मदिरा आयातमा प्रतिबन्ध लगाउँदा डेढ अर्ब मात्रै बचत, तर राज्यले गुमायो सवा ३ अर्ब राजस्व



२०७९ साउन १० गते १३:५० | Jul 26, 2022


मदिरा आयातमा प्रतिबन्ध लगाउँदा डेढ अर्ब मात्रै बचत, तर राज्यले गुमायो सवा ३ अर्ब राजस्व


काठमाडौं। नेपाल मदिरा पैठारीकर्ता संघले मदिरा आयातमा प्रतिबन्ध लगाएर राज्यले ठूलो राजस्व गुमाएको जिकिर गर्दै खोल्न माग गरेको छ।

Tata
Global Ime

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै वार्षिक डेढ अर्ब रुपैयाँ मात्रै मदिरा आयात हुँदा ३ अर्ब ३० करोड रुपैयाँ राजस्व प्राप्त गर्ने तथ्यांक संघले प्रस्तुत गरेको छ। गत आर्थिक वर्ष विदेशी सञ्चिति घट्न थालेको भन्दै मदिरा आयातमा प्रतिबन्ध लगाइएको छ।

‘आयातित मदिराजन्य पदार्थहरुमा यो निर्णय तत्काल फिर्ता नगरिए यसले प्रतिकूल प्रभाव पार्नेछ,’ संघले भनेको छ। बोतलबन्द आयातित मदिराजन्य पदार्थहरुमा वार्षिक लगभग १ करोड २० लाख अमेरिकी डलर मात्र खपत हुने भन्दै यो वार्षिक बाहिरिने कुल विदेशी मुद्राको ०.१० प्रतिशत रहेको तथ्यांक प्रकाशित गरेको छ।

‘हालमा उपलब्धताको कमीले बजारमा केही अन्तर्राष्ट्रिय ब्राण्डहरुको नक्कली/डुप्लिकेट सामानको उपलब्धता देखिन थालेको छ। जसले अब नेपाली समाजमा व्यापकरूपमा जनस्वास्थ्यमा प्रतिकूल असर पार्न सक्नेछ,’ संघले भनेको छ।

नेपालमा उच्च भन्सार शुल्क र अन्तःशुल्कका कारण नेपाल र भारतीय मूल्य अन्तर ठूलो भएकाले भारतको उत्तरप्रदेश र पश्चिम बंगाल हुँदै सीमापारिबाट ठूलो परिमाणमा तस्करी हुन थालेको जनाएको छ।

‘होटल, रेस्टुरेन्ट र बारहरुले ठूलो आय आर्जनको क्षमता गुमाउँदैछन् र उत्तम स्थानका लागि तिनीहरुको दिगोपनमा प्रश्न उठेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बढ्दो लागतको दबावले होटल रेस्टुरेन्टले कर्मचारीहरुलाई हटाउन बाध्य हुनेछन् र यसले व्यापकरुपमा बेरोजगारी निम्त्याउँछ।‘

औसतमा लगभग प्रति लिटरमा १५ डलर विदेशी मुद्रा बाहिरिने गरेको तथ्यांक प्रस्तुत गर्दै संघले यो होटल रेस्टुरेन्टमा बेच्दा प्रति लिटर १२ डलर राजस्व संकलन हुने जनाएको छ।