेत सकिएर प्रतिवेदन विद्युत विकास विभागबाट स्वीकृत भएसँगै आयोजनाको विस्तृत अध्ययन अन्तर्गतका सम्पूर्ण काम सकिएको हो।

इन्भाइरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट प्रालि, एकिओना इन्जिनियरिङ  एसए स्पेन तथा नेपाल इन्भाइरोमेन्ट एण्ड साइन्टिफिक सर्भिसेज प्रालिको जेभीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत भएसँगै आयोजनाको अध्ययन पूरा भएको हो।

यो आयोजनाको विस्तृत अध्ययनका अन्य विभिन्न पक्षको अध्ययन भने यसअघि नै भइसकेको थियो। ईआईए पनि तयार भएपछि विस्तृत अध्ययनको काम सकिएको छ।

पश्चिम राप्तीमा बन‍ाउन प्रस्ताव गरिएको यो आयोजना २०४० को दशकमै पहिचान भएको थियो। त्यसको करिब साढे तीन दशकमा यसको विस्तृत अध्ययन पूरा भएको हो। आयोजनाको विस्तृत अध्ययनका लागि बजेट विनियोजन सुरु गरेको झन्डै नौ वर्षमा यो सकिएको हो। २०७३ सालमा यसको अध्ययन थाल्ने भन्दै उक्त वर्ष २० करोड रुपैयाँ बजेट छुट्याइएको थियो।

महालेखा परीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदनले २०७८ जेठ २६ मा ईआईए प्रतिवेदन स्वीकृतिका लागि पठाएको भए पनि गत जेठ ३० सम्म पनि स्वीकृत नभएको उल्लेख गरेको छ। यदि स्वीकृत हुन नसक्ने भए कारण र पुष्ट्याइसहित जानकारी दिन ढिला गर्न नहुने उल्लेख महालेखाले जनाएको थियो।

विद्युत विकास विभागका सिनियर डिभिजनल इन्जिनियर गोपीप्रसाद साहका अनुसार करिब दुई सातापहिले प्रतिवेदन स्वीकृत भएको हो। अहिले आयोजनाको साइटमा निर्माणको पूर्वतयारीका कामहरु भइरहेको उनले बताए।

यस आयोजना अन्तर्गत नौमुरे जलविद्युत आयोजना (२१८.३४ मेगावाट),  लामाताल जलविद्युत आयोजना (८ मेगावाट), सुराई नाका जलविद्युत आयोजना (५४.७ मेगावाट) गरी तीनवटा जलविद्युत आयोजना निर्माण हुनेछ। तीनवटै आयोजना जलाशययुक्त हुनेछन्। 

यी आयोजनाहरुको विकास भएमा यसबाट दाङ, कपिलवस्तु र बाँकेको गरी कुल ८० हेक्टरभन्दा बढी जमीनमा वर्षभरि नै  सिंचाइको सुविधा पुग्नेछ। विद्युत उत्पादनदेखि सिँचाइसम्मको योजना यस आयोजनाअन्तर्गत बन्ने भएकाले यसलाई बहुउद्देश्यीय भनिएको छ।

लुम्बिनीको प्यूठान भएर बग्ने माडी नदी तथा झिम्रुक नदी (मिसिएपछिङको राप्ती नदी) को पानी प्रयोग गरी नौमुरे बहुउद्देश्यीय आयोजना निर्माण हुनेछ। ६ वर्षमा निर्माण गर्न सकिने उल्लेख छ। पहिलो वर्ष टेण्डर प्रक्रिया, जग्गा प्राप्ति, शिविर निर्माण, तथा आवश्यक प्राथमिक पूर्वाधारहरु निर्माणको कार्य हुनेछ।

आयोजनाका लागि एक खर्ब १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। लगानीको मोडालिटी भने टुंगिएको छैन।

यस्तो छ नौमुरे जलविद्युत आयोजना
नौमुरे जलविद्युत आयोजना प्यूठानको सरुमारानी गाउँपालिकामा विद्युतगृह रहने गरी निर्माण हुनेछ। आयोजनामा प्यूठानको सरुमारानी गाउँपालिका-३, अर्घाखाँचीको शितगंगा नगरपालिका-७ तथा ८ को सीमानामा नौमुरे बाँध हुनेछ।  बाँधको उचाइ नदीको सतहबाट १६९ मिटर हुनेछ। यसबाट बन्ने कृत्रिम जलाशय १८.०३ किलोमिटर हुनेछ।

आयोजनामा दुईवटा पावर इन्टेक निर्माण हुनेछ। विद्युतगृह भुमिगत हुनेछ। आयोजनाबाट वार्षिक ८७४  गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ। जसमा सुक्खायाममा ३२२.०१ (३५ प्रतिशत)  र वर्षायाममा  वार्षिक औसत उत्पादन ५९८.०१  (६५ प्रतिशत) गिगावाट आवर उत्पादन हुने अध्ययनले देखाएको छ। 

यस आयोजनाका लागि २२.९४ किमि पहुँचमार्ग (झिलिबाङ- आयोजना क्षेत्र) निर्माण गर्नुपर्छ। प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत ५५ किमी २२० केभी प्रसारणलाइन  निर्माण गरेर नयाँ लमही सबस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ।

आयोजना निर्माणका लागि ९१ अर्ब ९३ करोड रुपैयाँ  लाग्ने अनुमान छ। यो लगानी फिर्ता अवधि (पे ब्याक पिरियड) १४.६ वर्ष रहेको छ।

लामाताल जलविद्युत आयोजना 
यस बहुउद्देश्यीय आयोजनाअन्तर्गत बन्ने दोस्रो जलविद्युत हो – लामाताल जलविद्युत। यो आयोजना प्युठान र अर्घाखाँचीमा निर्माण हुनेछ। अर्घाखाँचीको शितगंगा नगरपालिका-७ को लामाताल गाउँमा रि-रेगुलेटिङ ब्यारेज बनाइ ८ मेगावाटको  विद्युत उत्पादन गरिनेछ। जलाशययुक्त प्रकृतिको यो आयोजनाबाट ८ मेगावाट विद्युत उत्पादन हुन्छ।

विद्युत उत्पादनका लागि निर्माण गरिने बाधँको उचाइ १५.५ मिटर हुनेछ। यसबाट बन्ने कृतिम जलाशय १.२२ वर्ग किमीको हुनेछ।

अर्धभुमिगत रहने बाँधको फेदमा विद्युत गृह निर्माण हुनेछ। यो आयोजनाबाट वार्षिक  कुल ४०.९५ गिगावाट (चुहावट घटाएपछि) उत्पादन हुने अध्ययनले देखाएको छ। जसमा सुख्खायाममा १५.३८ गिगावाट आवर (३७.५६ प्रतिशत) र वर्षायाममा २५.५७ गिगावाट आवर  (६२.४४ प्रतिशत) उत्पादन हुन्छ।

आयोजनाका लागि २२.९४  किमी (झिलिबाङदेखि आयोजनास्थल) पहुँचमार्ग निर्माण गर्नुपर्छ। प्रस्तावित आयोजनाबाट उत्पादित विद्युत ४. ६ किलोमिटर लामो २०० केभी प्रसारणलाइन  निर्माण गरेर नौमुरे स्वीचयार्डमार्फत राष्ट्रिय प्रणालीमा जोडिन्छ।

यो आयोजना निर्माणका लागि कुल ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँ लाग्ने अहिलेको अनुमान छ।

सुराईनाका जलविद्युत आयोजना
नौमुरे बहुउद्देश्यीय आयोजनाअन्तर्गत बन्ने यो तेस्रो जलाशययुक्त आयोजना हो, जुन अर्घाखाँची र कपिलवस्तुमा निर्माण हुनेछ।

लामाताल जलविद्युत आयोजनाको टेलरेसबाट छाडिने पानी प्रयोग गरी अर्घाखाँचीको शितगंगा नगरपालिका हुँदै  सुरुङमार्फत शिवराज नगरपालिकाको सुराईखोला नजिक विद्युत गृह निर्माण गरी विद्युत उत्पादन गरिनेछ। यसमा १८ किमीको टनेल निर्माण गरेर विद्युत उत्पादन हुनेछ।

११७२.६५ मिटरको पेनस्टक पाइप राखिनेछ।  विद्युत गृह अर्धभूमिगत हुनेछ। यो आयोजनाबाट ३८१.९२ गिगावाट आवर बिजुली उत्पादन हुनेछ। जसमा सुक्खायाममा १८३.०६ गिगावाट आवर (४७.९४  प्रतिशत) र वर्षायाममा १९८.८३ गिगावाट आवर  (५२.०६ प्रतिशत) उत्पादन हुने अध्ययनले देखाएको छ।

आयोजनाका लागि ५.१७ किमी ( पूर्व पश्चिम राजमार्ग –सर्जट्यांक) पहुँचमार्ग निर्माण हुनेछ। यो आयोजनाबाट उत्पादित हुने विद्युत २२ किमी २२० केभी  प्रसारणलाइन निर्माण गरेर नौमुरे सर्जट्यांकमा जोडिनेछ।

एक्लै यो आयोजनाबाट मात्र २९ हजार ७३६ हेक्टर जमीनमा सिंचाइ सुविधा पुग्ने देखिएको छ। आयोजना निर्माणमा कुल १८ अर्ब १४ करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यस आयोजनाका लागि २५३४.९९३ हेक्टर जमीन आवश्यक पर्ने देखिएको छ। जसमध्ये २५१४.१०७ हेक्टर  स्थायी रुपमा र २०.८८६ हेक्टर अस्थायी रुपमा आवश्यक पर्छ। आयोजनका लागि ६८०.५०६ हेक्टर निजी र सरकारी जमिन १६५४.४८७ हेक्टर (वन तथा वातावरण मन्त्रालयको स्वामित्वमा रहेको जमिन वा क्षेत्र) आवश्यक पर्दछ।‍

८० हेक्टरभन्दा बढी जग्गामा सिँचाइ सुविधा
आयोजनाको अध्ययन प्रतिवेदनअनुसार यस अन्तर्गत बाँके तथा दाङको देउखुरीमा तीन वटा सिँचाइ आयोजना तथा कपिलवस्तुमा प्रस्ताव गरिएका नयाँ सिँचाइ आयोजनाहरु रहेका छन्। 

सिक्टा सिँचाइ आयोजना तथा दाङ, देउखुरीमा रहेका प्रगन्ना १,२,३ तथा बडकापथ सिंचाइ आयोजनाहरु रहेका छन्। यी आयोजनाहरुको संरचनाहरु पहिले नै निर्माण भएका छन्। कपिलवस्तुमा पर्ने सिँचाइ आयोजना नयाँ प्रस्तावित आयोजना हो।

यस बहुउद्देश्यीय आयोजनाअन्तर्गत कपिलवस्तुमा प्रस्ताव गरिएको नयाँ सिँचाई आयोजनाले मात्र २९,७३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। यसमा  पश्चिम भू-भाग तथा पूर्वी भू-भागको कपिलवस्तुमा रहने मुख्य मुख्य नहरहरु प्रस्ताव गरिएका छन्। 

कपिलवस्तु जिल्लाको पश्चिमतर्फको भू-भागमा सिँचाइ गर्नका निमित्त प्रस्ताव गरिएको नहर ४२ किमी तथा पूर्वी भेगमा प्रस्ताव गरिएको नहरको लम्बाई २४ किमी हुनेछ। जसले पश्चिमतर्फ ९४९३ हेक्टर जमिन तथा पूर्वीभेगतर्फ २०२४३ हेक्टर जमिनलाई सिँचाइ सुविधा पुर्याउने छ। 

आयोजनाअन्तर्गत मुख्यतः तीन सिँचाइ आयोजनाहरुलाई चाहिने पानीको मात्रालाई विस्तृत रुपमा अध्ययन गरी तीनवटा जलविद्युत आयोजनाहरु प्रस्ताव गरिएका हुन्। उक्त जलविद्युत आयोजनाहरुको जडित क्षमता तथा संचालन हुने समय सिँचाइमा प्रयोग गरिने पानीको मात्राको आधारमा अध्ययन कार्य गरिएको ईआईए प्रतिवेदनमा उल्लेख छ।

यस अध्ययन कार्यमा सिक्टा सिँचाइ, दाङ देउखुरी सिँचाइ आयोजना तथा कपिलवस्तु सिँचाइ आयोजनाका निमित्त क्रमशः ४२,७६६ हेक्टर , १०८०० हेक्टर र २९७३६ हेक्टर सिंचाइका क्षेत्रहरु प्रस्ताव गरिएका छन्। त्यस क्षेत्रमा लगाइने बाली तथा पानीको पर्याप्ततालाई समेत अध्ययन गरी सिँचाइको सुविधाको निमित्त पानीको मात्रालाई तय गरिएको छ। 

प्रस्तावित नौमुरे बहुउद्देश्यीय आयोजनाले अधिकतम मासिक सिँचाइका लागि पानीको बहाब देउखुरीका निमित्त १३.१६ घन मिटर प्रतिसेकेन्ड, बाँके जिल्लाको सिक्टा सिंचाइ आयोजनाका निमित्त ५८.८८ घनमिटर प्रतिसेकेन्ड तथा कपिलवस्तु जिल्लाको निमित्त ३९.६१ घनमिटर प्रतिसेकेन्ड प्रस्ताव गरिएको छ।