
काठमाडौं। मदन भण्डारी राजमार्ग आयोजनाले चारवटा सडक खण्ड निर्माणका लागि ठेक्का आह्वान गरेको छ। ८८.८९ किलोमिटर सडक खण्ड विस्तार तथा कालोपत्रे गर्न आयोजनाले ८ अर्ब रुपैयाँ खर्च गर्दैछ।
यसअघि बजेट सुनिश्चितता नहुँदा नयाँ ठेक्का हुन सकेको थिएन। ८८ किलोमिटर सडकको ठेक्का गर्न अर्थ मन्त्रालयमा बजेट सुनिश्चितताका लागि पठाएको ६ महिनापछि बजेट निर्णय आएको हो। सोही बमोजिम आयोजनाले निर्माण कार्यको लागि ठेक्का आह्वान गरेको जनाएको छ। नयाँ ठेक्काका लागि आयोजनाले ६ अर्ब ७० करोड रुपैयाँ सुनिश्चितताका लागि अर्थमन्त्रालय पठाएको थियो।
यस सडकमा विस्तृत परियोजना रिपोर्ट (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भइसकेको छ। ठेक्का मात्र हुन लामो समय लागेको हो। झापाको शान्तिनगर खण्ड १७ किमि, रतुवा-कमलखोला १३ किमि, सन्धिखर्क खण्ड १२ किमि, सिमलटारी-सौतामारे ३१.८ किमि र रतनमारे ८ किमि खण्डमा तयारी पूरा भए पनि ठेक्काको प्रक्रिया अगाडि बढ्न सकेको थिएन।
यस आयोजना अन्तर्गत सिमलटारी-सौतामारे सडक खण्डको ३१.८ किलोमिटर कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको हो। यस आयोजनाको ठेक्कामा आवेदन दिने निर्माण कम्पनीले ३ अर्ब ९९ करोड ५० लाख रुपैयाँसम्मको बिडिङ गर्न सक्ने क्षमताको हुनुपर्ने छ।
यो सडक खण्ड गुल्मीको सिमलटारीदेखि प्यूठान जिल्लासम्म जोडिनेछ। यसमा निर्माण व्यवसायीले ड्रेन, रिटेनिङ स्टक्चर, कल्भर्ट, रोड सेफ्टी स्ट्रक्चर र कालोपत्रे गर्नुपर्ने छ। यो आयोजना सम्झौता गरिएको मितिबाट ३३ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने छ। यस सडक खण्डमा १९५० वटा रुख विरुवा काट्नुपर्ने छ।
अर्को २७.२६ किलोमिटर सन्धीखर्क भण्डार-रातनमारे-गोखुङ्गा सडक खण्डको पनि ठेक्का आह्वान गरिएको छ। यो सडक प्यूठान-सुर्खेत राजमार्गमा पर्दछ। यसको लागि ठेक्का दिने निर्माण कम्पनीले एक अर्ब ५६ करोड ८० लाख रुपैयाँसम्मको बिडिङ क्षमता हुनुपर्दछ।
यसैगरी यस राजमार्ग अन्तर्गत रहेको १७.५३ किलोमिटर झापाको शान्तीनगर सडक खण्ड विस्तार र कालोपत्रे गर्न ठेक्का आह्वान गरिएको छ। यसमा आवेदन दिने ठेकेदार कम्पनीले ८६ करोड २० लाखसम्मको बिडिङ क्षमता भएको हुनुपर्दछ।
अर्को १२.४५ किलोमिटरको रतुवा-कमलखोला सडक खण्ड विस्तार र कालोपत्रे गर्न यस आयोजनाले ठेक्का आह्वान गरिएको छ। यो सडक खण्ड निर्माणको लागि निकालिएको ठेक्कामा आवेदन दिने निर्माण व्यवायीहरुले ५७ करोड १० लाख बराबरको बिडिङ क्षमताको हुनुपर्नेछ। यो ठेक्का सडक विस्तार र कालोपत्रेको लागि मात्र आह्वान गरिएको छ। यसमा पुलको ठेक्का समावेष गरिएको छैन।
यी सबै सडक खण्डको निर्माण कार्य ३३-३६ महिनासम्ममा सम्पन्न गर्नुपर्ने आयोजनाले जनाएको छ।
यो आयोजनाको २०७५ देखि निर्माण गर्न सुरु गरिएको थियो। हालसम्म आयोजनाले ३५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। यसको सुरुको अनुमानित लागत ७५ अर्ब रहेको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत ७४० किलोमिटरको सडक निर्माण गर्ने रहेको छ। यसको निर्माण कार्य सम्पन्न गर्ने समयावधि अब २ वर्षको रहेको छ। यस्तै आयोजनाले २३ अर्ब खर्च गरिसकेको छ।
आयोजनाले हालसम्म २४० किलोमिटर सडक कालोपत्रे र ७७ वटा पुल निर्माण गरेको छ। १३५ किलोमिटर सडक भने निर्माणाधीन छ। यो आयोजनामा ३६६ किमि व्यवस्थापन हुन बाँकीमध्ये ८८ किमिको ठेक्का आह्वान गरिएको हो।
यो आर्थिक वर्षको लागि भनेर सरकारले यस आयोजनालाई २ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। गत वर्ष २ अर्ब ८६ करोड बजेट विनियोजन भएको थियो।