
काठमाडौं। आइसिटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबीच प्रतिस्पर्धा हुने भएको छ। साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन बुधवारबाट खुलिसकेको छ।
लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ अन्तर्गत पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर अवार्डको घोषणा गरिएको आयोजकले जानकारी दिएको छ।
यस अवार्ड विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्सका ४ वर्ष ननाघेका आइटी तथा डिजिटल स्टार्टअप कम्पनीहरुले नोमिनेस दर्ता गर्न सक्ने बताइएको छ। यस विधाको लागि विभिन्न देशका विज्ञहरुसहितको छुट्टै छनोट समिति रहने आयोजकले जनाएको छ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आएको छ। यस वर्षदेखि अन्तर्राष्ट्रियस्तरमा पनि स्टार्टअप इकोसिस्टमको विकास गर्न यस अवार्डलाई घोषणा गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए। प्रविधि तथा इनोभेसनमा दक्षिण एसियाली देशहरु अग्रसर भइरहेको अवस्थामा यस अवार्डले दक्षिण एसियाली देशहरुमा थप सहकार्यको वातावरण बन्ने लम्सालको भनाइ छ।
यस वर्ष नोमिनेसन खुला गरिएको ११ अन्य विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड (नेपाल), प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इनोभेसन सम्बन्धित विधाहरु रहेका छन्। आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेको आयोजकले जनाएको छ।
यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन्।
आइसिटी अवार्डमा नोमिसन दर्ता गर्न प्रतिस्पर्धी आफैं वा अन्य कसैले अनलाइन नोमिसन दर्ता गर्न सक्नेछन्। आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले आगामी पुस पहिलो साता आयोजना हुनेछ। यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढी चरणका छनोट प्रक्रियालाई अगाडि बढाइने बताइएको छ।
१२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा २५ भन्दा बढी जुरी मिटिङ सञ्चालन हुनेछन्। अवार्ड फिनाले अघि स्टार्टअप एण्ड आइडिया फेस्ट लगायतका कार्यक्रमहरु पनि आयोजना हुने बताइएको छ।
स्टार्टअप विधाका बिजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन्। यसैगरी अवार्डका बिजेता र उत्कृष्टले वर्ल्ड समिट अवार्डमा पनि सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्। यस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका कर्पोरेट संस्थाहरुको सहकार्य रहने बताइएको छ।