
विराटनगर। मोरङ प्रहरीले पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालयमा बुझाएकोे ८ ट्रक सुपारीका धनी मनकामना इन्टरप्राइजेजका सञ्चालक नवीन घिमिरे सौर्य एअरलाइन्सका अध्यक्ष एवम् ‘सुपारी किङ’ दीपक पोखरेलका सालो भएको खुलेको छ।
नवीन घिमिरे आयात–निर्यात व्यापारमा सक्रिय व्यवसायी होइनन्। मूलतः उनी खेलाडी हुन्। उनी नेपाल क्रिकेट सङ्घको प्रदेश नम्बर १ का उपाध्यक्ष र मोरङका अध्यक्षसमेत हुन्। यसअघि प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे भएका बेला विराटनगर–१९ स्थित खेलकुद रङ्गशालामा उपभोक्ता समितिबाट निर्माण गरिएको क्रिकेट मैदानमा भ्रष्टाचार भएको भन्दै घिमिरे विवादमा तानिएका थिए।
नवीनको पुख्र्यौली पेशा होटल व्यवसाय हो। उनका पिता स्वर्गीय टीकाराम घिमिरे विराटनगरका पायनियर होटल व्यवसायी मानिन्छन्। उनले २० का दशकमा बाजेको होटल नामले विराटनगरमा होटल खोलेका थिए। एक दशक अघिसम्म बाजेको होटल सञ्चालनमा थियो। अहिले बन्द छ। तर नवीन विराटनगर बसपार्कअगाडिको धनकुटा लज भने चलाइरहेका छन्। नवीन कुनै वेला एक प्लाइ उड उद्योगमा पनि संलग्न थिए। तर त्यसबाट सफलता हात लाग्न सकेन र होटल व्यवसायमै फर्किए।
‘उनी करोडौँको मालवस्तु आयात–निर्यात गर्ने हैसियतका व्यवसायी नै होइनन्। दीपक पोखरेलले सामान्य कमिसन दिने शर्तमा आफ्ना सालो नवीनको फर्म मनकामना इन्टरप्राइजेजको प्रयोग गरेका मात्र हुन्। वास्तविक निर्यातकर्ता पोखरेल नै हुन्,’ उनलाई चिन्नेहरू भन्छन्, ‘दीपकले पहिलेदेखि नै नवीनको फर्म प्रयोग गरेर काम गर्दै आएका छन्। दीपकले नवीनलाई मोहरामात्र बनाएका हुन्। सर्वेसर्वा त दीपक र उनको समूह नै हो।’
सौर्य एयरलाइन्सका अध्यक्ष पोखरेल यसअघि गत पुसमा उनको आफ्नै वायुसेवाकी कर्मचारीबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ चाउचाउको कार्टुनमा बरामद भएको विषयमा पनि विवादित बनेका थिए। त्यसबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सकी कर्मचारी विराटनगर(४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई ५० लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो। पछि उक्त रकम कम्पनीकै टिकट बिक्री आए भएको नपत्याउँदो जिकिर उनले गरेका थिए।
सौर्य एयरलाइन्समा आउनुअघि पनि पोखरेल केराउ र सुपारीको आयात(निर्यात व्यापारमा न्युनबिजकीकरण लगायतका लफडामा मुछिँदै आएका हुन्।
उनै पोखरेलका सालोको कम्पनी मनकामना इन्टरप्राइजेजका नवीन घिमिरे (सालो) का नामबाट भारत कोलकाताको आइसा ट्रेडर्सलाई सुपारी निर्यात गर्ने कागज बनाइएको भए पनि उक्त सुपारी आयातकर्ता दिनेश राठीको विराटनगरस्थित गोदाममा लोड गरिएको थियो। तर यसको उत्पत्तिको प्रमाणपत्र (सिओ) भने झापा उद्योग सङ्घले बनाएको छ र झापामा २०७१ सालमा उत्पादित सुपारी भनेर सङ्घले सिओमा उल्लेख गरेको छ।
जानकारका अनुसार २०७१ सालमा उत्पादित सुपारी अहिलेसमम रहनै सक्तैन, धुलिइसक्छ। २०७१ सालमा उत्पादन भएको भनेर सिओ बनाइनु एक भ्रष्टाचार हो। अख्तियारले सुपारीको चेकजाँच गरेर झापा उद्योग सङ्घलाई समेत कारबाहीका दायरामा ल्याउन सक्छ।
दिनेश राठी दीपक पोखरेलकै समूहका एक पैठारीकर्ता हुन्। राठीको इन्डोनेसियाका सुपारी निर्यातकर्तासित घनिष्ठता छ। उनले गरेको सौदा अरूको भन्दा सस्तो पर्छ। त्यसैले भारतका पैठारीकर्ताका लागि पनि राठी कमिसनमा सौदा गरिदिन्छन्। यही कारणले राठीलाई पोखरेलले आफ्नो समूहमा राखेका हुन्। राठी सौर्यका अघोषित साझेदारसमेत हुन्।
सुपारी पक्रन प्रधानमन्त्रीको कार्यालयको प्रत्यक्ष हात!
आठ ट्रक सुपारी पक्राउमा प्रधानमन्त्रीको कार्यालयको प्रत्यक्ष हात रहेको बुझिएको छ।
प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा एवम् स्वकीय सचिव भानु देउवाले नै प्रदेश नम्बर १ का डिआईजी सुदीप गिरीलाई फोन गरेर निर्यात गरिएको अवस्थामा भए पनि सुपारीलाई जसरी पनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए।
यसपछि विराटनगरको भन्सारमा जाँचपास भइसकेको र भारतीय भूमिमा पुगिसकेका ८ वटा ट्रकलाई प्रहरीले भारतीय प्रहरीको समेत सहयोगमा साउन ५ गते पक्राउ गरेको थियो। प्रहरीले चार दिनपछि ८ गते आइतबार मात्र ती ट्रक राजस्व अनुसन्धान कार्यालयको इटहरीस्थित प्रदेश नम्बर १ को कार्यालयमा बुझाएको हो।
स्रोतका अनुसार, प्रधानमन्त्रीका स्वकीय सचिव देउवाले राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीलाई ‘जे निर्णय हुन्छ, बालुवाटारबाट हुन्छ। अहिले ट्रक रोकेर राख्नू। हामीले जस्तो निर्देशन दिन्छौँ, सोहीअनुसार कारबाही गर्नू। अहिले केही नगर्नू’ भनेर निर्देशन दिएका छन्।
सुपारी लोड गरिएका भारतीय नम्बरका आठवटा ट्रक भारतीय भूमिबाट पक्राउ गरिएको तथ्य राजस्व अनुसन्धान विभागको प्रदेश नम्बर १ कार्यालयले पनि पुष्टि गरेको छ।
‘अहिले हामी अनुसन्धान गर्दैछौँ, त्यसैले केही बोल्न मिल्दैन’, कार्यालयका प्रमुख तीर्थराज खनालले बिजमाण्डूलाई भने, ‘तर सर्सर्ती हेर्दा त्यो मालवस्तु भारतीय भूमिमा पुगिसकेको देखिन्छ। किनभने जोगबनी भन्सारका अधिकारीले हामीलाई ह्वाट्स यापमा मालवस्तु जाँचपास भएको र सहीछाप भइसकेको कागजात पठाएर त्यो सामान तुरुन्त छाडिदिन अनुरोध गरिरहेका छन्। मैले यसरी ह्वाट्स यापमा कागजको प्रतिलिपि पठाएर हुँदैन, आधिकारिक च्यानलबाट आउनुपर्छ भन्ने जबाफ दिएको छु।’