काठमाडौं। २०७७ चैतमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सुपारी आयातमा परिमाणात्मक बन्देज लगाउँदै २५ हजार टन कोटा तोक्यो। सीमित व्यापारीलाई अनुमति दिएपछि इन्डोनेसियाबाट धमाधम सुपारी आयात भयो। र, गत आर्थिक वर्ष मात्रै तीन अर्ब रुपैयाँ बराबरको सुपारी आयात भएको छ।
भन्सार विभागबाट बिजमाण्डूलाई प्राप्त गोप्य तथ्यांक अनुसार एकै व्यापारीले धेरै फर्म खडा गरेर सुपारी आयात गरेको पाइएको छ। विभागका अनुसार २१ कम्पनीले सुपारी आयात गरे पनि मालिक भने धेरै छैनन्।
नेपाल-भारतबीचको राजस्वमा रहेको ठूलो फरकले मनग्य मुनाफा छ। त्यही नाफाका लागि केही व्यापारी र तात्कालिन ओली सरकारले कोटा तोकेको थियो। त्यही कोटा अनुसार व्यापारीले गत वर्ष तीन अर्बको सुपारी आयात गरेका हुन्। गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै सुपारी आयात गर्ने दिनेश राठी हुन्। उनको परिवारको नाममा रहेको तीन वटा फर्मले ९२ करोड ५४ लाख रुपैयाँ बराबरको सुपारी आयात गरेको छ। राठीको अम्बे भवानी ट्रेड लिंकले सबैभन्दा बढी सुपारी आयात गरेको छ।
यो कम्पनीले ४३ करोड ५७ लाख मूल्य बराबरको सुपारी आयात गरेको छ। राठीले विराटनगरमा ट्रेडिङ फर्म खुलाएर सुपारी आयात गरेका छन्। राठीको अर्को कम्पनी अम्बे इम्पोर्टबाट १३ करोड ६७ लाख बराबरको सुपारी आयात गरेका छन्।
राठीकै तिरुपति ट्रेड लिंकले पनि ३५ करोड ३० लाखको सुपारी भित्र्याएको छ। यसका संचालक मुलचन्द राठी छन्। मुलचन्द दिनेशका बुबा हुन्। राठी ठूलो आयातकर्ता हुनुमा इन्डोनेसिया र थाइल्याण्ड सुपारी निर्यातकर्तासँग राम्रो सम्वन्ध छ। उसले सुपारी खरीद गर्दा टनमै ३० देखि ५० डलरसम्म कममा पाउँछन्। सस्तो पर्ने भएका कारण भारतीय आयातकर्ताले पनि राठीमार्फत नै सुपारी सौदा गर्छन्।
श्रीराम टोबाको उद्योग प्रालिले ३५ करोड बराबरको सुपारी आयात गरेको छ। यो उद्योगले बुटवलमा गुट्खा उत्पादन गर्दै आएको छ। यो उद्योग नेपालमा संचालित सबैभन्दा ठूलो उद्योग पनि हो।
यो उद्योगले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका पालामा पनि कोटा पाएको हो। गुट्खा उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै कम्पनीका संचालक कमलकिशोर मालपानी र चुन्नुप्रसाद पौडेलले देउवा सरकारलाई प्रभावमा पारेर कोटा पाएका हुन्।
यो उद्योगलाई गत वर्ष उद्योग विभागले २३ सय ३० टन सुपारी आयातको अनुमति दिएको थियो। यो उद्योगले भोला र करेन्ट ब्राण्डमा गुट्खा उत्पादन गर्दै आएको छ। यही समूहले करेन्ट चाउचाउ उद्योग पनि संचालन गरिरहेको छ।
सुदूरपश्चिममा रहेको देउती गुट्खा इन्डस्ट्रिजले १० करोड २८ लाख बराबरको सुपारी आयात गरेको छ। यो उद्योगका संचालक यज्ञबहादुर ओली हुन्। देउती गुट्खा उद्योग कैलालीको लम्कीचुहामा छ। यस उद्योगले मेघाश्री ब्रान्डको गुट्खा उत्पादन गर्दै आएको छ।
टान्भी ट्रेडर्स झापाले २९ करोड ९८ लाख बराबरको सुपारी आयात गरेको छ। यो फर्म पुष्करमाल अग्रवालको नाममा छ। झापाकै अर्को ट्रेडिङ फर्म निलम ट्रेडिङ झापाले २८ करोड ५० लाख बराबर सुपारी आयात गरेको छ। यो फर्म निलम अग्रवालको हो।
ग्लोब विराट इन्टरनेशनल प्रालिले २४ करोड ३५ लाख बराबरको सुपारी आयात गरेको छ। यो कम्पनीका संचालक किरणकुमार पोखरेल हुन्।
पोखरेलकै लगानीको अर्को सुपारी कारोबार गर्ने कम्पनी पनि छ। उनले गंगा ट्रेड लिंक्स लिमिटेडबाट सुपारी कारोबार गरिरहेका छन्। उनी सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका भाई हुन्। यस्तै सीएच ट्रेड प्रालिले गतवर्ष २४ करोड ७३ लाख बराबरको सुपारी आयात गरेको छ। यो कम्पनीका संचालक चित्रप्रसाद कुँइकेल हुन्।
श्यामजी सप्लायर्स एण्ड ट्रेर्डस झापाले २३ करोड ८० लाख बराबरको सुपारी गत वर्ष भित्र्याएको छ। यो कम्पनीका संचालक श्यामसुन्दर अग्रवाल हुन्।

| कम्पनी/फर्म | सञ्चालक | आयात परिमाण (रुपैयाँमा) |
| अम्बे भवानी ट्रेड लिंक, मोरङ | दिनेशकुमार राठी | ४३ करोड ५७ लाख |
| तिरुपति ट्रेडलिंक, मोरङ | मुलचन्द राठी | ३५ करोड ३० |
| श्रीराम टोबाको उद्योग प्रालि, बुटवल | टानबहादुर पाण्डे | ३५ करोड |
| टान्भी ट्रेडर्स, झापा | पुस्करमाल अग्रवाल | २९ करोड ९८ लाख |
| निलम ट्रेडिङ, झापा | निलम अग्रवाल | २८ करोड ५० लाख |
| ग्लोब बिराट इन्टरनेशनल प्रालि, काठमाडौं | किरणकुमार पोखरेल | २४ करोड ३५ लाख |
| सीएच ट्रेड प्रालि, काठमाडौं | चित्रप्रसाद कुइकेल | २४ करोड ७ लाख |
| श्यामजी सप्लायर्स एण्ड ट्रेडर्स, झापा | श्यामसुन्दर अग्रवाल | २३ करोड ८० लाख |
| घटाल इन्टरनेशनल प्रालि, काठमाडौं | नेत्रकुमार कुइकेल | २२ करोड ८२ लाख |
| ग्लोब इन्टरप्राइजेज, काठमाडौं | किरणकुमार पोखरेल | १६ करोड ४५ लाख |
| गंगा ट्रेडलिंक प्रालि, काठमाडौ | नेत्रकुमार कुइकेल | १५ करोड ११ लाख |
| जाभा ट्रेडिङ हाउस, काठमाडौं | ल्हाम डोमा शेर्पिनी | १४ करोड ९५ लाख |
| अम्बे इम्पोर्ट प्रालि, मोरङ | दिनेशकुमार राठी | १३ करोड ६७ लाख |
| पाण्डे एण्ड शर्मा ब्रदर्स प्रालि, काठमाडौं | होमप्रसाद पाण्डे | १० करोड ८२ लाख |
| श्री देउती गुट्खा इन्डष्ट्रिज, बाँके | यज्ञबहादुर ओली | १० करोड २८ लाख |
| देव इन्टरनेशनल प्रालि, सिन्धुपाल्चोक | शेरबहादुर बस्नेत | ७ करोड १९ लाख |
| ढुंगुनागढी इन्भेष्टमेन्ट प्राली, काठमाडौं | बच्चु पौडेल | ५ करोड ६० लाख |
| मिरा ट्रेडिङ, झापा | मिरादेवी अग्रवाल | ५ करोड ९ लाख |
| नेशनल मोटर्स, मोरङ | सञ्जयकुमार अग्रवाल | ३ करोड ८१ लाख |
| श्री शिवशक्ति प्रोडक्ट नेपाल, काठमाडौं | कविता अग्रवाल | २ करोड ३ लाख |
| महालक्ष्मी ट्रेडर्स, पर्सा | उषादेवी शाह | ४५ लाख १९ हजार |
| कुल | २ अर्ब ९४ करोड |
विभागका अनुसार घटाल इन्टरनेशनल प्रालिले २२ करोड ८२ लाख बराबरको सुपारी आयात गरेको छ। यो कम्पनीका संचालक नेत्रकुमार कुँइकेल हुन्। उनले पनि २ वटा फर्मबाट कारोबार गर्ने गरेका छन्। कुँइकेलको अर्को फर्म गंगा ट्रेड लिंक प्रालि हो। यो कम्पनीले १५ करोड ११ लाख बराबरको सुपारी आयात गरेको छ। जाभा ट्रेडिङ हाउस काठमाडौंले १४ करोड ९५ लाख बराबरको सुपारी आयात गरेको छ। यो कम्पनीको संचालक ल्हाम डोमा शेर्पिनी छिन्।
यस्तै पाण्डे एण्ड शर्मा ब्रदर प्रालिले १० करोड ८२ लाख बराबरको सुपारी आयात गरेको छ। यसका संचालक होमप्रसाद पाण्डे हुन्। यस्तै देवी इन्टरनेशनल प्रालि सिन्धुपाल्चोकले ७ करोड १९ लाख बराबरको सुपारी आयात गरेको छ। यो कम्पनीको संचालकमा शेरबहादुर बस्नेत छन्।
ढुंगुनागढी इन्भेष्टमेन्ट प्रालिले ५ करोड ६० लाख बराबरको सुपारी आयात गरेको छ। यसका संचालक बच्चु पौडेल हुन्।
मिरा ट्रेडिङ झापाले ५ करोड ९ लाख बराबरको सुपारी आयात गरेको छ। यसका संचालक मीरादेवी अग्रवाल हुन्। नेशनल मोटर्स मोरङले ३ करोड ८१ लाखको सुपारी आयात गरेको छ। यसका संचालक संजयकुमार अग्रवाल हुन्।
श्री शिवशक्ति प्रोडक्ट नेपालले २ करोड ३ लाखको सुपारी आयात गरेको छ। यसका संचालक कविता अग्रवाल हुन्। महालक्ष्मी ट्रेडर्स ४५ लाख १९ हजार बराबरको आयात गरेको छ। यो फर्मको संचालक उषादेवी शाह हुन्। (अर्को स्टोरी वैधानिक रूपमा एक अर्बको मात्रै सुपारी निकासी, दुई अर्बको सुपारी गायब !)


