वीरगंज। मधेस प्रदेश सरकार मातहतको यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजले गत आवको १२ महिनामा एक अर्ब ४३ करोड ३३ लाख ६८ हजार राजस्व संकलन गरेको छ।
यो रकम त्यस अघिको आवभन्दा २८ करोडभन्दा बढी राजस्व हो। कार्यालयले आव २०७७/०७८ मा एक अर्ब १५ करोड ९२ लाख ९२ हजार राजस्व संकलन गरेको थियो भने आव २०७६/०७७ मा ९८ करोड ९१ लाख ७६ हजार मात्र राजस्व संकलन भएको थियो ।
गत आवभन्दा अघिल्लो आवहरूमा कोरोना महामारीको असरको कारण बाँकी रहेको दस्तुरहरू गत आव २०७८/०७९ मा बुझाइएकोले २८ करोडभन्दा बढी राजस्व संकलन भएको सवारी शाखा प्रमुख कुशेश्वर साहले बताए ।
कार्यालयले गत आवको १२ महिनामा आयात क्षेत्रको आम्दानी शीर्षकमा सात करोड ६ लाख ७ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतमा रू २६ हजार नौं सय, बेरूजु १ हजार र सवारी साधन करबापत् एक अर्ब १७ करोड सात लाख ४३ हजार र चालक अनुमतिपत्र, सवारी दर्ता किताब (ब्लुबूक) सम्बन्धी दस्तुरमा १ करोड ३८ लाख ३८ हजार गरी कुल एक अर्ब ४३ करोड ३३ लाख ६८ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयले असारमा जम्मा ७६ हजार मात्र राजस्व संकलन गरेको छ भने जेठसम्म एक अर्ब ४३ करोड ३२ लाख १२ हजार राजस्व संकलन गरेको थियो ।
यातायात लाइसेन्सद्वारा १७ करोड राजस्व संकलन
त्यसैगरी,मधेस प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत अर्को यातायात व्यवस्था कार्यालय लाइसेन्स वीरगंज शाखाले गत आव २०७८/०७९ मा १७ करोड १५ लाख ६२ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत आवको साउनमा रू एक करोड ३२ लाख ४८ हजार, भदौमा एक करोड आठ लाख ९५ हजार, असोजमा ४ लाख ४७ हजार, कात्तिकमा ९६ लाख ४१ हजार, मङ्सिरमा एक करोड ४२ लाख ६७ हजार उठाएको हो।
यसैगरी गत पुसमा दुई करोड चार लाख ९० हजार, माघमा एक करोड ८० लाख २० हजार, फागुनमा एक करोड ९१ लाख ४२ हजार, चैतमा दुई करोड २४ लाख ५४ हजार, वैशाखमा एक करोड १३ लाख ७२ हजार, जेठमा ९ लाख १५ हजार, असारमा एक करोड ३७ लाख ६६ हजार गरी कुल १७ करोड १५ लाख ६२ हजार राजस्व संकलन भएको छ ।
यसमध्ये नयाँ आवेदन शुल्कबापत रू दुई करोड २४ लाख १७ हजार, वर्ग थपबापत् ९९ लाख ४० हजार, नया“ लाइसेन्स शुल्क बापत तीन करोड ३० लाख ६४ हजार, दोस्रोपटक वर्ग थप दस्तुर ६१ लाख नौ हजार, प्रतिलिपि दस्तुर छ लाख ३० हजार, प्रतिलिपि तथा नवीकरण दस्तुर ८९ लाख २१ हजार र लाइसेन्स नवीकरण शुल्कबापत् रू नौं करोड चार लाख ७९ हजार गरी रू १७ करोड १५ लाख ६२ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख सुशील साहले जानकारी दिए ।
यो कार्यालयले गत आव २०७७/०७८ मा करीब १० करोड राजस्व सड्ढलन गरेको थियो भने सोभन्दा अघिल्लो आव २०७६/७७ मा जम्मा आठ करोड मात्र राजस्व संकलन गरेको थियो ।
नौं लाखसम्मको लटको लाइसेन्स छापेर आइसक्यो
यातायात व्यवस्था कार्यालय, लाइसेन्स शाखाले नौ लाख लटसम्मको लाइसेन्स छापेर वितरण कार्य शुरू भएको जनाएको छ । कार्यालय प्रमुखले दश लाख लटभन्दा माथिको लाइसेन्स छाप्ने क्रममा रहेको र सोभन्दा मुनिको लाइसेन्स नम्बरको छपाई कार्य सकेर वीरगंज वितरण शाखामा आएर वितरण भइरहेको जानकारी गराए ।
लाइसेन्सको छपाई काठमाडौंबाट हुने भएकोले देशभरिको लाइसेन्स छाप्ने पर्याप्त मेशिन नहुँदा छपाईमा ढिलाइ हुने गरेको बताउँदै उनले पहिले एक वर्षपछि लाइसेन्स छाप्ने काम हुँदै गरेकोमा पछिल्लो समय सोभन्दा कम समयमा लाइसेन्स छापेर आइरहेको बताए ।
लाइसेन्स पास गरेका आवेदकहरूले लाइसेन्स (स्मार्ट कार्ड) नपाउँदासम्म बाटोमा चेकिङमा पर्दा ट्राफिकलाई लाइसेन्स पास गरेको रसीद देखाएर सवारी साधन चलाउन पाउँछन् । वीरगंज शाखाको मात्रै दश हजारभन्दा बढी लाइसेन्स छाप्न बाँकी रहेको बुझिएको छ भने पाँच हजारको हाराहारीमा छापेर आएका लाइसेन्स वितरण भइरहेको छ ।