देशभर एकै महिना थपिए साढे ५ लाखभन्दा बढी फोरजी ग्राहक, पौने २ करोड नाघे प्रयोगकर्ता



२०७९ साउन ६ गते १२:११ | Jul 22, 2022


देशभर एकै महिना थपिए साढे ५ लाखभन्दा बढी फोरजी ग्राहक, पौने २ करोड नाघे प्रयोगकर्ता


काठमाडौं। देशभर फोरजी प्रयोगकर्ताको संख्या एकै महिना ५ लाख ६३ हजार २५५ ले बढेको छ। नियामक नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस प्रतिवेदन अनुसार चैतमा एक करोड ७१ लाख तीन हजार ४४१ रहेको फोरजी ग्राहक संख्या बढेर एक करोड ७६ लाख ६६ हजार ६९६ पुगेको छ। 

Tata
Global Ime

फोरजी ग्राहक थप्न आक्रामक नेपाल टेलिकम देखिन्छ। टेलिकमले एकै महिना चार लाख ७२ हजार ३९४ फोरजी ग्राहक थपेको छ। चैतमा एक करोड चार लाख २१ हजार ९७६ फोरजी ग्राहक रहेको टेलिकमले वैशाखमा एक करोड आठ लाख ९४ हजार ३७० पुर्‍याएको छ। 

यस्तै, निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलले पनि फोरजी ग्राहक ६६ लाख १८ हजार ३९८ पुर्‍याएको छ। चैतमा ६५ लाख २२ हजार १९ ग्राहक रहेकोमा वैशाखमा ९६ हजार ३७९ थपिएर ६६ लाख १८ हजार ३९८ पुगेको प्राधिकरणले जनाएको छ।

स्मार्ट टेलिकमको फोरजी ग्राहक भने साढे पाँच हजार बढीले घटेको छ। चैतमा एक लाख ५९ हजार ४४६ रहेको फोरजी ग्राहक वैशाखमा घटेर एक लाख ५३ हजार ९२८ पुगेको प्राधिकरणले जनाएको छ।